18th February | 2019 | Monday | 4:43:35 PM

साधुवाद डा. केसी

  POSTED ON : Sunday, 03 February, 2019 (5:41:43 PM)

साधुवाद डा. केसी

डा. गोविन्द केसीले चौबीसौँ दिनमा अनशन त्यागे । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पन्ध्रौँ अनशनमा आफूसँग भएको सहमतिअनुसार नआएको भन्दै सच्याउन माग राखेर उनी आमरण अनशनमा बसेका थिए । सरकारले डा. केसीको अनशन र विपक्षी नेपाली कांग्रेसको विरोध पूर्ण बेवास्ता गरेर प्रतिनिधसभाबाट विधेयक पारित गरायो । डा. केसीको अनशन, प्रबुद्ध समुदायको आग्रह र विपक्षीको विरोध सुनुवाइ गरेर राष्ट्रियसभाबाट परिमार्जन हुन सक्ने झिनो सम्भावना भए पनि सरकार तयार भएन । अन्ततः डा. केसी अनशन त्याग्ने निर्णयमा पुगे । सरकारले हठी भनेका डा. केसी पछि हटे । सरकार यसपटक झन् बढी हठी देखियो । 

पन्ध्रौँ अनशनमै सरकार डा. केसीप्रति अनुदार र असहिष्णु देखिएको हो । अनशनस्थलमै अवरोध पु¥याएको हो । सरकारका सबै प्रतिनिधि र सत्तारुढ दलका नेताहरू उनी विरुद्ध चर्को रूपमा खनिएका हुन् । समन्वय गर्ने आसयले भेट्न पुगेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा नै दिनु परेको हो । अन्ततः प्रधानमन्त्री केपी ओलीको पहलमा सहमति भयो । डा. केसीले अनशन त्यागे । प्रधानमन्त्री ओली आफ्नै पहलमा गरेको सहमतिप्रति इमानदार हुन सकेनन् । प्रतिनिधिसभा उभिएर उनले सहमति तत्कालीन परिस्थितिको उपज हो, मुलुक एक व्यक्तिको अनशनको बन्धक बन्न सक्दैन भने । यो अभिव्यक्ति उनले इमान छाडेको प्रमाण हो । 

प्रधानमन्त्रीले सहमतिअनुसार सरकारले विधेयक ल्याएको हो, माग पूरा गरेको छ भन्न सकेनन् । बरु संसदीय पद्धतिको पाठ पढाउन अघि सरे । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक चाँडै प्रमाणीकरण भएर कानुन बन्दैछ । यसले डा. केसीले अघि सारेका धेरै माग पूरा गरेको छ । जुनरूपमा विधेयक आयो वर्तमान सरकारबाट यसो हुन सम्भव थिएन । पन्ध्रौँ अनशनमा सरकारले गरेको व्यवहार त्यसको प्रमाण हो । विधेयकमा डा. केसीको पन्ध्रवटा अनशनको योगदान छ । सरकारका प्रतिनिधिहरूले डा. केसीका ९५ प्रतिशत माग पूरा गरेको भनेका छन् । बाँकी पाँच प्रतिशत पूरा नभएको स्वीकार गरेका छन् । सरकारलाई शंकाको लाभ दिऔँ– चाहँदा चाहँदै पनि यति गर्न सकेन र अपेक्षा गरौँ– भविष्यमा सरकारले यसतर्फ सोच्नेछ ।

जुन कारण र परिस्थिति देखाएर डा. केसीले अनशन त्यागे सरकारले यसलाई गम्भीरतापूर्वक लिने उदारता देखाओस् । उनी हठी हुन सक्छन् तर उनको निःस्वार्थभावमा शंका गर्ने ठाउँ छैन । उनको सत्याग्रह चिकित्सा शिक्षा र चिकित्सा सेवामा गुणस्तर अभिवृद्धिबाहेका अन्य केहीका लागि पनि होइन । सरकारका प्रतिनिधिहरूले एक निःस्वार्थी र निष्ठावान सत्याग्रहीविरुद्ध विष बमन नगरून् । सरकारले भेटेरै अनशन त्याग्न आग्रह गर्ने शिष्टाचार त आवश्यक ठानेन तर साँच्चै डा. केसीको अडान र निरन्तरको सत्याग्रहले अहिलेको स्वरूपमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन बन्न सकेको हो भने सरकारले उनलाई धन्यवाद देओस् ।

सत्ताको दम्भ जति नै बलियो भए पनि सत्याग्रहको हार भएको छैन । हार्दिक साधुवाद डा. केसी, शीघ्र स्वास्थलाभको कामना ।  

 




Views: 76

सम्बन्धित सामग्री:

व्याजदरको कहर

: Monday, 18 February, 2019 (12:50:50 PM)

सरकार : औसतमाथि

: Friday, 15 February, 2019 (12:29:21 PM)