22nd January | 2019 | Tuesday | 9:31:09 AM

पृथ्वीनारायणको मान

  POSTED ON : Friday, 11 January, 2019 (2:00:03 PM)

पृथ्वीनारायणको मान

पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरेर आजको नेपाल निर्माणको नेतृत्व गरेका हुन् कि होइनन् भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । यसमा मुख्य दुई पाटा छन् । पृथ्वीनारायण गोरखाका राजा थिए । उनले युद्ध गरेर टुक्रा राज्यहरू जित्दै गोरखा राज्यको विस्तार गरेका हुन् कि नेपालको एकीकरण गरेका हुन्, एउटा पाटो हो । यसमा उनलाई ठूलो राज्यको राजा बन्ने महŒवाकांक्षा भएका विस्तारवादी राजा थिए भन्ने एउटा पक्ष छ । उनले टुक्राटुक्रामा विभाजित नेपाललाई एकीकरण गरेर एउटै ठूलो राज्य बनाए भन्ने अर्को पक्ष छ । 

अर्को पाटो छ, पृथ्वीनारायणले युद्धबाट भूगोलको एकीकरण गरे पनि नेपाली भावनाको एकीकरण गर्न सकेनन् । र, उनको फौजले जितेर कब्जा गरेका कतिपय ठाउँहरूमा प्रतिशोधको कारबाही चलायो, हिंसा मच्चायो भन्ने छ । यीबाहेक सांस्कृतिक पक्षको कुरा पनि उठ्ने गरेको छ बेलाबखत । यी विविध विषयमा प्राज्ञिक खोज, अनुसन्धान, तर्क–वितर्क अद्यापि जारी छ । यी सबैका बीचबाट सबैजसोले मानेको एउटा तथ्य हो– गोरखाराज्यको विस्तार वा नेपालको एकीकरण जे भए पनि आजको नेपालको भूगोल निर्माणमा पृथ्वीनारायण शासको योगदान छ । यसैकारण हामी पृथ्वीनारायणको पालाको टुक्राटुक्रा राज्यका होइन कि एउटै ठूलो नेपाला नागरिक छौँ ।

पृथ्वीनारायणले काठमाडौं जितेको २५० वर्ष पूरा भएको छ । त्यो समयका राज्याधिकारीहरू राज्य विस्तारको चाहनामा हुन्थे र युद्ध गर्थे । संसारभर नै प्रायः राजा नै राज्याधिकारी हुन्थे । त्यो समयको राज्यप्रणाली र राज्य विस्तारका लागि भएका युद्ध आजको अधुनातन मूल्यमान्यताका दृष्टिले उचित देखिँदैनन् । आजको मूल्यमान्यताअनुसार त्यो समय यसो हुनु पथ्र्यो भन्नु तर्कसंगत हुँदैन । त्यो इतिहासको वस्तुतथ्य खोज्ने र आजसम्म लेखिएकोलाई पर्गेल्ने काम त हुँदै जानेछ । पृथ्वीनारायणले के गलत गरेका थिए भन्ने पनि विश्लेषण भइरहनेछ । तर, समय पछाडि फर्किन सक्दैन । यही आधारमा आजको नेपाल राज्यको अस्तित्वमा पृथ्वीनारायण शाहको योगदानको मूल्यांकन हुनुपर्छ । 

पृथ्वीनारायण शाहका लागि उपयुक्त विशेषण के हो– राष्ट्रिय एकताका प्रतीक, राष्ट्र निर्माता, आधुनिक नेपालका निर्माता वा विस्तारवादी राजा इत्यादि । उनलाई कुन विशेषणले सम्बोधन गर्दा उनको योगदानको उचित कदर हुन्छ र आजका हामी नेपालीलाई गौरव हुन्छ, हाम्रो गरिमा कायम रहन्छ सकारात्मक बहस जरुरी छ । उनको मानको स्थान कति हो त्यसमा बहस होला तर उनको अपमानले आजका हामी नेपालीको पनि अपमान हुन्छ । यति तथ्य त आत्मसात गर्नै पर्छ । पुस २७ पृथ्वीनारायण शाहको जन्म दिन मानिएको छ । पृथ्वीजयन्ती, राष्ट्रिय एकता दिवस आदि नाममा यस दिन उनको स्मरण हुने गरेको छ । 

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने वा नदिने, ठूलो बहसको विषय होइन । आजका हामी नेपाली उनको स्मरण कसरी गर्दैछौँ, नयाँ पुस्तालाई के सिकाउछौँ, मुख्य कुरा यो हो । आजका हामी गणतन्त्रवादी शाहवंशका अग्रज राजाको योगदानको कदर गरेर राजशाहीतिर फर्किनु पर्दैन । इतिहासको वस्तुतथ्य खोजी गरौँ, इतिहास पर्गेलौँ । यसो गर्दा आजको गौरवलाई केन्द्रमा राखौँ । आखिर कहिल्यै केही नविराउने शासक त को नै छ र !


Views: 47