19th August | 2019 | Monday | 8:58:02 PM

कांग्रेस प्रष्ट हुनुपर्ने केही विषय

  POSTED ON : माघ १४, २०७५ (११:०० AM)

कांग्रेस प्रष्ट हुनुपर्ने केही विषय

मुख्य विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चालु छ । बैठकबाट सुल्झाउनुपर्ने पार्टीका आन्तरिक विषयहरू थुप्रै छन् । गत महिना सम्पन्न महासमिति बैठकका सुझाव अनुसार प्रतिवेदनहरू परिमार्जन गर्ने, विधानलाई अन्तिमस्वरूप दिने, नेविसंघको केन्द्रीय समिति र महाधिवेशनबारे निर्णय गर्ने लगायतका आन्तरिक विषयहरू छन् । पछिल्लो राजनीतिक घटनाक्रमले आन्तरिक विषय ओझेलमा परेका छन् । कांग्रेस राजनीतिक घटनाक्रममै केन्द्रित भएको छ । आइतबारको बैठकले आन्दोलन घोषणा गरेको छ । 

आन्दोलन घोषणासँगै कांग्रेसले चालु बैठकबाट टुंगो लगाउनुपर्ने केही महŒवपूर्ण विषयहरू छन् । सरकारको अडानअनुसार सामान्यतया राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट यथावत् पारित हुनेछ । यो विधेयकसँग गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पतालको साइनो के हो भन्ने विषयमा कांग्रेसको धारणा प्रष्ट हुन आवश्यक छ । अस्पतालका बारेमा आफूले चाहेको निर्णय गराउन विधेयकलाई अस्त्रका रूपमा प्रयोग गरेको सत्तापक्षको आरोप छ । अस्पतालबारे माग पूरा भए राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे, जो चाँडै ऐन बन्दैछ, कांग्रेसको धारणा के हुनेछ भन्ने प्रष्ट हुनुपर्छ । 

डा. गोविन्द केसीको आमरण अनशनको २०औँ दिन भएको छ । उनको मागअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएन । उनी आफ्नो अडानमा यथावत् छन् । कांग्रेस यो अनशन कसरी टुंगो लगाउन चाहन्छ, त्यो अविलम्ब प्रष्ट हुन आवश्यक छ । 

द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन गठित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानविन आयोगको म्याद काम पूरा नगरी यही माघ २७ गते सकिँदैछ । यी मुद्दाबारे सरकारले नयाँ ऐन बनाउने तयारी गरेको खबरप्रति अन्तर्राष्ट्रिय समुदायले चासो प्रकट गरेको छ । मुख्य विपक्षी दल भने मौन छ । यी आयोग र द्वन्द्वकालीन मुद्दाबारे कांग्रेसको आधिकारिक धारणा आउन आवश्यक भएको छ । चालु बैठकबाट कांग्रेसले आधिकारिक धारणा सार्वजनिक नगरे द्वन्द्वकालीन न्यायबारे कांग्रेसको निष्ठामा प्रश्न उठ्नेछ । किनभने यसै महिना दुवै आयोगको म्याद सकिँदैछ । 

संसदमा घेराउ, नाराबाजी र सडकमा आन्दोलन तथा सभा विपक्षका धारणा जनसमक्ष पु¥याउने सशक्त माध्यम हुन् । तर प्रश्न उठ्छ– कुन कुन विषयमा के के धारणा पु¥याउने ? मुख्य विपक्ष कमजोर देखिएको भन्ने टिप्पणी हुँदै आएको छ । सामान्यतया यस्तो टिप्पणी संसदमा कांग्रेसको सदस्य संख्यामा आधारित हुने गरेको छ । सरकार एकल बहुमतमा छ भने विपक्षको संख्या कति ठूलो वा सानो भन्ने कुरा गौण हो । विपक्षको नीति र खास खास विषयमा प्रष्ट आधिकारिक धारणा तथा त्यसको प्रभावकारी प्रवाह मुख्य पक्ष हो । यतिबेला मुख्य विपक्ष कतै कमजोर छ भने यही पक्षमा छ ।

कांग्रेसको चालु बैठकले यी समसामयिक विषयहरूमा प्रष्ट आधिकारिक धारणा सार्वजनिक गर्न आवश्यक छ । यसो भएमात्र कांग्रेस साँचो अर्थमा जनतासमक्ष जान सक्छ । संसदमा प्रभावकारी बन्न सक्छ । होइन भने विपक्षी दल भएकाले विपक्ष देखिन खोजेको जस्तोमात्रै हुनेछ । 

 



Views: 129

सम्बन्धित सामग्री:

अमर मदनमणि

: भदौ १, २०७६ (१२:३७ PM)

दूधमा आत्मनिर्भरता

: श्रावण ३१, २०७६ (१२:२७ PM)