18th February | 2019 | Monday | 3:45:16 PM

आर्थिक समृद्धि र सुक्खा बन्दरगाह

  POSTED ON : Monday, 21 January, 2019 (1:54:57 PM)

आर्थिक समृद्धि र सुक्खा बन्दरगाह

सरकारले त्रिदेशीय व्यापारिक ट्रान्जिट प्वाइन्टका रूपमा काठमाडौं उपत्यकाको चोभारमा सुख्खा बन्दरगाह निर्माण सुरु गरेको छ । चीन र भारतसँग रेल सम्पर्क जोड्ने योजनासँगै सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो । त्यसो त, चोभारमा सुक्खा बन्दरगाह बनाउन पाँच वर्षअघि नै पहल भएको हो, जतिबेला भारत र चीनसँग रेल यातायात जोडिने विषयलाई मनोगत मानिन्थ्यो । अहिले दुवै मुलुकसँग रेल सम्बन्ध विस्तार प्रक्रिया सुरु भइसकेको छ । विश्व अर्थतन्त्रका बलिया खम्बाका रूपमा रहेका दुई विशाल छिमेकी मुलुक भारत र चीनसँग रेल सञ्जाल जोडिने भएपछि सुख्खा बन्दरगाहको आवश्यकता अझ टड्कारो बनेको हो ।

यो बन्दरगाह निर्माणले तेस्रो मुलुकबाट ल्याउने सामान र तेस्रो मुलुकमा पठाउने सामान ढुवानीमा लाग्ने खर्च र समय बचत गर्नेछ । चोभार सुक्खा बन्दरगाहबाट कोलकाता, हल्दिया र विशाखापटनमजस्ता भारतीय बन्दरगाहहरू र चार चिनियाँ बन्दरगाहसमेत जोडिनेछ । काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि देशका ठूला शहरसँग यो बन्दरगाहको पहुँच थप सहज हुने निश्चित छ । आर्थिक विकास, आत्मनिर्भरता, रोजगारी सिर्जनाका साथै आयात–निर्यातमा तेस्रो मुलुकसँग जोड्ने तथा आर्थिक समृद्धिको बलियो आधारका रूपमा सुुक्खा बन्दरगाह निर्माण कार्यलाई लिइएको छ । तराई द्रूतमार्ग र वीरगन्जबाट काठमाडौं रेलवेमात्र नभई केरुङ–काठमाडौं रेलवेसँगसमेत जोडिने भएकोले यो बन्दरगाहलाई नेपालको आर्थिक समृद्धिको आधारशिलाका रूपमा हेरिएको हो । 

बन्दरगाह निर्माणले मुलुकको आर्थिक गतिविधिलाई ऊर्जा दिने निश्चित छ । यद्यपि भौतिक पूर्वाधारले मात्र मुलुकलाई आर्थिक गति दिन्छ भनेर ढुक्क हुन सकिँदैन । यसका विविध पक्षलाई उत्तिकै चनाखो भएर नियाल्ने र आवश्यक वातावरण निर्माण गर्न राज्यले ध्यान केन्द्रीत गर्नुपर्छ । सुक्खा बन्दरगाहले त्यतिबेला प्रतिफल दिन्छ, जब यो आफ्नो क्षमताअनुसार निर्वाध सञ्चालन हुन्छ । वीरगञ्ज भन्सार र त्यहाँस्थित सुक्खा बन्दरगाहकै कामलाई काठमाडौं केन्द्रीत गर्दैमा मुलुकको अर्थतन्त्रमा कायापलट हुन सक्दैन । भारतबाट काठमाडौं आउने अधिकांश वस्तु वीरगन्ज हुँदै भित्रिने गरेको छ । तिनै सामानलाई सोझै चोभारस्थित सुक्खा बन्दरगाहमा ल्याउँदैमा कायापलट हुँदैन । बेलाबखत कोलकाता बन्दरगाहमा लामो समय सामान थन्किने, सहज निकास नहुनेलगायतका अड्चन देखा पर्दै आएका छन् । यही परिस्थिति कायम रहने हो भने चोभारमा बन्ने सुक्खा बन्दरगाह आफैंले समृद्धि दिन सक्दैन । यस्ता व्यवहारिक कठिनाई र भविष्यमा आइपर्ने समस्यालाई समेत आँकलन गरी तिनको समाधानका लागि अहिलेदेखि नै पहल गर्न जरुरी हुन्छ । डेढ अर्बभन्दा बढी रकम खर्चिएर भौतिक पूर्वाधार निर्माण गरिसकेपछि यस्ता समस्याले अवरोध सिर्जना भएमा मुलुक थप आर्थिक बोझमा पर्नेछ । सुक्खा बन्दरगाह निर्माणसँगै रेलमार्ग निर्माणको कामलाई गति दिन आवश्यक हुन्छ । काठमाडौंलाई तराई र अन्य ठूला शहरसँग जोड्ने सडक स्तरोन्नति र विस्तारका कामलाई पनि उत्तिकै ध्यान दिन आवश्यक हुन्छ ।

बन्दरगाह निर्माण प्रक्रिया सुरु नहुँदैदेखि स्थानीयले विभिन्न माग राख्दै विरोध गर्दै आएका छन् । शिलान्याशका क्रममा त्यस्ता विरोधलाई सरकारले बेवास्ता गरेको देखियो । स्थानीयले विरोध गर्नुको कारणलाई सरकारले पूर्वाग्रहरहित ढंगबाट सुनुवाई गर्न जरुरी छ । सुखी नेपाली र समृद्ध नेपालको नारा लिएको सरकारले त्यहाँका स्थानीयलाई दुःखी बनाउनुहुँदैन । उनीहरूको सुख र खुशीको उत्तिकै ख्याल गर्नुपर्छ । विकासको विरोधी कोही हुन सक्दैनन् । व्यक्तिगतरूपमा कसैलाई मर्का परेको छ भने सरकारले न्यायोचित ढंगले उनीहरूको समस्या समाधान गर्नुपर्छ ।


Views: 64

सम्बन्धित सामग्री:

व्याजदरको कहर

: Monday, 18 February, 2019 (12:50:50 PM)

सरकार : औसतमाथि

: Friday, 15 February, 2019 (12:29:21 PM)