19th December | 2018 | Wednesday | 12:37:27 AM

एचआइभी थाहा पाऔँ

  POSTED ON : Monday, 03 December, 2018 (2:35:19 PM)

एचआइभी थाहा पाऔँ

पछिल्लो तथ्यांकले भन्छ– एचआइभी संक्रमणको दर विश्वभरि नै घटेको छ । पछिल्ला सात वर्षको तथ्यांकको तुलनात्मक अध्ययनले संक्रमणको दर १६ प्रतिशतले घटेको देखाएको छ । नेपालमा पनि नयाँ संक्रमणको दर घटेको देखिएको छ । एचआइभी संक्रमणबाट जोगिने तरिकाबारे बढ्दो जनचेतनाका कारण यो सकारात्मक स्थिति बनेको जानकारहरू बताउँछन् । नेपालमा हाल एचआइभी संक्रमित व्यक्ति ३१ हजार छन्, जसमा १९ हजार पुरुष र १२ हजार महिला छन् । विश्वमा साढे तीन करोडभन्दा बढी संक्रमित रहेको अनुमान छ । संक्रमणको मुख्य कारणचाहिँ असुरक्षित यौन सम्पर्क हो । नेपालमा ७६ प्रतिशतमा यही कारणले सरेको पाइएको छ । 

संक्रमणको दर घटेको सकारात्मक खबरसँगै अलिक निराशाको पाटो पनि छ । संक्रमितलाई दिइने औषधि एआरभी लिनेचाहिँ करिब ५२ प्रतिशतमात्रै छन् । जस्तो कि नेपालमा हाल एआरभी लिनेको संख्या १६ हजार १२८ मात्र छ । एआरभी एचआइभी संक्रमण निको पार्ने औषधि होइन तर यसले संक्रमित व्यक्तिलाई अरू रोगको संक्रमणबाट जोगाउन मद्दत गर्छ र बाँच्ने अवधि बढाउँछ । नेपालमा राजधानी काठमाडौंसहित विभिन्न ठाउँबाट एआरभी सेवा दिने व्यवस्था छ । एचआइभी परीक्षण गराउने सुविधा छ, गोप्य रहन्छ । एचआइभी संक्रमण, परीक्षण र एआरभीबारे प्रचारप्रसार पनि छ । तैपनि एआरभी लिनेको संख्या किन आधामात्रै, सोच्न आवश्यक छ ।

विश्वमा एचआइभी÷एड्स महामारीकै रूपमा रहेको मानिएको छ । सन् २०३० सम्ममा यो महामारी अन्त्य गर्ने विश्वलक्ष्य छ । घट्दो संक्रमण दरले सुखद् संकेत गरेको छ । यति हुँदाहुँदै पनि एचआइभी संक्रमण भएकै छ र त्यो पनि असुरक्षित यौन सम्पर्कका कारणले बढी । यो संक्रमणबाट जोगिने उपायबारे अझै धेरै प्रचारप्रसार आवश्यक छ । एचआइभी कसरी सर्छ र सुरक्षित यौन सम्पर्क भनेको के हो भन्नेबारेमै चेतनामूलक प्रचारप्रसार बढाउनुपर्छ, औपचारिक–अनौपचारिक शिक्षा र प्रचारका सबै माध्यमबाट । चेतनास्तर बढेको छ तर यसलाई व्यक्तिले सचेततापूर्वक आफ्नो व्यवहारमा कार्यान्वयन गर्नुपर्छ । अधिक प्रचार प्रसारले यसतर्फ प्ररित गर्छ । 

विश्वभर जनचेतना फैलाउने उद्देश्यले डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालेको तीन दशक पूरा भएको छ । यसवर्ष ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने मूल सन्देशका साथ नेपालमा पनि मनाइयो । संक्रमित व्यक्तिबाट अरूमा फैलिन नदिन एचआइभीको अवस्था थाहा पाउनु नै प्राथमिक आवश्यकता हो । संक्रमित व्यक्ति बाहिरबाट स्वस्थ नै देखिन्छ, ऊ स्वस्थ व्यक्तिसरह काम गर्न, यौन सम्पर्क गर्न सक्षम हुन्छ । संक्रमण थाहा भएन भने उसले अरूमा सार्ने सम्भावना हुन्छ । श्रीमान्–श्रीमतीमा सर्ने माध्यम पनि यही हो । संक्रमितले जन्माएको शिशु पनि संक्रमित हुने सम्भावना अधिक हुन्छ । त्यसैले थाहा पाउनु अनिवार्य छ ।

एचआइभी÷एड्सबारे जनचेतना अभिवृद्धि, परीक्षण र एआरभी सेवामा राज्यले प्राथमिकताका साथ ध्यान दिनु आवश्यक छ । साथै, एचआइभी संक्रमणबारे जनस्तरमा रहेको भ्रम चिर्न पनि उत्तिकै आवश्यक छ । संक्रमितहरू खुल्नसके भने नियन्त्रणमा उनीहरूले नै सघाउँछन् । 


Views: 58

सम्बन्धित सामग्री:

सभ्य सडक संस्कृति

: Monday, 17 December, 2018 (2:50:37 PM)

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)