25th May | 2019 | Saturday | 8:35:31 PM

कांग्रेसको किचलो

  POSTED ON : फाल्गुन १५, २०७५ (६:२९ AM)

कांग्रेसको किचलो

मुख्य विपक्षी दल नेपाली कांग्रेसको किचलो चर्किंदो छ । महासमिति बैठकले केन्द्रीय समितिका नेताहरू पनि वडा तहबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने सुझाव दिएको थियो । सभापति शेरबहादुर देउवासहित सबै नेताहरूले सुझावअनुसारै विधान परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए । केन्द्रीय समिति बैठकले केन्द्रीय नेताहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेगरी बहुमतका आधारमा विधान पारित गरेपछि विवाद चर्किएको छ । असन्तुष्टहरूले निर्णयमा फरक मत लेखेका छन् । परिणामस्वरूप मंगलबार बोलाइएको बैठक स्थगित हुन पुगेको छ । 

सर्वसम्मति हुन नसकेको अवस्थामा बहुमतको निर्णय मान्नु नै लोकतान्त्रिक पद्धति हो । यस अर्थमा बहुमतको निर्णय अनुचित हुँदैन । यहाँ विधानको सन्दर्भ भने फरक छ । महासमिति बैठकले दिएको सुझाव केन्द्रीय समितिको बहुमतले मानेन । फरक मत राख्नेहरूले महासमितिको निर्णय÷सुझाव केन्द्रीय समितिले नमान्न सक्दैन भनेका छन् । उनीहरूका अनुसार महासमितिको विपरीत हुनेगरी केन्द्रीय समितिले निर्णय गर्न पाउँदैन । केन्द्रीय समितिले प्रक्रिया नै मिचेको आरोप अल्पमतको छ । निर्णय गर्ने बहुमत पक्ष अल्पमत यो आरोपमा मौन छ । 

बहुमतले निर्णय त ग¥यो तर त्यसपछिको प्रक्रिया अवरुद्ध भयो । मंगलबार बोलाइएको बैठकमा गणपूरक संख्या नै पुगेन । अल्पमतले प्रक्रियामै प्रश्न उठाएपछि बहुमत पक्षको जवाफदेहिता हुन्छ । जवाफ नदिई अघि बढ्नु गैरजिम्मेवारी ठहर्छ । यस्तो प्रवृत्तिले महासमिति बैठकको औचित्यमाथि नै प्रश्न उठाउँछ । कांग्रेसमा महासमिति बैठक शक्तिशाली निकाय हो जसले विधान परिमार्जन गर्छ, केन्द्रीय समितिलाई निर्देश गर्छ । पार्टी नीति बनाउँछ । महासमितिको निर्णय नै केन्द्रीय समितिले मानेन भन्ने आरोप असन्तुष्टको छ । 

विधानकै विषयमा महासमिति बैठक अनपेक्षितरूपमा लम्बिएको थियो । केन्द्रीय समितिले निर्णय गर्न नसकेका विषय महासमितिमा प्रस्तुत गरिएको थियो । महासमिति बैठकको निर्णय केन्द्रीय समितिले अस्वीकार गरेपछि महासमिति र केन्द्रीय समितिको बहुमत कुनचाहिँ माथिल्लो निकाय हो भन्ने प्रश्न स्वाभाविक भएको छ । यसमा विधिविधानअनुसारको प्रष्टीकरण आवश्यक छ । अहिले विवाद सुल्झानउका लागि मात्रै होइन कांग्रेसका पार्टी संरचनाहरूको हैसियतबारे भविष्यमा उठ्न सक्ने प्रश्नमा पनि अहिले नै जवाफ आवश्यक छ । यो अहिलेको बहुमत पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय भएको छ । 

कांग्रेस बलियो सत्तापक्षको विपक्षी दल हो । केन्द्रीय समिति बैठकले पार्टीका आन्तरिक मामिलासँगै ठोस धारणा बनाउनुपर्ने राष्ट्रिय महŒवका विषयहरू पनि छन् । विपक्षी दलका रूपमा कांग्रेस यसै पनि कमजोर देखिएको भन्ने टिप्पणी र आलोचना हुने गरेको छ । बहुमत, अल्पमत, छलफल, विवाद स्वाभाविक हो तर निर्णयले विधि मिचेको हुनु हुँदैन । त्यसैले बहुमत पक्षको विधिसम्मत प्रष्टीकरण आवश्यक परेको हो । विधिमै प्रश्न उठेपछि जनविश्वास पनि कमजोर हुँदै जान्छ । कतै पनि बहुमतलाई विधि मिच्ने अधिकार हुँदैन । 


Views: 89

सम्बन्धित सामग्री:

समृद्धिमा बाधक

: जेठ ६, २०७६ (६:३४ AM)