21st July | 2019 | Sunday | 12:02:04 AM

जगेराको नयाँ छाउगोठ

  POSTED ON : बैशाख ९, २०७६ (६:२५ AM)

जगेराको नयाँ छाउगोठ

सुदुर पश्चिमका खासगरी पहाडी जिल्लामा छाउपडी भनिने महिलाको महिनावारी बार्ने प्रथा कम्ती जब्बरको छैन । बझाङ जिल्लाको साइपाल गाउँपालिकामा पछिल्ला तीन–चार महिनाको घटना हेरे पुग्छ । साइपाल गाउँपालिकाले महिनाबारी भएका बेला पनि घरमै सुत्ने जागरण अभियान चलायो । छलफल चलायो, नाटक देखायो । महिनावारी महिलाको नियमित प्राकृतिक प्रक्रिया हो, दोष होइन भनेर बुझाउने प्रयास ग¥यो । यही क्रममा स्थानीय जनप्रतिनिधि र प्रहरी मिलेर वडा नम्बर ४ र ५ मा रहेका छाउगोठ भत्काए । छाउगोठै नभएपछि त महिनावारीमा पनि महिलाहरू घरमा नसुती धरै छैन भन्ने सोचे तर परिणाम उल्टो निस्कियो । 

महिनावारी भएका महिला घरमा सुतेनन् । उनीहरू खुला आकाशमुनि, कान्ला र ओडारतिर पुगे । महिनावारी भएका बेलामा घर पस्नु हुँदैन, घरभित्रका केही चिज पनि छुनु हुँदैन, गाउँको धारा–कुवामा पनि जानु हुँदैन र यी कुरा नमाने देउताले दुःख दिन्छन् भन्ने सामाजिक–पारिवारिक मान्यतामा हुर्केका महिलाहरूले घर पस्ने आँट गरेनन् । घरका पुरुष सदस्यले पनि आँट दिएनन् । यसो भएपछि उनीहरू कान्ला र ओडातिर पुग्नुको विकल्प भएन । सधैँ यसरी चल्ने कुरा थिएन । कि घरमा सुत्नु प¥यो कि छाउगोठ नै चाहियो । अन्ततः साइपालको जगेरा गाउँका महिलाहरू नयाँ छाउगोठ बनाउने निष्कर्षमा पुगे । 

जगेराका महिलाले संयुक्त लगानीमा नयाँ साझा छाउगोठ बनाएका छन् । जस्ताको छाना हालेका छन् । अब महिनावारी हुँदा उनीहरू ओडारतिर जानुपर्ने छैन । अरू गाउँका महिलाले पनि जगेराको सिको गर्न थालेका छन् । छाउगोठमा सुत्न जानुपर्ने विभेदको प्रथा अन्त्य गरेरै छाड्ने गाउँपालिकाको प्रतिबद्धता छ । साइपाल एउटा उदारहण मात्रै हो । बझाङ जिल्लाभरि महिनावारीका समयमा महिलाको पीडा एउटै हो । र, बझाङ एक्लो जिल्ला पनि होइन । महिलामाथि चरम विभेदको यो अवस्था अन्त्य हुनै पर्छ । यसका लागि अनेक प्रत्यत्नहरू भइआएका छन्, गाउँगाउँमा जनचेतना अभिवृद्धिका कार्यक्रमदेखि संसदमा जरुरी सार्वजनिक महŒवको प्रस्तावसम्म । अवस्था बद्लिएको छैन । 

छाउपडी भनिने विभेदको यो प्रथा बितेका एक–दुई दशकमा विकास भएको होइन । थाहा नपाएको समयदेखिको हो । एउटा अनौठो अदृश्य विश्वासमा समाज जकडिएको छ । त्यसबाट जबरजस्ती बाहिर आउन सम्भव छैन भन्ने कुरा केही वर्षयताको अनुभवले प्रमाणित गरिसकेको छ । शिक्षाले चेतना अभिवृद्धिसँगै पुस्तान्तरण हुँदै जाँदामात्र यो प्रथा कमजोर बन्दै जानेछ । छाउगोठमा सुत्न जानु महिलाको मात्रै दोष होइन । पुरुष पनि सचेत र सहयोगी बन्न उत्तिकै आवश्यक छ । छाउगोठभित्र जति नै ज्यान गए पनि र जति नै अपराध भए पनि छाउगोठ भत्काउनु समाधान होइन । एउटा भत्काए अर्को बन्दो रहेछ । 

अहिलेका लागि सुरक्षित र व्यवस्थित छाउगोठ नै राम्रो विकल्प हो जहाँ महिलाहरूले आफ्नो रात सुरक्षित ठान्न सकून् । ढुक्कले रात बिताउन सकून् । यससँगै विद्यालय शिक्षादेखि प्रौढ शिक्षासम्म चनचेतना अभिवृद्धिमात्रै छाउपडी प्रथा अन्त्यको उपाय हुनसक्छ । साइपालको जगेरा गाउँ हेरे पुग्छ ।

Views: 121

सम्बन्धित सामग्री:

औपचारिकतामा सीमित निरीक्षण

: श्रावण ३, २०७६ (५:४२ AM)

वैदेशिक रोजगारी : जोखिमको भारी

: श्रावण २, २०७६ (५:४७ AM)

संसदबाट भाग्दै सरकार !

: श्रावण १, २०७६ (६:०३ AM)