26th March | 2019 | Tuesday | 1:38:17 AM

विप्लवसँग संवाद

  POSTED ON : फाल्गुन २७, २०७५ (५:१६ AM)

विप्लवसँग संवाद

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिप्रति नरम रहँदै आएको सरकार एनसेल टावरहरूमा आक्रमण र क्षतिपछि निकै कडारूपमा प्रस्तुत हुन थालेको छ । विप्लव पनि जवाफी हुन थालेका छन् । विस्फोटका घटना बढेका छन् । जबर्जस्ती चन्दा असुली र अपहरण हुन थालेको छ । सुरक्षा निकायहरू समयमै नियन्त्रण गर्न नसके चुनौती बढ्दै जाने निष्कर्षमा पुग्न थालेका छन् । दुर्गममा ठाउँहरूका विप्लवका गतिविधि दश वर्षे सशस्त्र द्वन्द्वकै शैलीमा हुन थालेको जानकारी आउन थालेको छ । स्कुले बालबालिकालाई मानवढालका रूपमा प्रयोग गरेर आफू सुरक्षित रहने रणनीति अपनाउन थालेका छन् । यस्तै घटना भएको छ कपिलवस्तुको शिवगढी गाउँमा ।

शिवगढी गाउँमा पुगेको प्रहरी टोलीलाई अवरोध गर्न विप्लवको पार्टीले आधारभूत स्कुलका विद्यार्थी अघि सा¥यो । बालबालिका द्वन्द्वमा प्रयोग भए । विप्लवको पार्टीले सशस्त्र विद्रोहको सन्देश दियो । शिवगढीको घटना अन्यत्र पनि पुनरावृत्ति हुनसक्नेछ । विप्लवले सशस्त्र युद्धको औपचारिक घोषणा गरेका छैनन् तर उनका गतिविधि युद्धकै तयारीका जस्ता छन् । उनले संविधानसभाबाट जारी भएको संविधान अस्वीकार गरेका छन् र जनता अधिकारसम्पन्न नभएको भनेका छन् । मुलुकमा गणतन्त्र छ, संघीय प्रणाली छ । तीन तहका सरकार बनेका छन्, केन्द्रको अधिकार स्थानीय तहसम्म पुगेको छ, पुग्दैछ । संविधानभित्रबाटै समाधान खोज्न सकिने पर्याप्त अवसर छ । 

मुलुकले दश वर्ष कहालीलाग्दो सशस्त्र द्वन्द्व बेहोरिसकेको छ । शान्ति प्रक्रियामार्फत द्वन्द्वको अवतरण भयो । त्यसयता पनि एक दशक बितिसकेको छ । मुलुक परिवर्तनको दिशामा अघि बढेको छ । जतिसुकै ठूलो समस्या पनि शान्तिपूर्णरूपमा समाधान हुनसक्छ, सहज अवतरण हुनसक्छ भन्ने दृष्टान्त हाम्रो शान्ति प्रक्रिया नै हो, जसमा विप्लव स्वयम् पनि सहभागी थिए । संविधान गतिशील छ, संवाद हुनसक्छ, सहमति हुनसक्छ, मुलुकले अझ अग्रगामी बाटो लिनसक्ने अवसरको खोजी हुनसक्छ । शान्तिपूर्ण तरिकाले यसो हुनसक्छ । सबै असन्तुष्टिहरूको समाधान सशस्त्र आन्दोलनमात्रै होइन । विप्लव सशस्त्र आन्दोलन÷युुद्ध र शान्तिप्रक्रिया दुवै चरणबाट बनेका नेता हुन् । 

फेरि मुलुकलाई अर्को सशस्त्र आन्दोलन÷यद्धमा होम्नु अनन्तमा जानु हो । यसले युद्धको विभिषिकाबाट त्राण पाउँदै गरेको मुलुकलाई फेरि अनन्त अन्योलतिर धकेल्ने छ । सरकारले विप्लवको नेकपासँग शान्तिपूर्ण अवतरणको उपाय खोज्न ढिलो गर्नु हुँदैन । भरखरै सरकारले राष्ट्र विखण्डनको माग गरिरहेको एउटा समूहलाई राजनीतिको मूलधारमा आउन सहमत गराएको छ । सरकारले विप्लवको पार्टीलाई ‘लुटेरा’ करार गर्नुअघि संवादबाट समाधान खोज्न अधिकतम पहल गरोस् । संवाद गरोस् । यसैगरी, विप्लव पनि शान्तिपूर्ण समाधानका लागि संवादको टेबलमा आऊन् । मौका गुमिसकेको छैन । आवश्यक छ त केवल शान्तिपूर्ण संवादमा बस्ने तत्परता । मुलुकलाई फेरि जबर्जस्ती युद्धतिर नधकेलौँ । भो, युद्ध पुग्यो ।

Views: 41

सम्बन्धित सामग्री:

फस्टाउँदो फूल व्यवसाय

: चैत्र १०, २०७५ (११:०३ AM)

औचित्यहीन सुनुवाइ

: चैत्र ८, २०७५ (५:३० AM)