27th May | 2019 | Monday | 3:38:09 PM

भरतमोहनको सम्झना

  POSTED ON : फाल्गुन २०, २०७५ (६:५८ AM)

भरतमोहनको सम्झना

वामपन्थी नेता भरतमोहन अधिकारी नेपाली राजनीतिक र आर्थिक क्षेत्रमा एक नक्षत्रका रूपमा युग युगान्तर सम्झिइनेछन् । उनी अगुवा वाम नेता थिए । नेपाली कम्युनिस्ट आन्दोलनका एक निष्ठावान नेता थिए । तीस वर्षको निरंकुश पञ्चायती शासनविरुद्ध २०४६ सालको संयुक्त आन्दोलनमा वाममोर्चाका तर्फबाट अग्रणीहरूमध्येका एक थिए । त्यसैले २०४७ सालको संविधानका मस्यौदाकारध्ये एक थिए । त्यसयताका दिनमा भरतमोहन राष्ट्रिय राजनीतिमा सक्रिय रहे । राजनीति, कानुन र अर्थव्यवस्थाका जानकार मानिन्थे । 

भरतमोहन चारपटक मन्त्री हुँदा उनले तीनपटक अर्थमन्त्रालय सहृमाले । उनी पहिलोपटक २०५१ सालमा तत्कालीन नेकपा एमालेको सरकारमा अर्थमन्त्री नियुक्त भए । मध्यावधि निर्वाचनमा कुनै पनि दलले एकल बहुमत हासिल नगरेपछि ठूलो दलको हैसियतमा नेकपा एमालेले सरकार बनायो । उनकै दाइ मनमोहनको प्रधानमन्त्रीत्वमा उनी अर्थमन्त्री भए । उनले सामाजिक सुरक्षा भनेर ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक सय रुपैयाँ भत्ता दिने व्यवस्था गरे, जो वृद्धभत्ताका नामले चिनियो । सरकार नौ महिनामात्रै चल्यो तर त्यही छोटो समयले उनलाई नेपाली जनतामाझ चिरस्मरणीय बनायो । उनी उपप्रधानमन्त्री भए तर अर्थमन्त्रीका रूपमा चिनिए । 

नेपालमा वामपन्थीको पहिलो सरकार त्यही थियो जसलाई अर्थमन्त्रीका रूपमा भरतमोहनले फरकरूपमा चिनाए । पहिलो वाम अर्थमन्त्रीका रूपमा उनले पेश गरेको बजेट वितरणमुखी भनेर विपक्षीले आलोचना गरेका भए पनि कसैले पनि उनले लिएको नीति त्याग्न सकेनन् । आज वृत्तभत्ता मासिक दुई हजार रुपैयाँ पुगेको छ । सामाजिक सुरक्षाको आयाम फराकिलो भएको छ । त्यही बजेटमा उनले ‘नौ स’ का नामले केही आर्थिक र विकासका कार्यक्रमहरू सुरु गरेका थिए । त्यसैभित्र थियो स्थानीय निकायलाई सोझै वार्षिक तीन लाख रुपैयाँ अनुदान र आफ्नो गाउँ आफैँ बनाऔँ कार्यक्रम । यी र यस्तै कार्यक्रमले भरतमोहनलाई मात्रै होइन नेकपा एमालेको नौ महिने सरकारलाई नै लोकप्रिय बनायो । 

त्यो नौ महिने सरकारको साखले नै नेकपा एमालेलाई सधैँ राजनीतिको केन्द्रमा राख्यो । आजपर्यन्त । आजका सत्तारुढ नेकपा नेताहरूले वृद्धभत्तालाई आफ्नो सबैभन्दा ठूलो जनप्रिय कामका रूपमा व्याख्या गर्दैै आएका छन् । 

पहिलो कम्युनिस्ट सरकारका बारे खासगरी निजी क्षेत्रमा एक किसिमले अन्योल थियो, भित्रभित्र भय पनि । भरतमोहनले व्यवसायीमा व्याप्त अन्योल र भय हटाइदिए । कम्युनिस्ट सरकारबारे व्याप्त भ्रम हटाइदिए । उनी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने अर्थमन्त्रीका रूपमा निचिए । उनी समग्रमा राजनीतिकभन्दा बढी आर्थिक विषय सोच्थे । मुलुकको अर्थव्यवस्था र जनमुखी कार्यक्रमलाई केन्द्रमा राखेर काम गर्थे । कम्युनिस्ट थिए, एमालेका नेता थिए तर सबैका मान्यवर थिए, सम्मानित थिए । ती सम्मानित, कुशल र अग्रणी नेता भरतमोहनप्रति हार्दिक श्रद्धाञ्जली । 

 


Views: 75

सम्बन्धित सामग्री:

प्रतिष्ठाको हठ

: जेठ १३, २०७६ (७:२१ AM)

मोदीको अनुमोदन

: जेठ १२, २०७६ (१२:२६ PM)