24th April | 2019 | Wednesday | 10:18:27 PM

खेलको महाकुम्भ

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७५ (७:२२ AM)

खेलको महाकुम्भ

२०३८ सालमा काठमाडौंमा राष्ट्रिय खेलकुदको पहिलो संस्करण आयोजना हुँदा दुई–दुई वर्षको अन्तरालमा गर्ने भनिएको थियो । सोहीअनुरूप त्यसपछिका दुई संस्करण पोखरामा २०४० मा र वीरगञ्जमा २०४२ मा पनि सम्पन्न भए । त्यसपछि भने राजनीतिक उतारचढावले राष्ट्रिय खेलकुदमा पनि असर पु¥यायो । २०४६–४७ को जनआन्दोलन, अस्थिर सरकार र विभिन्न निर्वाचनका कारण २०५४ सालमा मात्र नेपालगञ्जमा प्रतियोगिताको तेस्रो संस्करण हुन सक्यो । 

फेरि मुलुकमा सुरु भएको माओवादी द्वन्द्वले प्रतियोगिता अवरुद्ध भयो । माओवादीहरू शान्ति प्रक्रियामा आइसकेपछि सुदूरपश्चिममा पहिलोपटक २०६८ सालमा छैटौं राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । त्यसपछि निर्वाचन र भूकम्पका लगायतका छैटौं संस्करणको पाँच वर्षपछि पूर्वाञ्चलमा सातौं भयो । सुरुका तीन संस्करणपछि दुई वर्षमै हुन लागेको यो तेस्रोपटक हो । सातौं राष्ट्रिय खेलकुदमै तत्कालीन मध्यमाञ्चल खेलकुद विकास समितिले आठौं प्रतियोगिताका झण्डा उठाएको थियो । औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि चैत २७ गते प्रतियोगिता सुरु भएको छ । 

पहिलोपटक विभिन्न जिल्लामा राष्ट्रिय प्रतियोगिताहरू एकैपटक हुँदैछन् ।  राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलहरू मुख्यतया प्रदेश ५ का बाँके, बर्दिया, दाङ, रूपेन्देही र कपिलवस्तुमा हुँदैछन् । त्यहाँ भौतिक पूर्वाधार नभएका खेलहरू अन्य क्षेत्रमा हुँदैछन् । ललितपुरमा स्क्वास, काठमाडौंमा गल्फ र कास्कीमा प्याराग्लाइडिङ र ट्रायथोलन खेलहरू हुँदैछन् । प्रतियोगिताका लागि विभिन्न स्थानमा भौतिक पूर्वाधारसमेत बनेका छन् । नेपालगञ्ज रंगशाला पुनर्निर्माण गरिएको छ । कोहलपुर क्रिकेट मैदानको स्तरोन्नति गरिएको छ । दाङमा क्रिकेट मैदान तथा एथ्लेटिक ट्र्याक निर्माण गरिएको छ । अन्य केही जिल्लामा पनि आधारभूत खेल संरचना बनेका छन् । अब खाँचो र निरन्तरता र संरक्षणको । 

राष्टिय प्रतियोगिता नेपाली खेलाडीका लागि महाकुम्भ हो । यसपट ५ हजार २११ खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रिय प्रतियोगितामा अब्बल ठहरिएका ने खेलाडीहरू राष्ट्रिय टोली तयार पार्ने क्रममा बन्द प्रशिक्षणमा आउनेछन् । उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यस संस्करणमा विदेशमा रहेका नेपाली खेलाडीहरूलाई पनि समेट्न गैरआवासिय नेपाली (एनआरएनए) टोली पनि समावेश गरिएको छ । विभिन्न ९ देशबाट २४ खेलाडी सहभागी हुने भएका छन् । विदेशमा रहेका अब्बल नेपाली खेलाडीहरूले पनि राष्ट्रिय प्रतिस्पर्धाहरूमा आफ्नो क्षमता देखाउन पाउने छन् । यसले विदेशमा सिकेको सीप तथा अनुभव यहँका नेपाली खेलाडीलाई बाँड्ने अवसर हुनेछ ।

चैत–वैशाखमा प्रतियोगिता हुने भएकाले यस संस्करणको मुख्य चुनौती खेलाडीलाई गर्मीबाट जोगाउनु हो । वैशाखमा मुख्य प्रतियोगिता स्थल नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गर्मी अत्यधिक हुन्छ । खेलाडीको स्वास्थ्यमा आयोजकले ध्यान पु¥याउनु अपरिहार्य छ । 


Views: 147

सम्बन्धित सामग्री:

जनताले जितेको दिन

: बैशाख ११, २०७६ (६:२८ AM)

मानवताविरुद्ध हमला

: बैशाख १०, २०७६ (६:३९ AM)

जगेराको नयाँ छाउगोठ

: बैशाख ९, २०७६ (६:२५ AM)