26th March | 2019 | Tuesday | 1:37:05 AM

छाउपडी पीडा

  POSTED ON : फाल्गुन २९, २०७५ (५:४५ AM)

छाउपडी पीडा

गत साता प्रतिनिधिसभामा मध्य तथा सुदुर पश्चिममा व्याप्त ‘छाउपडी प्रथा अन्त्यका लागि’ जरुरी सार्वजनिक महŒवको प्रस्ताव प्रस्तुत भयो । छलफल भयो । महिलाका लागि ‘महिनावारी’ अनिवार्य प्राकृतिक घटना हो जो प्रजननसँग सम्बन्धित छ । महिनावारीमा योनीमार्गबाट बग्ने रगत सुरक्षित व्यवस्थापन आवश्यक पर्छ । यही व्यवस्थापनका क्रममा महिनावारी भएको समयमा केही अलग रहने प्रचलन सुरु भएको हुनुपर्छ जो विस्तारै ‘छुन नहुने’ मा बद्लिँदै छाउपडीजस्तो प्रथामा विकसित भयो । हुँदा हुँदा छाउपडी कुप्रथा बनेर गम्भीर मानवीय समस्या बन्दै गयो । धेरै नेपाली समुदायमा महिनावारीमा पर सर्ने र नछुने बार्ने चलन छ । आधुनिकतासँगै क्रमशः कम पनि हुँदैछ । 

मध्य तथा सुदुर पश्चिमको छाउपडी प्रथा दुई–चार वर्षमा बनेको होइन । कसैले थोपरेकै भरमा यति गहिरो जरा गाडेको भन्नु पनि उचित हुँदैन । कुनै चलन लामो समयमा विकसित हुन्छ । प्रभाव सकारात्मक भए राम्रो मानिँदै जान्छ, नकारात्मक भए कुप्रथा बन्छ, अमानवीय हुन्छ । छाउपडी प्रथा मानवीय समस्या बन्न गयो । महिनावारीको समयमा उचित सफाइ र पौष्टिक खानेकुरा आवश्यक पर्छ । शरीरलाई केही आराम आवश्यक पर्छ । तर यही समयमा यी आवश्यकताको परिपूर्ति कमजोर हुन्छ । पौष्टिक मानिने कतिपय खानेकुरा खानै नहुने धारणा छ । यसले महिलाको स्वास्थ्यमा असर गरेको छ ।  

छाउपडी प्रथामा सुत्न अलग्गै गोठमा जानुपर्छ जो घरबाट अलिक पर हुन्छ । त्यसैले असुरक्षित हुन्छ । गोठ भएकाले त्यसमा न्युनतम सुविधा हुँदैन । त्यही छाउगोठमा महिलाको ज्यान गएको छ, कहिले जलेर त कहिले सर्पले डसेर । छाउगोठमा आमासँगै सुत्ने बालबालिकाहरू पनि असुरक्षित हुने गरेका छन् । हालैको एक घटनामा निसास्सिएर दुई छोराछोरीसहित आमाको मृत्यु भयो । छाउपडी प्रथाको जड अन्धविश्वास हो । अन्धविश्वासको अन्त्यका लागि उन्नत चेतना आवश्यक पर्छ । शिक्षा र आत्मविश्वासले जनचेतना अभिवृद्धि हुन्छ । छाउपडी प्रथा अन्त्यका लागि केही वर्षयता अनेक प्रयासहरू भएका छन् तर यथावत छ । अलिकति बढी वा घटीमात्रै हो । 

छाउपडी प्रथा अन्त्यका लागि सुदुरपश्चिमको कैलालीका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूको भेलामा सहभागीहरूले गम्भीर समस्याका रूपमा प्रस्तुत गरे । धेरैको साझा भनाइ थियो– अनेक प्रयासले पनि छाउपडी प्रथा अन्त्य हुन सकेन । हुन पनि गोठहरू नभत्काइएको होइन । जनचेतनाका लागि अभियानहरू नचालाइएको पनि होइन । यस्ता प्रयासको प्रभाव क्षणिकमात्रै देखियो । फेरि छाउगोठ बनाइए । प्रथा कायमै रहृयो । छाउपडी प्रथा गम्भीर समस्याका रूपमा रहेको छ । यसको प्रत्यक्ष पीडा महिलाले भोग्ने भए पनि नकारात्मक प्रभाव सिंगो परिवारमा परेको हुन्छ र समाजमा पनि । यो प्रथा अन्त्य हुन आवश्यक छ । 

अन्त्य कसरी गर्ने ? मुख्य प्रश्न यही हो । कुनै घोषणाले वा नियम कानुनले मात्रै नहुने रहेछ । जनचेतना अभिवृद्धि गर्दै अन्धविश्वासको अन्त्य आवश्यक पर्छ । लामो समयमा विकसित कुनै प्रथा घोषणा र कानुनले मात्रै नहुने कुरा त छाउपडी प्रथामात्रै होइन, छुवाछुत प्रथामै हाम्रो यस्तो अनुभव छ । आधा शताब्दीभन्दा पहिले अन्त्यको घोषणा भएको छुवाछुत प्रथा व्यवहारमा अझै कायम छ, अन्त्य भएको छैन, क्रमशः कम हुँदैछ । छाउपडी प्रथा पनि क्रमशः कम हुँदै अन्त्य हुन सक्छ । यसका लागि निरन्तरको प्रयास आवश्यक पर्छ ।  



Views: 40

सम्बन्धित सामग्री:

फस्टाउँदो फूल व्यवसाय

: चैत्र १०, २०७५ (११:०३ AM)

औचित्यहीन सुनुवाइ

: चैत्र ८, २०७५ (५:३० AM)