24th July | 2019 | Wednesday | 2:11:14 PM

नयाँ वर्षको शुभकामना

  POSTED ON : बैशाख १, २०७६ (९:०६ AM)

नयाँ वर्षको शुभकामना

समयको प्रवाह अनन्त छ । यो चलिरहन्छ । यो अनन्त प्रवाहलाई हामी खण्ड खण्डमा विभाजन गर्छौैं र आफूअनुकूल बनाउने प्रयत्न गर्छौं । खुसी हुन्छौँ, खुशीयाली साटासाट गर्छौं । साँस्कृतिक अवसरहरू, चाडपर्व, नयाँ वर्ष समयका यस्तै खण्डहरू हुन् जो हाम्रो सामाजिक जीवनशैलीसँग जोडिएका छन् । समयका यी अनेक खण्डहरू हाम्रा जीवनशैली र परम्परा बनेका छन् । हामी नेपाली आज यही परम्परा र जीवनशैलीको अर्को कडीमा आइपुगेका छौँ, नयाँ वर्ष २०७६ को स्वागत गर्दैछौँ । 

बितेको वर्ष २०७५ लाई बिदा गरेका छौँ । वर्ष २०७५ नयाँ संविधानअनुसार निर्वाचित दुई तिहाइ बहुमतयुक्त सरकारको वर्ष रहृयो । छिटो छिटो सरकार परिवर्तन हुने बानी परेका हामी नेपालीका लागि वर्षैभरि एउटै सरकार हुनु यसै पनि खुसीको कुरा भयो । नयाँ संविधानअनुकूल हुनुपर्ने कानुनहरू बने । सरकारले केही नयाँ काम थालनी ग¥यो जसले श्रमजीवी नागरिकहरूमा आशाको सञ्चार गरेको छ । ‘समृद्ध नेपाल ः सुखी नेपाली’ सरकारको एक सुत्रीय नारा छ । सरकारको स्थायित्व आशाको कडी भएको छ । बितेको वर्षमा सरकारले जनजीवनमा केही आशा जगाउन सकेको छ । 

नागरिकहरूलाई निराश बनाउने पाटो पनि छ । सरकार सुशासनमा खरो उत्रिन नसकेको आभास भएको छ । राज्य संयन्त्रका अधिकारीहरू नै भ्रष्टाचारका घटनामा मुछिएका छन् । अख्तियार दुरुपयोगमा कारबाही चलाउने संवैधानिक अंगका अधिकारी नै घुसमा समातिएका छन् । न्यायाधीशहरू घुस प्रकरणमा मुछिएका छन् । सरकारी सम्पत्ति र राज्यको स्रोत हिनामिना र दुरुपयोगमा राजनीतिक व्यक्तिहरूकै नाम अग्रपंक्तिमा आउने गरेको छ । यस्ता केही घटनाहरूले सरकार कतै सुशासन कायम गर्न असफल भएको त होइन, राजनीतिक नेता हुनु भनेको जसरी पनि राज्यको स्रोत दोहोन गर्नसक्ने हुनु त होइन भन्नेजस्ता प्रश्नहरू टड्कारो बनाइदिएका छन् । 

सरकार नियमनका नममा कतै घुमाउरो पाराले लोकतान्त्रिक पद्धतिमाथि नै त प्रहार गर्दै छैन भन्ने प्रश्न पनि उठ्न थालेको छ । सरकार नियमनका नाममा नियन्त्रणमुखी बन्दै गएको हो कि भन्ने आभास हुन थालेको छ । नियमन र नियन्त्रण फरक हो । लोकतान्त्रिक पद्धतिमा नियमन हुन्छ, नियन्त्रण होइन । आलोचना र सुझाव सरकारलाई अति नै अप्रिय लाग्न थालेको छ । असहमति र विरोधको अवाजलाई सरकारले अराजक भिड करार गर्न थालेको छ । प्रतिवादमा प्रधानमन्त्री र कतिपय मन्त्रीको स्वर असहिष्णु र कर्कस सुनिन थालेको छ । 

अपेक्षा गरौँ, सरकारले बितको वर्षको गम्भीरतापूर्वक समीक्षा गर्नेछ । आगामी दिनमा जनस्तरबाट उठेका आवाजहरूलाई सरकारले ‘अराजक’ करार गर्नेछैन । सुशासन सुदृढ गर्दै जानेछ । अपराध नियन्त्रणमा सरकार खरो सावित हुँदै जानेछ । वर्ष २०७५ का गल्तीहरू दोहोरिने छैनन् । आम नागरिकले आफ्ना लागि सरकार छ भन्ने अनुभूति गर्न सकून् । प्रत्येक नागरिकले आफू सुरक्षित रहेको अनुभव गर्न सकोस् । रोजगारी प्रवद्र्धन आजको मुख्य आवश्यकता हो । सरकार नारामा मात्र नरमाओस् । 

नयाँ वर्ष २०७६ समस्त नेपालीका लागि सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको वर्ष बन्न सकोस् । हार्दिक शुभकामना । 


Views: 194

सम्बन्धित सामग्री:

आदर्श नेताको स्मरण

: श्रावण ८, २०७६ (७:४१ AM)

‘अभागी’ भ्रष्टाचारी !

: श्रावण ७, २०७६ (६:१० AM)

सुधार्नै पर्ने खर्च प्रवृत्ति

: श्रावण ६, २०७६ (६:५४ AM)