19th November | 2018 | Monday | 2:27:40 AM

लगानीको वातावरण

  POSTED ON : Sunday, 04 November, 2018 (6:31:18 PM)

लगानीको वातावरण

नेपालले सन् २०२२ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै २०३० सम्ममा मध्यम आयको मुलुक बन्ने लक्ष्य लिएको छ । विश्व बैंक भन्छ यो लक्ष्य निकै चुनौतीपूर्ण छ । विश्व बैंकको ठहर छ– स्थिर सरकार बने पनि अझै लगानीको वातावरण तयार हुन सकेको छैन, स्रोत परिचालनमा चुनौती छ, अझै राजनीतिक अस्थिरता कायम छ । 

लक्ष्यमा पुग्न लगानी अभिवृद्धिका लागि नीतिगत सुधार गर्न विश्व बैंकको सुझाव छ । नेपालले मध्यम मुलुकमा स्तरोन्नति हुन दिगो आर्थिक विकास गर्नुपर्छ, उच्च आर्थिक वृद्धिदर चाहिन्छ । विद्युत ऊर्जा, सडकलगायत आवश्यक पूर्वाधार हुनुपर्छ । निजी क्षेत्रको लगानी बढ्नुपर्छ । यसो भए लक्ष्य पूरा हुन्छ ।

लगानीको वातावरण बनाउने कुरा र सुझाव नयाँ होइन । लगानीकर्ताले करनीतिमा सहजता खोज्छ । लगानी सुरक्षा, मुनाफा लैजाने सुनिश्चितता, अनुकूल श्रम कानुन, पर्याप्त पूर्वाधार लगायतको वातावरण खोज्छ । स्वदेशी तथा विदेशी दुवै लगानीले खोज्ने वातावरण एकै किसिमको हो । लगानीकर्ताले व्यवसायमैत्री कर नीति र श्रमनीति खोज्छ । यसो भएमात्रै लगानी प्रोत्साहित हुन्छ, उत्पादन र उत्पादकत्व दुवै बढ्छ । 

नेपालले चाहेको आर्थिक वृद्धि र समृद्धिको लक्ष्यमा पुग्न स्वदेशी तथा विदेशी निजी लगानी अभिवृद्धि अनिवार्य छ । सरकारले लगानी अभिवृद्धिको नीति लिएको छ तर नीतिगत सुधार गर्न नसकेको भन्ने गुनासो स्वदेशी लगानीकर्ताबाटै सुनिने गरेको छ । 

सरकारका तर्फबाट निजी लगानी प्रोत्साहित गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा पर्याप्त आश्वासन दिने गरिएको भए पनि तदनुकूल वातावरण बन्न नसकेको टिप्पणी हुने गरेको छ । लगानी आकर्षित गर्न सुधार गर्नुपर्ने विषयमा पर्याप्त छलफल र विमर्श हुने गरेको छैन । 

सरकारले लगानीको उपयुक्त वातावरण छ भन्ने विश्वास दिलाउन सकेको छैन । यसकै परिणाम हो, वर्षौंदेखि वातावरण बनाउने कुरा निरन्तर उठ्दो छ । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि बन्दै गएको अनुकूल वातावरण सशस्त्र द्वन्द्वसँगै नराम्ररी बिथोलियो । एक दशकपछि सुरु भएको शान्ति प्रक्रियाको संक्रमणले अर्को एक दशक खाइदियो । 

नयाँ संविधान बन्यो तर संघीय प्रणालीमाथि अझै लगानीकर्ताले विश्वास गर्न नसकेको जस्तो देखिएको छ । सम्भवतः यसैलाई उनीहरूले अझै राजनीतिक अस्थिरताका रूपमा बुझेको हुनुपर्छ । 

हाम्रो विकास र समृद्धिका लागि स्वदेशी र विदेशी निजी लगानी अनिवार्य तŒव हो । लगानीकर्ताले सबै पक्षमा सुरक्षा खोज्छ । पूरा विश्वास आर्जन भएमात्रै लगानी गर्छ । नत्र विदेशी लगानीकर्ता आउने त परै, स्वदेशी पुँजीसमेत पलायन हुन्छ । 

अब नेपालले राष्ट्रिय हित प्राथमिकतामा राख्दै निजी लगानी अभिवृद्धिका लागि नीतिगत र व्यावहारिक रूपमा पूर्ण विश्वास सिर्जना गर्नुपर्छ । यही नै लगानीको वातावरण हुनेछ । र मुलुक विकास समृद्धिको मार्गमा अघि बढ्नेछ । स्तरोन्नतिको लक्ष्य पूरा हुँदै जानेछ । 


Views: 65

सम्बन्धित सामग्री:

निरीह निगम

: Sunday, 18 November, 2018 (6:11:15 PM)

कर्मचारी खटनको सकस

: Friday, 16 November, 2018 (2:46:28 PM)

स्वरोजगार कर्जा

: Thursday, 15 November, 2018 (1:30:08 PM)