24th April | 2019 | Wednesday | 10:19:33 PM

भन्ने मात्रै स्मार्ट

  POSTED ON : चैत्र २७, २०७५ (६:३५ AM)

भन्ने मात्रै स्मार्ट

काठमाडौं महानगरपालिकाका अधिकारीहरूमा ‘स्मार्ट’ शब्द खुब चल्तीमा छ । स्थानीय तहको निर्वाचनताका ‘स्मार्ट सिटी’ सबैजसो उम्मेदवारका जिब्राको टुप्पैमा थियो । विभिन्न दलका घोषणापत्रमा पनि परेको थियो । यहाँ काठमाडौं महानगरपालिकाको कुरा गरौं । महानगरले स्मार्ट शौचालय, स्मार्ट डस्टबिन, स्मार्ट पार्किङ, स्मार्ट एम्बुलेन्स इत्यादिको कुरा गरेको छ । महानगरमा निर्वाचित जनप्रतिनिधि आएको दुई वर्ष हुनै लागेको छ । यसबीचमा महानगरले भन्ने गरेको स्मार्ट कतै पनि देखिँदैन, सबै सेवा÷सुविधा पुरानै ढाँचाको छ । ‘स्मार्ट’ हुनुको मापदण्ड के हो भन्नेमै अलमल देखिन्छ । 

स्मार्ट शौचालयको कुरा गरौं । काठमाडौं महानगरभित्र शौचालयको दुरावस्था त्यसका प्रयोगकर्ताले मात्रै राम्ररी बताउन सक्छन् । केही सीमित ठाउँमा शौचालय छन् । एक–दुई अपवाद छाडेर अधिकांश शौचालय दुर्गन्धित छन् भित्र पस्नै नसकिने गरी । पर्याप्त पानी छैन । कतै ढोका नै छैन त कतै चुकुल छैन । यस्तोमा महिलाहरूले बढी सकस भोग्ने गरेका छन् । शौचपछि हात धुने पानी छैन, भइहाले पनि साबुन छैन । आपतमा परेको व्यक्तिले जस्तो भए पनि प्रयोग गर्नैप¥यो । महानगरले शौचालयमा शुल्क उठाउँछ । मानिसहरूको भिडभाड हुने धेरै ठाउँमा शौचालय छैनन् । 

हालै काठमाडौं महानगरपालिकाले सहरको केन्द्रतिर केही ठाउँमा ‘सोलार स्मार्ट डस्टबिन’ राखेको छ । पहिलो चरणमा ६० वटा राख्ने र प्रभावकारिता हेरेर थप्दै जाने योजनाअनुसार हाल ४५ वटा राखिएका छन् । मानिसले बाटोमा हिँड्दाहिँड्दै आफूसँग जम्मा हुने बिस्कुट, चाउचाउ, चक्लेट इत्यादिका खोल, पानीलगायत पेयपदार्थका खोल÷बट्टा, फलफूलका बोक्रा÷कोया इत्यादि सानातिना फोहोर सडकमा फाल्नुको सट्टा स्मार्ट डस्टबिनमा हालून् भन्ने महानगरको उद्देश्य छ । देखिनेगरी ‘फोहोर मलाई’ लेखिएको छ । राति पनि प्रयोग हुन सकोस् भनेर सोलार बत्ती जडित छ । तैपनि अधिकांश स्मार्ट डस्टबिन रित्तै छन् । 

स्मार्ट एम्बुलेन्स ल्याउने तयारीमा छ काठमाडौं महानगर । प्रारम्भिक उपचारका लागि डाक्टर र नर्ससहितको एम्बुलेन्स सेवा उपलब्ध गराउने महानगरको योजना छ । यो निकै राम्रो योजना मान्नुपर्छ । साँच्चै सञ्चालनमा आउन सक्यो र प्रयोगकर्तालाई सुविधा हुनसक्यो भने अहिले उपलब्ध सेवाभन्दा स्मार्ट नै हुनेछ । स्मार्ट पार्किङ त अहिले गफमै छ, अर्थात् महानगरको ‘सपना’ भनौं । राजधानी काठमाडौंमा पार्किङ निकै ठूलो समस्याका रूपमा रहेको छ । सार्वजनिक सेवाप्रदायक कार्यालय छ तर पार्किङ छैन । ‘एकैछिन’ भनेर सडक किनाराका राखेको साधन फर्की आउँदा कारबाहीमा परिसकेको हुन्छ । 

काठमाडौं महानगरपालिकाको मात्रै होइन सबै सहरी क्षेत्रको समस्या उस्तै हो । नगरहरूमा अत्यावश्यक मानवीय सेवाकै अभाव छ । शौचालय यसको बलियो दृष्टान्त हो । सेवाको अवस्था नै नाजुक छ, स्मार्टको कुरै भएन । काठमाडौं महानगरले राखेका स्मार्ट डस्टबिन प्रयोग गर्ने चेतना नै देखिँदैन किनभने प्रचारप्रसार छैन । न्यूनतम सेवा सहज बनाउन स्थानीय तहको ध्यान केन्द्रित हुन जरुरी छ । 


Views: 111

सम्बन्धित सामग्री:

जनताले जितेको दिन

: बैशाख ११, २०७६ (६:२८ AM)

मानवताविरुद्ध हमला

: बैशाख १०, २०७६ (६:३९ AM)

जगेराको नयाँ छाउगोठ

: बैशाख ९, २०७६ (६:२५ AM)