23rd August | 2019 | Friday | 3:31:11 PM

क्रिकेटले रचेको इतिहास

  POSTED ON : माघ १६, २०७५ (११:५७ AM)

क्रिकेटले रचेको इतिहास

दुबईस्थित आइसिसी एकेडेमी ओभल मैदानमा सोमबार नेपालले क्रिकेटको उच्च श्रेणीको प्रतिस्पर्धा मानिने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पहिलोपटक जित्यो । घरेलु टोली युएईलाई उसैको भूमिमा स्तब्ध पार्दै नेपालले ऐतिहासिक शृंखला आफ्नो पक्षमा पारेको हो । नेपालले दोस्रो एक दिवसीय शृंखला खेल्ने क्रममै ऐतिहासिक उपलब्धि हासिल गरेको हो । गतवर्षको मार्चमा नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट क्लबमा प्रवेश गरेको थियो । अगष्टमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिलो शृंखला खेल्यो । जुन १–१ को बराबरीमा सकिएको थियो । त्यसको ६ महिनापछि भएको यूएईविरुद्धको दोस्रो शृंखला नेपालले २–१ ले जित्दै इतिहास रचेको हो ।

पहिलो शृंखला जित्नुअघि नेपालले कीर्तिमान रच्दै विश्वको ध्यान आफूतिर खिचिसकेको थियो । दोस्रो खेलमा ब्याट्सम्यान रोहित पौडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा पुरुषतर्फ सबैभन्दा कम उमेरमा अर्धशतकको विश्व कीर्तिमान बनाए । रोहितले १६ वर्ष १४६ दिनको उमेरमा यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए । सगरमाथा र गौतम बुद्धको देश भनेर चिनिँदै आएको नेपाल अब अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी भएको मुलुकका रूपमा विश्वका क्रिकेटप्रेमीले चिन्नेछन् । यो आफैँमा एउटा इतिहास हुनका साथै नेपाल र नेपालीका लागि गौरवको विषय पनि हो ।

तीन वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा छ । जसका कारण घरेलु क्रिकेट ठप्प रहे पनि नेपाली खेलाडीहरूले सीमित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पाएको अवसरकै भरमा ठूला उपलब्धिहरू दिलाएका छन् । यूएईविरुद्धको शृंखला जितेपछि नेपाल अन्तर्राष्ट्रिय वरियतामा पनि आएको छ । हाल नेपाल विश्व वरियताको १५ औं नम्बरमा छ । यूएईविरुद्धको शृंखला जिताउन शतक प्रहार गरेका कप्तान पारस खड्काले भारत, पाकिस्तान, इङ्ल्याण्ड, अस्ट्रेलियाजस्ता ठूला राष्ट्रहरूसँग खेल्न अहिले आफूहरूले यूएईजस्ता आफ्ना स्तरका देशहरूसँग राम्रो गर्नुपर्नेमा जोड दिएका छन् । हाम्रा खेलाडीहरू घरेलु मैदानमा नेपाली समर्थकहरूमाझ शृंखला खेल्न चाहन्छन् । यो चाहना पूरा हुन क्यानको निलम्बन फुकुवा हुनुपर्छ । भौतिक संरचनामा सुधार उत्तिकै जरुरी हुन्छ । क्यानलाई निकास दिन आइसिसीबाट अन्तिम जिम्मेवारी पाएको सल्लाहकार समितिले आगामी अप्रिलभित्र क्यानलाई एउटा संरचना दिइसक्ने समयसिमा तोकेको छ । 

निलम्बित क्यान तथा सरोकारवालाले सल्लाहकार समितिलाई आवश्यक सहयोग गरी जतिसक्दो चाँडो क्यानको निलम्बन फुकुवाको चरणमा जानु आवश्यक छ । क्यानको निलम्बन फुकुवा भए उसले अर्को देशसँग द्विपक्षीय शृंखलाको प्रक्रिया अघि बढाउन सक्छ । नेपाली क्रिकेमा नेतृत्वदायी संस्था नै नभएको अहिलेको अवस्थामा द्विपक्षीय शृंखलाको वातावरण बनाउन सहज हुँदैन ।

नेपालमा हाल एकदिवसीय शृंखला खेलाउने भौतिक संरचना छैन । त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नेपालको एकमात्रै मैदान भए पनि त्यसले शृंखलाको मापदण्ड पूरा गर्दैन । त्यसैले क्यानको निलम्वन फुकुवा भएर त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिए नेपाली दर्शकले घरेलु मैदानमै शृंखला हेर्ने अवसर पाउनेछन् । अभ्यास र अनुभवले नै खेलमा गुणात्मक फड्को मार्न सकिन्छ ।


Views: 109

सम्बन्धित सामग्री:

प्रहार कताबाट ?

: भदौ ६, २०७६ (८:४४ AM)

जयशंकरको नेपालयात्रा

: भदौ ५, २०७६ (९:४९ AM)

कुबेलाको बाजा

: भदौ ४, २०७६ (९:१० AM)