23rd August | 2019 | Friday | 3:36:47 PM

फुक्काफाल सरकार

  POSTED ON : माघ २४, २०७५ (११:२५ AM)

फुक्काफाल सरकार

सत्तारुढ नेकपा एकताको सकसबाट निस्कन सकेको छैन । दुई पार्टी एकता घोषणा हुँदा तीन महिनाभित्र सबै तहमा एकता गरिसक्ने भनिएको थियो । नौ महिना हुनै लागेको छ, एकता प्रदेशबाट अघि बढेको छैन । प्रदेशमै पनि पूरा भएको छैन । जनवर्गीय संगठनहरू पनि अलमलमा छन् । एकता पूरा नहुँदा प्रदेश संसददेखि सबैभन्दा तल्ला निकायसम्म साविक एमाले र माओवादी केन्द्रको अलग–अलग अस्तित्व छ । प्रदेशसभामा दुई पार्टीबाट सुविधा लिएको भन्ने तथ्यहरू सार्वजनिक भएका छन् । एकता टुंग्याउनमा भएको ढिलाइले नेता÷कार्यकर्ताहरूमा निराशा फैलिन थालेको देखिन्छ । खासगरी पार्टी संगठनमा काम गर्न चाहनेहरू निराश भएका देखिन्छन् ।  

निश्चय नै, दुई ठूला पार्टीको एकता प्रक्रिया जटिल हुन्छ, यसले पर्याप्त समय लिन्छ । कार्यकर्ता तहमा चिन्ता बढी समय लाग्यो भन्नेमा भन्दा पनि अड्किएर बस्यो, अघि बढेन भन्नेमा देखिन्छ । एकता नटुंगिँदा सत्तारुढ दलका संगठनहरू निष्क्रिय भएका छन्, व्यक्तिहरू सक्रिय भएका छन् । व्यक्तिले पहुँच बनाउने र सत्ताबाट अनुचित लाभ लिने अवस्था सिर्जना भएको छ । संगठन निष्क्रिय रहनुको प्रभाव सरकारमा पर्छ र प्रभाव नकारात्मक हुन्छ । सरकार अहिले ठिक यस्तै अवस्थामा छ । पार्टी संगठनका निर्णय प्रक्रियाहरू अवरुद्ध भएका छन् र व्यक्तिहरू सक्रिय भएका छन् । यस्तो अवस्थामा बढी लाभ पनि व्यक्तिले नै लिन्छन् । 

यस्तो अवस्था संगठनको आधारभूत तहदेखि केन्द्रसम्मै छ । केन्द्रमा सचिवालय एक्लै सक्रिय छ, त्यसमा पनि दुई अध्यक्ष बढी सक्रिय । स्थायी समिति, केन्द्रीय समितिदेखि वडा समितिसम्म एउटै केन्द्रीय सचिवालय देखिन्छ । यस्तो अवस्थाले तत्कालका लागि सरकार सञ्चालनमा प्रधानमन्त्री र उनको टोलीलाई सहज भएको होला तर तल्लो तहसम्म कार्यकर्ताहरूले सरकारका निर्णयमा स्वामित्वको प्रश्न उठाउन थालेका छन् । यस्तै अवस्थाले हुनुपर्छ प्रधानमन्त्रीले नेता÷कार्यकर्तालाई विपक्षीको प्रतिवादमा उत्रिन र अरिंगाल बन्न निर्देशन दिनु परेको । एकता प्रक्रिया जति लम्बिँदै जान्छ उति नै संगठन अस्तव्यस्त हुँदै जान्छ । संसदमा दुई तिहाइ बहुमतयुक्त सत्तारुढ दलको यस्तो अवस्था शोभनीय होइन । 

एकता प्रक्रियामा एकपछि अर्को कार्यदल निकम्मा भएका छन् । प्रतिवेदन बुझाउनु त परको कुरा, कार्यदल बैठकै बस्न नसक्ने अवस्था छ । कार्यदलका सदस्यहरू कार्यदलबारे नै बेखबरजस्ता देखिएका छन् । सरकार र पार्टी फरक हुन् तर समानान्तर पनि हुन् । एकसाथ चल्नुपर्छ । नेकपाको सरकार छ तर नेकपा छ कि छैन भन्ने अवस्था सिर्जना हुन थालेको छ । पार्टीका अध्यक्षहरू यस्तो परिस्थितिबारे बेखर छैनन् तर ढुक्कझैँ देखिएका छन् । उता संसदमा दुई तिहाइ बहुमत यता पार्टीको संगठित निगरानीबाट मुक्त, सरकार फुक्काफाल भएको छ । यही परिवेशमा दम्भ र अधिनायकवादको आरोप चर्को बनेको हो ।  


Views: 118

सम्बन्धित सामग्री:

प्रहार कताबाट ?

: भदौ ६, २०७६ (८:४४ AM)

जयशंकरको नेपालयात्रा

: भदौ ५, २०७६ (९:४९ AM)

कुबेलाको बाजा

: भदौ ४, २०७६ (९:१० AM)