19th December | 2018 | Wednesday | 1:41:36 AM

अपांगता फरक क्षमता

  POSTED ON : Wednesday, 05 December, 2018 (1:54:00 PM)

अपांगता फरक क्षमता

अपांगता कसैको पनि रहर होइन, यो त बाध्यात्मक अवस्था हो । जन्मजात वा बिरामी, दुर्घटनाजस्ता कारणले व्यक्तिमा अपांगता हुन्छ । अपांगता शरीरको खास अंगको दुर्बलता हो जसले सबलांग व्यक्तिको जसरी काम गर्दैन । व्यक्ति अपांग हुँदा उसको अपांगता भएको अंग दुर्बल हुन्छ वा राम्रोसँग काम गर्दैन तर अपांगता भएका व्यक्तिहरू सांग व्यक्तिको भन्दा फरक ढंगले काम गर्न सक्षम हुन्छन् । अपांगता भएका व्यक्तिहरू आफ्नो समाजलाई मात्रै होइन विश्वलाई नै चकित पार्ने सिर्जशील भएका धेरै दृष्टान्तहरू छन् । त्यसैले, अपांगता भएका व्यक्तिलाई अक्षम होइन ‘फरक क्षमताका व्यक्ति’ मान्न थालिएको छ । अर्थात्, अपांग होइन– फरक क्षमता । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपको अपांगतामा बाँचेका छन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका अनुसार अपांगता भएका व्यक्तिको कुल संख्याको ८० प्रतिशत विकासोन्मुख देशमा छ । विश्व बैंकका अनुसार विश्वका अति गरिब मानिसहरूको २० प्रतिशतमा अपांगता छ । अपांगता भएका बालबालिकाको मृत्युदर अन्य बालबालिकाको तुलनामा बढी छ । नेपालमा २०६८ सालको जनगणनाअनुसार २ प्रतिशत मानिसमा अपांगता छ । यो तथ्यांक वास्तविकभन्दा निकै कम रहेको अपांगतासम्बन्धी काम गर्ने संस्थाहरूको भनाइ छ । कमजोर जनचेतना तथा अपांगता लुकाउन खोज्ने कारणले सरकारी तथ्यांकमा कम देखिएको हुनसक्छ । 

अपांगता भएका व्यक्तिका लागि अनेक कठिनाइहरू छन् । भौतिक संरचनाहरू अपांगताअनुकूल छैनन् । शिक्षण संस्थाका कक्षाकोठाहरू अपांगताअनुकूल छैनन् । शौचालयको अवस्था निकै नाजुक छ । सार्वजनिक शौचालय बनाउँदा उभिन नसक्ने, बस्न नसक्ने जस्ता अपांगता भएका व्यक्ति पनि आउँछन् भन्ने ख्याल गरिएको छैन । अपांगता भएका धेरै बालबालिका विद्यालय बाहिर छन् । अनुकूल भौतिक संरचना र आवश्यक शिक्षण सामग्रीको उपलब्धता कमजोर भएकाले भर्ना भए पनि छाड्ने दर उच्च छ । सामाजिक विभेद भोग्नुपरेको छ यद्यपि यो घट्दो क्रममा छ । 

अपांगता भएका व्यक्तिहरूको नैसर्गिक अधिकारका लागि नेपालले पनि प्रयास गरेको छ । अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन छ, समावेशी शिक्षानीति छ । स्थानीय सरकार सञ्चालन ऐनमा अपांगता भएका व्यक्तिको शिक्षा, पुनस्र्थापना र सामाजिक सुरक्षाका लागि स्थानीय तहलाई जिम्मेवार बनाएको छ । अपांगता भएका व्यक्तिहरूले पनि क्षमता देखाउन सक्छन्, उनीहरूलाई अवसर दिनुपर्छ भन्ने मान्यता विकास हुँदै गएको छ । यति हुँदाहुँदै पनि कृष्टिकोण अझै फराकिलो हुन सकेको छैन । अवसर दिनेभन्दा पनि दया देखाउने प्रवृत्ति छ । 

अपांगता भएका व्यक्तिका लागि छुट्याइएका सुविधाको दुरुपयोग हुने गरेका दृष्टान्तहरू छन् । आरक्षणको दुरुपयोग हुने गरेको छ । कतिपय टाठाबाठाले नभएको अपांगता कागजी प्रक्रियामा देखाएर सुविधा लिएको पनि पाइएको छ । सार्वजनिक सवारीसाधनमा अपांगता भएका व्यक्तिहरूले सास्ती भोग्नु परेको छ । भौतिक संरचनाहरूमा अपांगता भएका व्यक्तिहरूको सुविधालाई ध्यान नदिँदा उनीहरूको दैनिक जीवन कष्टकर हुने गरेको छ । राजधानी काठमाडौंका सडकपेटीहरू हृवील चियर वा दृष्टिविहीनका लागि कष्टकर छन् । अपांगता भएका व्यक्तिहरू दुर्बल वा अक्षम होइनन्, फरक क्षमताका हुन् भन्ने बुझ्न बुझाउन आवश्यक छ । 




Views: 53

सम्बन्धित सामग्री:

सभ्य सडक संस्कृति

: Monday, 17 December, 2018 (2:50:37 PM)

श्रीलंकाको शिक्षा

: Sunday, 16 December, 2018 (6:24:33 PM)