26th March | 2019 | Tuesday | 1:29:12 AM

अर्थतन्त्रको मन्द गति

  POSTED ON : फाल्गुन २३, २०७५ (५:२६ AM)

अर्थतन्त्रको मन्द गति

अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा त्यति उत्साहजनक छैन । पुँजीगत भनिने विकास बजेट खर्चमा अपेक्षित सुधार हुन सकेको छैन । अर्धवार्षिक अवधिमा २८.६ प्रतिशतमात्रै खर्च हुन सकेको छ । आर्थिक वर्षको अन्त्यतिर बढी खर्च हुने चलनअनुसार साढे ८४ प्रतिशत वा केही बढी हुनसक्ने संशोधित अनुमान अर्थमन्त्रालयको छ । बितेका केही वर्षको तुलनामा केही सुधार भएको मान्नुपर्छ तर ६ महिनाको स्थिति भने निराशाजनक नै हो । निर्यातमा खासै सुधार भएको छैन । आयात बढ्दो छ । सोहीअनुसार व्यापारघाटा पनि बढ्दो छ । शोधनान्तर स्थिति निकै निराशाजनक छ । 

राजस्व संकलनमा समेत लक्ष्य पूरा नहुने निष्कर्षमा अर्थमन्त्रालय पुगेको छ । वैदेशिक सहायता पनि घट्ने देखिएको छ । साधारण खर्च भने बढ्दो क्रममा छ । पुँजीगत खर्चमा केही सुधार भए पनि लक्ष्यभन्दा निकै कम हुनुले भने आर्थिक क्षेत्रमा संकुचन ल्याउनेछ । रोजगारी अभिवृद्धिमा असर पर्नेछ । केही सकारात्मक संकेतहरू पनि देखापरेका छन् । कृषि उत्पादन वृद्धि भएको छ । पर्यटक आगमन बढेको छ । उद्योगको क्षमता विस्तार हुँदै गएको छ । मूल्यवृद्धि नियन्त्रणको अवस्थामा छ । ऊर्जा आपूर्तिमा सुधार भएको छ । यसले आर्थिक वृद्धिदर बढ्दो क्रममा रहने आधार तयार गरेको छ । सुधारको गति भने निकै मन्द छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार वर्षौंदेखिका केही सैद्धान्तिक र व्यावहारिक विचलनका कारणले आर्थिक क्षेत्रमा केही समस्याहरू छन् । अर्थव्यवस्थाका केही निश्चित सिद्धान्तहरू हुन्छन् र तिनमा ध्यान पुगेन भने अर्थतन्त्रमा समस्या सिर्जना हुन्छ । अर्थमन्त्री खतिवडा यो पक्ष सुधारको अभियानमा छन् । अहिलेको अर्धवार्षिक समीक्षा पनि यस्तै सुधारमा आधारित छ भन्ने उनको जिकिर छ । हुन पनि राजनीतिक लाभहानीलाई मात्रै केन्द्रमा राख्दा अर्थव्यवस्थामा केही विचलन अवश्य भएको छ । यसमा निकै दृढताका साथ सुधार आवश्यक छ । फटाफट राजनीतिक लाभ लिन खोज्नेहरू त्यसैअनुसार अर्थव्यवस्था चलाउन खोज्छन् । समस्याको जड पनि यही हो । 

राजनीतिक स्थिरताको अवस्थामा आर्थिक क्षेत्रमा द्रुत गतिमा सुधार हुने अपेक्षा भएको हो । सरकार गठन भएको एक वर्ष बितिसकेको छ । आर्थिक वर्षको पनि दुई चौमासिक बित्नै लागेको छ । यस अवधिमा आर्थिक क्षेत्रमा आमरूपमा देखिने गरी ठूलो काम भएको छैन । जे भएको छ त्यो पहिलेदेखिकै निरन्तरता वा सामान्य फेरबदलमात्रै हो । आर्थिक सूचकांकहरूले देखिने गरी कुनै सकारात्मक संकेत गरेका छैनन् । आधारभूतरूपमा केही सुधारका काम हुन थालेको संकेत छ तर त्यसको परिणाम देखिएको छैन । आम्दानी वृद्धि, सोहीअनुसार पुँजीगत खर्च र देखिनेगरी सुशासनले मात्रै अर्थतन्त्रमा सुधार हुनेछ । यसका लागि दृढता आवश्यक छ ।


Views: 38

सम्बन्धित सामग्री:

फस्टाउँदो फूल व्यवसाय

: चैत्र १०, २०७५ (११:०३ AM)

औचित्यहीन सुनुवाइ

: चैत्र ८, २०७५ (५:३० AM)