25th June | 2019 | Tuesday | 3:02:45 AM

किन रोक्का थियो, किन फुक्यो !

  POSTED ON : पुष २०, २०७५ (७:४० AM)

किन रोक्का थियो, किन फुक्यो !

सँगै निर्वाचित भएकाहरू शपथ ग्रहण गरेर सांसद भएको दश महिनापछि राजपा सदस्य रेशम चौधरीको पनि शपथ भयो । उनी कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । चौधरी आठ जनाको ज्यान जाने गरी भएको एउटा हिंसात्मक घटनाका अभियुक्त हुन् । उनका विरुद्ध अदालतमा फैजादारी मुद्दा छ । उनी दश महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । उनलाई शपथ गराइएको थिएन । 

अभियोग लागेर मुद्दा चलेकै अवस्थामा चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको उम्मेदवारी वारेसमार्फत भएको थियो । निर्वाचन प्रचारमा पनि उनी देखिएका थिएनन् । प्रहरीको पदावलीमा उनी ‘फरार’ थिए । फरार अभियुक्त चौधरी नवनिर्वाचित सांसदहरूको सामूहिक शपथ ग्रहणको एकसाता अघि अदालतमा हाजिर भए अनि सोझै थुनामा लगिए ।

चौधरी आजसम्म पनि अभियुक्तमात्रै हुन् । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिँदा पनि अभियुक्त नै थिए । अभियुक्तकै रूपमा निर्वाचित हुन मिल्ने तर शपथ ग्रहण गराउन नमिल्ने ठोस कारण थिएन । त्यतिबेला उनलाई किन शपथ गराइएन भन्ने प्रश्नको ठोस जवाफ न सरकारसँग थियो न संसद सचिवालयसँग । फगत उनलाई सामूहिक शपथ ग्रहण समारोहमा सहभागी गराइएन । उनलाई त्यतिबेलै शपथ गराउनु न्यायोचित हुन्थ्यो । न्यायिक प्रक्रिया चल्दै रहन्थ्यो । 

कानुनी दृष्टिले दश महिनाअघि र आज चौधरीको हैसियत उही हो, फौजदारी अभियोगका थुनुवा । त्यतिबेला शपथ नगराउने संसद सचिवालयले कुन आधारमा अहिले गराएको हो ? यसको आधार राजनीतिक हो कि कानुनी ? कानुनी आधारमा उपयुक्त ठानिएको हो भने यस बीचमा उनलाई शपथ गराउन मिल्ने गरी कुनै कानुन बनेको वा संशोधन भएको छैन । शपथ गराउनू भन्ने अदालती आदेश पनि भएको छैन । राजनीतिक आधार हो भने राजपा नेपालले त्यतिबेलै गराउन माग गरेको हो । जुन कारण देखाए पनि शपथ न्यायोचित हो भने दश महिनादेखि चौधरीमाथि अन्याय भएको मान्नुपर्छ । यसमा जवाफदेहिता कसको ?

संसदको कुनै सदस्यलाई शपथ गराउने वा नगराउने निर्णय लिने जिम्मेवार पदाधिकारी को हो ? चौधरीको शपथ गराउने निर्णय सरकारले गरेको कि सभामुखले ? जवाफदेही निकायबाट यी प्रश्नहरूको जवाफ आउनुपर्छ । जननिर्वाचित सांसदलाई शपथ गराउनु वा नगराउनु कुनै लहडबाजीको, ख्यालख्यालको कुरा होइन । किन रोक्का थियो र किन फुक्यो थाहा हुनुपर्छ । थुनाबाट बाहिर ल्याएर शपथ गराएर फेरि थुनामै फर्काउने निर्णय गर्ने निकायले पहिले नै शपथ नगराउनु गल्ती थियो भन्नुपर्छ, क्षमा याचना गर्नुपर्छ । 

मिल्दोजुल्दो घटना अर्को पनि छ । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) को शपथ कहिले हुन्छ ? उनी सफाइ पाएर जेलमुक्त भइसकेका छन् । 


Views: 101

सम्बन्धित सामग्री:

सरकार गल्ती गर्दैन

: असार ९, २०७६ (६:३२ AM)

हिंसा होइन, वार्ता

: असार ८, २०७६ (११:५४ AM)

म्याद गुज्रेको सुरक्षा कचव

: असार ६, २०७६ (६:५० AM)