26th March | 2019 | Tuesday | 1:30:26 AM

भारत–पाकिस्तान तनाव

  POSTED ON : फाल्गुन १६, २०७५ (६:२७ AM)

भारत–पाकिस्तान तनाव

दक्षिण एशियाका दुई ठूला मुलुक भारत र पाकिस्तान आमने–सामनेको अवस्था आएका छन् । एकले अर्कामाथि जवाफी कारबाही थालेका छन् । दुई मुलुकबीचको तनाव उच्चतम बिन्दुमा पुगेको छ । भारत र पाकिस्तान बीचको तनाव नयाँ घटना होइन । यी दुई मुलुक सधैँ तनावकै स्थितिबाट गुज्रिरहेका हुन्छन् । मात्रात्मक स्थितिमात्रै फरक हुने हो । यही फेब्रुअरी १४ मा काश्मिरको पुलवामामा आत्मघाती हमलामा ४६ जना भारतीय अर्धसैनिक सुरक्षाकर्मी मारिएपछि तनाव चर्केको हो । भारतले उक्त आक्रमण पाकिस्तानले गराएको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले अस्वीकार गर्दै आएको छ । भारत र पाकिस्तान दुवै आतंकवादी आक्रमणको मारमा पर्दै आएका छन् ।

काश्मिरको पछिल्लो घटनापछि भारतले जवाफको शैलीमा पाकिस्तानी भूमिमा कारबाही चलाएको छ । भारतले आतंकवादी संगठन ‘जैस ए मोहम्मद’ को शिविरमा आक्रमण गरेको र संगठनका नेता र प्रशिक्षकहरूसहित झण्डै तीन सय जना मारिएको दाबी गरेको छ । पाकिस्तानले मारिएको भन्ने भारतको दाबी खण्डन गरेको छ तर आफ्नो भूमिमा युद्धक विमान प्रवेश गरेर बम खसाएको पुष्टि गरेको छ । सँगै पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने चेतावनी पनि दियो । लगत्तै दुई देशले एक अर्काका युद्धक विमान खसाएको दाबी गरेका छन् । आणविक शक्तिसम्पन्न भारत र पाकिस्तान बीचको तनावले क्षेत्रीय शान्तिमा मात्रै होइन विश्व समुदायमा चिन्ता छाएको छ । 

दुई देशबीच जम्मु–काश्मिरमाथिको स्वामित्व विवाद सात दशकयता कहिल्यै समाधान नहुने समस्याका रूपमा रहेको छ । बेलायती शासनबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तान छुट्टिएयतादेखि दुई देशबीच आपसी शत्रुता छ । यी देशले तीनपटक त युद्ध नै गरिसकेका छन् । फाटफुटरूपमा आमने–सामनेको अवस्था त भइरहेकै छ । क्षेत्रीय संगठन सार्कले दुई मुलुकलाई एउटा साझा मञ्चमा ल्याएको भए पनि आपसी शत्रुता समाधान गर्न सहयोगी हुन सकेन । बरु सार्क कमजोर बन्दै गयो । काठमाडौंमा सम्पन्न अठारौं शिखर सम्मेलनपछि सार्क झनै निष्क्रिय हुँदै गयो । भारत र पाकिस्तानबीचको द्वन्द्व नै यसको मुख्य कारण हो । क्षेत्रीय शान्ति र विकासमा यो गम्भीर चिन्ताको अवस्था हो । 

भारत र पाकिस्तानबीचको लामो द्वन्द्वको समाधान युद्ध होइन । यो विश्वशान्तिमै चिन्ताको विषय हो । आपसी संवादको सम्भावना समाप्त भएको छैन । विश्व संस्था, क्षेत्रीय संगठनहरू तथा मुलुकहरूले संवादको माध्यमले समाधान खोज्न दुवै मुलुकलाई आहृवान गरेका छन् । आतंकवाद भारत र पाकिस्तान दुवै मुलुकको साझा समस्या हो र अरू मुलुकको पनि । भारत जसरी आतंकवादी हमलाहरूको मारमा पर्दै आएको छ, पाकिस्तान पनि त्यस्तै मारमा छ । आतंकवाद क्षेत्रीय र विश्वव्यापी समस्या हो । आतंकवादको मारमा परेका मुलुकहरूको संयुक्त प्रयासले मात्रै यसको सामना गर्न सकिन्छ । यसतर्फ दुवै मुलुकले विवेकसम्मत ढंगले सोच्नु उचित हुनेछ । 

दुवै देशले विश्व समुदायको चिन्ता बुझेर संवादको वातावरण बनाउनु उचित हुनेछ । मध्यस्थता उपयोगी हुनसक्छ । अपेक्षा गरौँ भारत र पाकिस्तान दुवैले संयम अपनाउने छन्, क्षेत्रीयशान्ति तथा विश्वशान्ति कायम राख्न विवेक प्रयोग गर्नेछन् । 







Views: 53

सम्बन्धित सामग्री:

फस्टाउँदो फूल व्यवसाय

: चैत्र १०, २०७५ (११:०३ AM)

औचित्यहीन सुनुवाइ

: चैत्र ८, २०७५ (५:३० AM)