23rd August | 2019 | Friday | 4:20:43 PM

निवारण नभएको कुष्ठरोग

  POSTED ON : माघ १५, २०७५ (१२:२५ PM)

निवारण नभएको कुष्ठरोग

नेपालले कुष्ठरोग निवारण भएको घोषणा गरेको नौ वर्ष पूरा भएको छ । प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी रहेको अवस्थालाई रोग निवारण भएको मानिन्छ, अर्थात एक लाख जनसंख्यामा १० जनाभन्दा कम नयाँ रोगी भएको अवस्था । कुष्ठरोग निवारण भएको घोषणापछिका आठ वर्षको सरकारी तथ्यांकले चाहिँ निवारण भएको देखाउँदैन । वर्ष २०६७÷६८ देखि वर्ष २०७४÷७५ सम्मका छ वटा वर्षमा प्रतिएक लाख जनसंख्यामा ११ जनाभन्दा बढी नयाँ रोगी फेला परेका छन् । अन्य दुई वटा वर्षमा पनि १० जनाभन्दा माथि छ । एउटा वर्ष त १२ जनाभन्दा माथि पनि छ ।  

अर्को तथ्य के छ भने कुष्ठरोग निवारण भएको घोषणा गर्दा नै १८ वटा जिल्लामा निवारणको अवस्था थिएन । कुल जनसंख्याका आधारमा निवारण घोषणा गरिएको थियो । कुल जनसंख्याका आधारमा भने अहिले पनि प्रकोप दर प्रति १० हजारमा एक जनाभन्दा कम देखिन्छ । वर्ष २०७४÷७५ मै पनि नयाँ विरामीको संख्या तीन हजार १८७ रहेको सरकारी तथ्यांक छ । उक्त वर्षको कुल जनसंख्या तीन करोड मान्ने हो भने पनि प्रतिदश हजार एक जनाभन्दा बढी देखिन्छ । अझै पनि १८ जिल्लामा निवारण नभएको अवस्था छ । 

कुष्ठरोग निवारण हुन बाँकी जिल्ला अघिकांश तराइका छन् । कुल जनसंख्याको करिब आधामा प्रकोप दर एकभन्दा बढी रहेको छ । यसरी हेर्दा नेपालमा कुष्ठ रोग निवारण भएको छैन । सरकारले सन २०२० सम्ममा सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने भनेको हो तर हालसम्मको विरामीको संख्या र प्रकोप दरले अबको दुई वर्षमा लक्ष्य पूरा हुने देखिँदैन । 

साँच्चै निवारण नभई निवारण भएको घोषणा गर्नु नै उचित थिएन । सरकारले हतारमा घोषणा गरेको थियो । बाँकी रहेका १८ जिल्लामा नौ वर्षमा पनि लक्ष्य पूरा नहुने अवस्था देखिनु अर्को कमजोरी हो । निवरणको नजिक रहेको भने मान्नुपर्छ । निवारण भइसकेका भनिएका जिल्लाको वास्तविक स्थित पनि जानकारी छैन । किनभने ध्यान १८ जिल्लामा छ । 

कुष्ठरोगमा सरकारले निःशुल्क उपचारको प्रबन्ध गरेको छ । शिक्षा र सञ्चारका विभिन्न माध्यमद्वारा प्रचार प्रसार पनि गर्दै आएको छ । उपचार केन्द्रमा आउने विरामीका लागि एक हजार रुपैयाँ यातायात खर्च पनि दिने गरेको छ । रोग निको भएपछि पुनस्र्थापना तथा आय आर्जनमा मद्दत गर्ने कार्यक्रम पनि छ । अझै पनि सबै जिल्लामा विरामी खोजपड्ताल भने हुने गरेको छैन ।

कुष्ठरोग नियमित औषधि सेवनले निको हुने रोग हो । यो रोगप्रतिको परम्परागत सामाजिक नजर भने अत्यन्तै नकारात्मक छ । पूर्वजन्मको पाप भनेर परिवारबाटै रोगी हेला र बहिस्कृत हुने गरेको छ । फलस्वरूप विरामी समयमै उपचारमा नपुग्ने वा जाँदै नजाने अवस्था छ । साँच्चै निवारणका लागि उपचार पाए रोग निको हुन्छ र यो कुनै पापको फल होइन भन्ने बुझाउन व्यापक प्रचार प्रसारको खाँचो छ । अबको दुई वर्षमा निवारणको लक्ष्य पूरा गर्न प्रचार प्रसार र रोगीको खोजपड्ताल व्यापक बनाउन आवश्यक छ । घोषणामात्रै निवारण होइन भन्ने त पुष्टि भइसकेको छ । 

 

 


Views: 129

सम्बन्धित सामग्री:

प्रहार कताबाट ?

: भदौ ६, २०७६ (८:४४ AM)

जयशंकरको नेपालयात्रा

: भदौ ५, २०७६ (९:४९ AM)

कुबेलाको बाजा

: भदौ ४, २०७६ (९:१० AM)