24th July | 2019 | Wednesday | 3:11:29 PM

सभामुखको शैली

  POSTED ON : पुष २४, २०७५ (७:०४ AM)

सभामुखको शैली

सभामुख कृष्णबहादुर महराले आइतबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूलाई प्रश्न सोध्ने अनुमति दिएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि विपक्षी दल नेपाली कांग्रेसका सांसदहरू प्रश्न सोध्न चाहन्थे । उनीहरूले प्रश्न सोध्न अनुमति मागे । सुरुमा सभामुखले नियमावलीको व्यवस्था देखाएर प्रश्नोत्तरको कार्यक्रम होइन, नियमावलीअनुसार प्रश्नोत्तरका लागि छुट्टै समय दिनेछु भने । नियम वा आफ्नो चाहना, जेअनुसार भए पनि यहाँसम्म उनी ठीकै थिए । जब विपक्षी सांसदहरू नाराबाजी गर्न थाले तब सभामुखले ‘सीमित’ प्रश्न राख्न अनुमति दिने भए । विपक्षी सांसदहरू ‘सीमित’ मा सहमत भएनन् । यसपछि सभामुखले प्रश्न निषेध गरेर बैठक स्थगनको उपाय रोजे । 

सभामुखले अपनाएको शैलीमै त्रुटि छ । विपक्षी सांसदहरूले बैठकअघि नै प्रश्नका लागि नाम टिपाएको जिकिर गरेका छन् । यसो हो भने सभामुखले त्यसैबेला टुंगो लगाउनु पथ्र्यो । नियमावली अनुसार मिल्दैन भनेर पहिले अनुमति नदिने सभामुख नाराबाजीपछि ‘सीमित’ प्रश्नमा अनुमति दिन तयार हुनुमै त्रुटि छ । या त उनी आफ्नो अडानमा टिक्नु पथ्र्यो या सुरुमै अनुमति दिनुपथ्र्यो । नाराबाजीबीच एउटा समितिका सभापतिलाई प्रतिवेदन पेस गर्ने अनुमति दिएर बैठक स्थगित गरे । शून्य समय र विशेष समय कार्यसूचीबाट हटाएको घोषणा गरे । सभामुखको यस्तो शैली विपक्षलाई चिढ्याउने प्रकारको हो । संसद्मा विपक्षलाई प्राथमिकता दिने संसदीय मान्यताको विपरीत हो ।

प्रधानमन्त्रीले झन्डै एक घन्टा सम्बोधन गरेर सरकारको कुरा सुनाएपछि यसमा प्रश्नहरू उठ्नु स्वाभाविक हुन्थ्यो । यति अनुमान सभामुखले नगर्ने कुरा होइन । जुनसुकै कारणले होस्, तत्कालै प्रश्नका लागि समय दिन असमर्थ भए वा नियमावलीको व्यवस्था अनुसार सभामुखले विपक्षीलाई आश्वस्त पार्नुपथ्र्यो । सभामुख महराले यसतर्फ ध्यान दिएको देखिएन । प्रधानमन्त्री ओली तत्कालै प्रश्नको जवाफ दिन तयार थिए कि थिएनन् त्यसको जानकारी त झन् हुँदै भएन । प्रश्न निषेध गर्नु यसै पनि उचित छैन । अझ सरकारलाई एक घन्टा सुनेपछि विपक्षलाई निषेध गर्नु संसदीय मान्यताको प्रतिकूल छ । सम्भाव्य परिस्थितिको आकलन गरेर परिस्थिति सहृमाल्ने कुशलता सभामुखसँग अपेक्षित हुन्छ । 

अर्को महŒवपूर्ण पक्ष पनि छ । संसदीय परम्परामा सांसद आफ्नो सिटबाट उठेपछि बैठक अवरुद्ध भएको मानिन्छ । यहाँ त रोस्ट्रम घेरेर नाराबाजी हुँदा पनि बैठक चलिरहन्छ । आइतबार नाराबाजीकै बीचमा समितिको प्रतिवेदन पेस भयो । केही दिनअघि प्रधानमन्त्री ओलीले एक दुईजना उठेका भरमा संसद् बैठक अवरुद्ध हुनु हुँदैन भन्ने विचार प्रकट गरेका थिए । सभामुख महरा प्रधानमन्त्रीले यही विचार अनुसार अघि बढेका हुन् ? प्रश्न स्वाभाविक भएको छ । सरकारसँग बहुमत छ । प्रधानमन्त्री आफ्नो समृद्धि सपनामा विपक्ष नै छैन भन्दैछन् । सभामुख विपक्षलाई निषेध गर्छन् । यसले संसदीय पद्धतिलाई कता लैजान्छ, विचार गर्ने जिम्मेवारी सभामुखको हो । आशा गरौँ, सभामुख महराले त्रुटिहरू सुधार्दै अनुकरणीय संसदीय मूल्यमान्यता स्थापित गर्नेछन् । 


Views: 91

सम्बन्धित सामग्री:

आदर्श नेताको स्मरण

: श्रावण ८, २०७६ (७:४१ AM)

‘अभागी’ भ्रष्टाचारी !

: श्रावण ७, २०७६ (६:१० AM)

सुधार्नै पर्ने खर्च प्रवृत्ति

: श्रावण ६, २०७६ (६:५४ AM)