24th August | 2019 | Saturday | 12:36:35 AM

मानवताविरुद्ध हमला

  POSTED ON : बैशाख १०, २०७६ (१०:२४ AM)

मानवताविरुद्ध हमला

दक्षिण एशियाली मुलुक श्रीलंकाको राजधानी कोलम्बोमा आइतबार शृंखलाबद्धरूपमा बम हमला भयो । पछिल्लो विवरणअनुसार कम्तीमा २९० जनाको मृत्यु भएको छ र ५०० जनाभन्दा बढी घाइते भएका छन् । इशाई धर्मावलम्बीको इस्टर चाडको प्रार्थना समयमा तीन वटा चर्च, विदेशीहरू रहेका ठूला तीन वटा होटल, चिडियाखाना जस्ता ठाउँमा विस्फोट भयो । 

दक्षिण एशियाका भारत, पाकिस्तान र अफगानिस्तान बारम्बार आतंकवादी हमलामा पर्दै आएका हुन् । सन् २००९ मा गृहयुद्ध अन्त्य भएयता तुलनात्मक रूपमा शान्त रहेको श्रीलंका अकल्पनीयरूपमा आतंकवादी हमलामा परेको छ । हमलाको जिम्मेवारी कसैले लिइसकेको छैन । जसले जुन उद्देश्यले गरे–गराएको भए पनि मानवताविरोधी हमला सर्वथा निन्दनीय छ । जति भत्र्सना गरे पनि कम हुन्छ । 

सन् २००८ नोभेम्बरमा भारतको मुम्बईमा भएको हमलामा १७४ जनाको ज्यान गएको थियो । सन् २०१४ को डिसम्बरमा पाकिस्तानको पेशावरमा भएको हमलामा १४१ जना मारिएका थिए । दक्षिण एशियाली यी मुलुकमा आतंकवादी हमलाका धेरै घटना भएका छन् । सन् २०१७ मेमा अफगानिस्तानको राजधानी काबुलमा जर्मन दूतावासनजिक भएको हमलामा १५० जना मारिएका थिए । 

मुम्बई हमलापछिको एक दशकमा आइतबार कोलम्बोमा भएको बम हमला सम्भवतः दक्षिण एशियामा सबैभन्दा ठूलो हो । घटना श्रीलंकामा भए पनि यो हमला केवल श्रीलंकामाथिको होइन, पूरै दक्षिण एशिया, विश्व र मानवतामाथिको हमला हो । यो घटना आगामी दिनका लागि खतरनाक संकेत हो । 

विश्वका थुप्रै मुलुक यस किसिमका मानवताविरोधी हमलाबाट पीडित छन् । यस्तैमा एकाएक मिसिन आइपुगेको छ दक्षिण एशियाली सानो मुलुक श्रीलंका । यस्तो आतंकवादी हमलाको सूचना–चेतावनी करिब एक महिनाअघि आएको थियो भन्ने समाचार आएको छ । यसबारे श्रीलंकाले समीक्षा गर्ला, सुरक्षा प्रबन्धमा कहाँ कमी कमजोरी भयो भन्ने लेखाजोखा गर्ला । 

यो हमलाको एउटा संकेत के हो भने जुनसुकै मुलुक जतिसुकै बेला यस प्रकारको हमलामा पर्न सक्छ । र, यो करिब अकल्पनीय नै हुनेछ । आतंकवाद सीमाहीनरूपमा जहाँ पनि भित्रभित्रै मौलाइरहेको हुन सक्छ । कोलम्बो हमलाबाट दक्षिण एशियाली सबै मुलुक र विश्वले लिनुपर्ने शिक्षा यही हो । आतंकवादविरुद्ध लड्न संयुक्त क्षेत्रीय प्रयासहरू भएका छन् तर यस्तो प्रयासमा कहाँ चुक भइरहेको छ, खोजी गर्ने बेला भएको छ । कुनै मुलुक वा क्षेत्रका लागि मात्रै होइन आतंकवाद विश्वशान्ति प्रयासमा ठूलो बाधक रही आएको छ ।

आतंकवाद विरुद्ध क्षेत्रीय एकता उत्तिकै जरुरी छ । दक्षिण एशियाली मुलुकहरूले यस पाटोबाट सोच्न जरुरी भएको छ । मुलुक भौगोलिक वा जनसंख्याका हिसाबले सानो वा ठूलो भन्ने कुरै रहेन, जतिबेला पनि हमलाको खतरा छ । कोलम्बो हमलाको जबरजस्त संकेत यही हो । आतंकवादले मौकै नपाउने गरी सुरक्षा प्रबन्ध मिलाउन आवश्यक भएको छ । शान्तिका लागि एकता आवश्यक छ । 


Views: 149

सम्बन्धित सामग्री:

प्रहार कताबाट ?

: भदौ ६, २०७६ (८:४४ AM)

जयशंकरको नेपालयात्रा

: भदौ ५, २०७६ (९:४९ AM)

कुबेलाको बाजा

: भदौ ४, २०७६ (९:१० AM)