19th August | 2019 | Monday | 8:56:52 PM

निरर्थक ६ महिना

  POSTED ON : माघ ११, २०७५ (७:१७ AM)

निरर्थक ६ महिना

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ठ्याक्कै ६ महिना पूरा भयो । यसबीचमा अपराधी पत्ता लगाउन भएका प्रयासहरू सार्थक भएनन् । घटनाको अनुसन्धानमा रहेको प्रहरी टोलीले गरेको प्रगति सार्वजनिक हुन केही बाँकी भए अलग्गै कुरा, होइन भने आशलाग्दो कुनै संकेत फेला परेको छैन । कतिपय शंकाको आधारमा त कतिपय जनआक्रोश साम्य पार्ने उद्देश्यले हालसम्म भएका डिएन परीक्षणहरू पनि निरर्थक सावित भएका छन् । निर्मलाको शरीरबाट लिइएको नमूनामा समेत शंका उत्पन्न भएको छ । परीक्षण प्रयोगशाला नै किन यो वा त्यो भन्ने प्रश्न पनि खडा भएको छ । 

समग्रमा बितेको ६ महिनामा निर्मला बलात्कार र हत्याको घटना झन् जटिल बनेको देखिएको छ । रात रहे अग्राख पलाउँछ भन्ने आहान अनुसारै जटिलता थपिँदै गएको छ । घटनाको अनुसन्धान नै खराब नियतका साथ सुरु भएको कुरामा सरकार त्यतिबेलै गम्भीर भएको भए सम्भवतः अपराधीहरू उम्किन पाउने थिएनन् । स्थानीय बासिन्दाले सडकमा निस्किएर सरकारलाई सचेत गराएका हुन् । अपराधी उम्काउने प्रयास भयो भनेर खबरदारी गरेका हुन् । यसलाई सरकारविरुद्ध विपक्षी दलको आन्दोलन ठानेर दमन गर्ने नीति प्रधानमन्त्रीले नै लिए । सरकारको नीतिले अपराधी उम्काउन खोज्नेलाई सजिलो भयो । आखिर घटना अनुसन्धान, अनुसन्धानमाथि छानविन लगायत सबै निरर्थक भए । 

हालसम्मको एउटै उपलब्धि हो– घटना अनुसन्धानमा सुरुमै बदमासी भएछ र त्यसमा प्रहरी नै संलग्न भएछ भन्ने निष्कर्षमा सरकार सहमत हुनु । यसकै परिणामस्वरूप केही प्रहरी कर्मचारी निलम्बनमा परे र केही बर्खास्त भए तर उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाही भएको छैन । सरकारले समय बित्दै जाँदा आफैँ सेलाउँदै जान्छ भन्ने नीति लिएको देखियो । नागरिकहरूको दबाब आन्दोलनप्रति सरकार बेहद असहिष्णु भयो । कतिसम्म भने प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभामा नागरिकको दबाब आन्दोलनलाई ‘सडकमा पोखिने अमर्यादित एवं अराजक भीड’ भने । न्याय सरकारले दिने र ‘त्यसको नेतृत्व मैले गरिरहेको छु, ढुक्क रहे हुन्छ’ भने पनि कुनै छेकछन्द देखिएको छैन । 

निर्मलाको बलात्कार र हत्या एउटा प्रतिनिधि घटना हो । यस्तै घटना अरू पनि भएका हुन् । अपराधका निकै ठूला घटनाहरू छन् जसमा अपराधी फेला परेका छैनन् वा कतिपयमा वर्षौंपछि फेला परेका छन् । निर्मलाको घटनामात्रै किन यति ठूलो ठानियो भन्ने प्रश्न सरकार पक्षबाट आउने गरेको छ । घटनाको अनुसन्धाननमा गुमेको विश्वसनीयता र नागरिकको खबरदारीलाई ‘अराजक भीड’ ठानेर सरकारले अपराधी उम्काउने नियतमाथि गरेको मलजलले सरकारकामथि अविश्वास बढेको हो । लामो समय लागेकोमा भन्दा बढी चिन्ता अपराधी उम्काउन प्रयास भएकोमा हो, सरकारको असहिष्णुतामा हो । अपराधी उम्काउन अख्तियार दुरुपयोग भएकोमा हो । 

निर्मलाको न्यायका लागि भएका दबाब र खबरदारी आन्दोलनहरू अराजक भीड होइनन् । प्रधानमन्त्रीले यति तथ्य आत्मसात गरे भने पनि निर्मलालाई बलात्कार गरेर हत्या गर्नेहरू फेला पार्न सहज हुन सक्नेछ । 


Views: 108

सम्बन्धित सामग्री:

अमर मदनमणि

: भदौ १, २०७६ (१२:३७ PM)

दूधमा आत्मनिर्भरता

: श्रावण ३१, २०७६ (१२:२७ PM)