24th March | 2019 | Sunday | 8:35:24 AM

लगानी सम्मेलनको तयारी

  POSTED ON : फाल्गुन १९, २०७५ (११:११ AM)

लगानी सम्मेलनको तयारी

देशमा वर्षभरिमा कति विदेशी लगानी र सहयोग भिœयो भन्ने कुरा सरकारको सफलता र अन्तर्राष्ट्रिय समुदायमा विश्वसनियतासँग जोडेर हेर्ने गरिएको छ । लक्ष्यअनुसार विदेशी लगानी आए, सहयोग भए सरकार सफल नत्र असफल । बजेटको निकै ठूलो हिस्सा विदेशी ऋण तथा सहायतामा आधारित हुने गरेको छ । विनाशकारी भूकम्पपछि विदेशी सहायता अलिक बढी आवश्यक प¥यो । सोहीअनुसार कुरा पनि घनिभूत भयो । भूकम्पको लगत्तै दाताहरूको सम्मेलन त भयो तर प्रतिबद्धताअनुसारको सहायता आएन । कतिपय अवस्थामा सरकारले सहयोग लिन पनि सकेन । त्यसपछिको लगानी सम्मेलनको अवस्था पनि खासै फरक भएन । 

नयाँ संविधानअनुसार निर्वाचन भएर राजनीतिक स्थायित्व भएको र स्थिर सरकार बनेको मानिएको यो समयमा यथेष्ट लगानी र सहायताको अपेक्षा भएको हो । यसैअनुसार सरकारले आगामी चैत दोस्रो साता लगानी सम्मेलन आयोजना गर्ने भएको छ । स्वदेशी होस् कि विदेशी, व्यावसायिक कम्पनीले नाफाका लागि लगानी गर्छन् । सुरक्षितरूपमा व्यवसाय र कारोबार गर्न पाउनु, नाफा कमाउनु, निश्चत अवधिभित्र लगानी उठाउनु र नाफा लैजानु नै लगानीको उद्देय हो । स्वदेशीले नै पनि नाफा नहुने र लगानी नउठ्ने अवस्थामा लगानी गर्दैन भने विदेशीले त झन गर्दैन । सिद्धान्तका ठेली जे जति भए पनि सोझो व्यावहारिक पक्ष यही हो । 

एनसेलको किनबेचमा करको कुराले लामो समयदेखि कचमच चलेको छ । प्रष्ट छ, हाम्रा नियामक र निर्णायक अधिकारीहरूको गैरजिम्मेवारी, अल्पदृष्टि इत्यादिका कारणले समयमा करको निर्णय भएन । कर नतिरेको बहानामा एनसेलका टावरहरूमा आगजनी र विस्फोट भयो, ज्यान गयो । विदेशी लगानीकर्ता विकर्षित गर्न यही घटना पनि पर्याप्त हुन्छ । यस्तो घटनाले अझै सुरक्षाको समस्या देखाउँछ । ऐन, नियम प्रक्रिया इत्यादिमा त सरकारले स्वदेशी लगानीकर्ताकै विश्वास जित्न सकेको छैन । विदेशी लगानीकर्ताले त इतिहास दुर भविष्यको सम्भावना समेत हेर्छ । नेपाल आउन ऊ किन आकर्षित छ, त्यो विश्लेषण गर्छ । यता उचित नठाने अर्कोतिर जान्छ, पर्खिंदैन । 

पूर्वाधार विकास उत्तिकै महŒवको कुरा हो । यसमा क्रमशः प्रगति भएको देख्न सकिन्छ । विश्वास बढाउने आधार बन्दैछ तर लगानी सुरक्षामा नेपालले विश्वास दिन सकेको छैन । शेयर कारोवारलाई आर्थिक क्षेत्रको मानकमध्येको मुख्य मानिन्छ । शेयर बजारमा लगातार गिरावट छ । सरकारसँग यसको चित्तबुझ्दो जवाफ छैन । सबै दृष्टिले लगानीको अनुकूल वातावरण छ भन्ने विश्वास नै विदेशी लगानी आकर्षणको आधार हो । चैतमा हुने लगानी सम्मेलनका लागि सरकारले गर्नुपर्ने तयारी पनि यसमै हो । लगानी सम्मेलन बिथोल्न खोजेको भन्दै अरू कसैलाई आरोप लगाएर त सरकार उम्किन सक्दैन । लगानीकर्ताको विश्वास जित्न सरकार के गर्दैछ ¤

 


Views: 39

सम्बन्धित सामग्री:

औचित्यहीन सुनुवाइ

: चैत्र ८, २०७५ (५:३० AM)