24th July | 2019 | Wednesday | 2:16:30 PM

संविधान संशोधनको राग

  POSTED ON : पुष २३, २०७५ (७:२२ AM)

संविधान संशोधनको राग

संघीय समाजवादी फोरम नेपाल सरकारमा छ र उसले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । उपप्रधानमन्त्री रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवले केही नेताहरूलाई साथमा लिएर प्रधानमन्त्रीलाई पत्र बुझाए । फोरम नेपालले उठाएका मुख्य विषय तीनवटा छन्– सरकारको कामको समीक्षा तथा सरकारमा सहभागी हुँदा भएको सहमतिअनुसार संविधान संशोधन र आफ्ना नेता÷कार्यकर्तामाथिको मुद्दा फिर्ता । फोरम नेपालका अनुसार परिवर्तनकारी शक्तिहरूको प्रगतिशील सरकार गठन हुनु महŒवपूर्ण र ऐतिहासिक राजनीतिक उपलब्धि हो तर सरकार बनेको वर्ष दिन हुनलाग्दा पनि परिवर्तनको अनुभूति हुन सकेको छैन । पार्टीले प्रश्न गरेको छ– त्यस्तो किन हुन सकेन ? विश्लेषण र समीक्षा हुनुपर्ने माग छ । 

सरकारको अंग भएको नाताले उक्त प्रश्नमा फोरम नेपालको पनि जिम्मेवारी छ । कामको समीक्षा सरकार र सरकारमा सहभागी दल दुवैले गर्नु जरुरी छ । फोरम नेपालले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा सरकारको काममा असन्तोष प्रकट गरिएको छ । सरकारमा सहभागी दलसँग दुईवटा मात्रै विकल्प हुन्छ– कामको जस अपजस बेहोर्दै सरकारमा रहने वा सरकारबाट बाहिरिने । संविधान संशोधन फोरम नेपालको नयाँ माग होइन । संविधान जारी भएपछि आन्दोलन नै गरेको हो । मुलुकले नाकाबन्दी बेहोर्नु परेको हो । संविधान संशोधन नभई फोरम नेपाल निर्वाचनमा सहभागी भयो । सरकारमा सहभागी भयो । आजसम्म किन संविधान संशोधन भएन– जवाफ फोरम नेपालसँग हुनुपर्छ । 

सरकारलाई समर्थनमात्रै गरेको राजपा नेपाल र सरकारमा सहभागी फोरम नेपाल दुवैले अलग अलग ढंगले संविधान संशोधनको माग गरेका छन् । चालु अधिवेशनमै संशोधन प्रस्ताव पेस हुनुपर्ने दुवै दलको माग छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपाले संविधान संशोधनको प्रतिबद्धता जनाएका हुन्– फोरम नेपाललाई सरकारमा सहभागी गराउन र राजपा नेपालको समर्थन कायम राख्न । सरकारमा हुँदा र नहुँदा दुवै अवस्थामा प्रधानमन्त्री ओलीको भनाइ एकै छ– आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ, दबाबमा हुँदैन । विवाद आवश्यकता र औचित्य के हो, त्यसको निक्र्यौल कसले गर्ने भन्ने नै हो । 

प्रधानमन्त्रीले भनेझैँ संविधान संशोधनको आवश्यकता औचित्यमाथि तीनवटै दलहरूबीच छलफल सुरु हुनुपर्छ– नेकपा, फोरम नेपाल र राजपा नेपाल जो सत्तापक्ष हुन् । संविधान संशोधनका विषयमा राजनीतिक दाउपेच र अपारदर्शी लेनदेन हुन उचित हुँदैन । संविधान संशोधन त्यस्तो राग हुनु हुँदैन जो मौका हेरेर धुन निकाल्न पाइयोस् । 


Views: 89

सम्बन्धित सामग्री:

आदर्श नेताको स्मरण

: श्रावण ८, २०७६ (७:४१ AM)

‘अभागी’ भ्रष्टाचारी !

: श्रावण ७, २०७६ (६:१० AM)

सुधार्नै पर्ने खर्च प्रवृत्ति

: श्रावण ६, २०७६ (६:५४ AM)