27th May | 2019 | Monday | 3:09:08 PM

फेरि यस्तो नहोस्

  POSTED ON : फाल्गुन १७, २०७५ (५:२७ AM)

फेरि यस्तो नहोस्

बुधबार अपराहृन पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गयो । डाइनाष्टि एअरको हेलिकोप्टर करिब साढे एक बजे पाथीभरा मन्दिर परिसरबाट काठमाडौंका लागि उडेको थियो । उडेको एक–दुई मिनेटमै हेलिकोप्टर दुर्घटनामा प¥यो । दुर्घटनामा ज्यान गुमाउने मन्त्री अधिकारी, उनका सहयात्रीहरू र चालकमा हार्दिक श्रद्धाञ्जलि, दिवंगत आत्माको चिरशान्तिको कामना । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना । 

कुनै पनि दुर्घटना पूर्वसूचित हुँदैन । दुर्घटना बाजा बजाएर आउँदैन भन्ने त आहान नै छ । बुधबारको दुर्घटना छानविन गर्न सरकारले समिति गठन गरेको छ । दुर्घटना कसरी भयो, त्यसको प्राविधिक पक्ष छानविनले खुलाउला, अहिले नै अनुमान गर्नु हतार हुनेछ । उक्त क्षेत्रको भौगोलिक÷प्राकृतिक वातावरणमा भएको उक्त उडानले केही प्रश्नहरू भने छाडेर गएको छ । 

पाथीभरा मन्दिर करिब ११ हजार ४०० फिट उचाइमा पर्छ । उक्त क्षेत्रमा सामान्यतया मध्याहृन १२ बजेपछि उडानका लागि मौसम अनुकूल हुँदैन । तीव्र गतिको बतास चल्छ । उक्त क्षेत्रमा मौसमको अनुकूलता पक्का गरेरमात्रै अपराहृनपछिको उडान गर्ने गर्छन् । पाथीभराभन्दा कम उचाइमा रहेको सुकेटार विमानस्थलमा सामान्यतया पूर्वाहृनमात्रै उडान हुन्छ । बुधबार बिहानैदेखि त्यस क्षेत्रको मौसम उति अनुकूल थिएन । अपराहृनदेखि बाक्लो हिउँ पर्न थालेको थियो । बतास चलेको थियो । हेलिकोप्टर पाथीभराबाट अपराहृन करिब साढे एक बजे उडेको हो । 

प्राप्त विवरणहरूअनुसार पाथीभराबाट फर्किने समय मौसम अत्यन्तै प्रतिकूल थियो । चालकले उड्न सक्ने अवस्था नरहेको भन्ने जानकारी काठमाडौं विमानस्थललाई गराएका थिए । उडेको जानकारी नपाउँदै काठमाडौं विमानस्थलले दुर्घटनाको खबर पायो । यो विवरणले प्रतिकूल मौसममै पनि जोखिम लिएर उडान गरेको भन्ने अनुमान गर्न सकिन्छ । हेलिकोप्टरको प्राविधिक अवस्था, उचाइअनुसारको भारवहन क्षमतालगायतका विषयमा छानविन समितिले निष्कर्ष दिने अपेक्षा गरौँ । 

हाइप्रोफाइल उडानमा चालकहरू सामान्यभन्दा अलिक बढी दबाबमा हुन्छन् भनिन्छ । निर्धारित समयमा निर्धारित ठाउँमा पुग्नै पर्ने दबाब हुन्छ । अक्सर हेलिकोप्टर उडानमा यस्तो हुन्छ । यही फागुन पहिलो साता एउटा कलेजको रजतजयन्ती समारोहमा भाग लिन सोलुखुम्बु गएकी राष्ट्रपति विद्यादेवी भण्डारी सवार हेलिकोप्टर फाप्लुबाट काठमाडौंतर्फ उड्दै गर्दा प्रतिकूल मौसमका कारण फाप्लु नै फर्केको थियो । उडान तालिकासँगै प्रतिकूल अवस्थामा हाइप्रोफाइलको सुरक्षा, वासलगायतको प्रबन्ध पूर्वतयारीमै पर्नुपर्छ । 

हवाई दुर्घटनाको छानविन समान्यतया चालकको त्रुटि वा मौसम खराबीमा टुंगिने गरेको छ । दुर्घटना न्यूनीकरणका लागि छानविनका सुझावहरू कति कार्यान्वयन भए, त्यो सार्वजनिक जानकारीमा हुँदैन । अपेक्षा गरौँ, ताप्लेजुङमा भएको दुर्घटनाको छानविनले प्राविधिक पक्षसँगै हाइप्रोफाइल उडानमा अपनाउनुपर्ने सतर्कता र पूर्वतयारीबारे पनि ठोस सुझाब दिन सकोस् । जो कार्यान्वयन हुन सकोस् । कामना गरौँ– फेरि यस्तो दुर्घटना नहोस् ।


Views: 78

सम्बन्धित सामग्री:

प्रतिष्ठाको हठ

: जेठ १३, २०७६ (७:२१ AM)

मोदीको अनुमोदन

: जेठ १२, २०७६ (१२:२६ PM)