27th May | 2019 | Monday | 4:47:58 AM

पाठेघर खस्ने समस्या

  POSTED ON : फाल्गुन २८, २०७५ (५:२४ AM)

पाठेघर खस्ने समस्या

महिलामा पाठेघर खस्ने रोग मुख्य समस्याका रूपमा रहेको छ । खासगरी विपन्न परिवारका महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । हालै भारतीय दूतावासको नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत ‘हेल्दी नेपाल कम्युनिटी फाउण्डेशन’ नामक एक गैर सरकारी संस्थाले सार्वजनिक गरेको तथ्यांकले निकै भयावह अवस्था देखाउँछ । तराईका नौ वटा जिल्लामा दुई वर्षसम्म गरेको अध्ययन परीक्षणको रिपोर्टअनुसार २६ प्रतिशत महिला पाठेघर खस्ने समस्याले पीडित भेटिए । परीक्षण गरिएकामध्ये धेरैमा प्रारम्भिक अवस्था पाइए पनि उनीहरूले रोगबारे थाहा पाएका छैनन् । थाहा पाएकैहरू पनि उपचारमा गएका छैनन् । उपचारका लागि जानेहरू प्रायः गम्भीर अवस्थामा पुगेका हुन्छन् । 

महिलाहरूको यस्तो समस्या कुनै भूगोल वा जात विशेषमा सिमित छैन । खासगरी ग्रामीण क्षेत्रका, विपन्न परिवारका र शैक्षिक चेतनामा पछि परेका महिलाहरू पाठेघर खस्ने समस्याले पीडित छन् । रोगबारे बेलैमा थाहा नपाउनु मुख्य समस्या देखिएको छ । यौनांगसँग सम्बन्धित भएकाले थाहा पाएर पनि भन्न र उपचारमा जान लाज मान्ने गरेको पाइएको छ । तराईका नौ वटा जिल्लामा ४५ हजार महिलामा परीक्षण गर्दा ३५ हजारमा रोगको प्रारम्भिक अवस्था देखिनु भयावह अवस्था हो । बालविवाह, छोटो जन्मान्तर, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमीजस्ता कारणले महिलाहरू पाठेघर खस्ने समस्याबाट पीडित हुने गरेका छन् । 

रोगबारे कमजोर जनचेतना ठ्लो समस्याका रूपमा रहेको छ । रोगबारे थाहै छैन, थाहा पाएर पनि उपचारमा गएका छैनन् । रोकथामका उपायहरू अपनाएका छैनन् । सरकारले निःशुल्क जाँच गर्ने र उपचार गर्ने अभियान समय समयमा चलाउने गरेको छ तर पर्याप्त छैन । यो रोगको उपचार धेरै जटिल र खर्चिलो पनि छैन तैपनि पीडितहरू समयमै उपचारमा जाँदैनन् । यही रोगका कारण कतिपय परिवारमा पारिवारिक झमेला समेत उत्पन्न हुने गरेको छ । सरकारले यो रोगमा परीक्षण र उपचार पूर्ण निःशुल्क गराउने व्यववस्था मिलाउनु पर्छ । जुन समुदायमा यो रोग बढी देखापरेको छ त्यसको बहुसंख्यक विपन्न छ । 

जनचेतना महŒवपूर्ण पक्ष हो । पीडित महिलाले मात्रै रोग थाहा पाएर पनि नहुने रहेछ । परिवारका पुरुषमा पनि उत्तिकै चेतना आवश्यक छ । त्यसैले, जनचेतना अभिवृद्धिका कार्यक्रमहरू लक्षित वर्गसम्म पु¥याउनु आवश्यक छ । रोकथाम, रोगका लक्षण, सावधानी, परीक्षण र उपचारका बारे जानकारी भए पीडितले उपचार गराउने छन् । अन्यले रोग लाग्न नदिन रोकथामका उपायहरू अपनाउने छन् । रोगका कारण अपहेलित हुनु दुखद अवस्था हो । पाठेघर खस्ने रोगमा पीडित महिलाले प्रायः अपहेलित महसुस गर्नुपरेको छ । सरकारले अध्ययन प्रतिवदेनहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ । स्वस्थ जनशक्तिले मात्रै देशको उन्नतिका लागि योगदान गर्न सक्छ । 


Views: 44

सम्बन्धित सामग्री:

मोदीको अनुमोदन

: जेठ १२, २०७६ (१२:२६ PM)