22nd May | 2019 | Wednesday | 2:49:12 AM

जनताले जितेको दिन

  POSTED ON : बैशाख ११, २०७६ (६:२८ AM)

जनताले जितेको दिन

दोस्रो संयुक्त जनआन्दोलनले १३ वर्षअघि राजाको प्रत्यक्ष शासन अन्त्य गरी विघटित प्रतिनिधिसभा पुनस्र्थापना गराएको थियो । आन्दोलनकारी दलबाट प्रधानमन्त्री नियुक्त गरेर आन्दोलन साम्य बनाउने प्रयास असफल भएपछि राजा ज्ञानेन्द्र शाहले आन्दोलनको मागअनुसार प्रतिनिधिसभा पुनस्र्थापना गरेको घोषणा गरेका थिए । संविधान निष्क्रिय गराएर, जनताका प्रतिनिधि राजनीतिक दलहरूलाई पाखा लगाएर सशस्त्र द्वन्द्वका आडमा निरंकुश शासन चलाउने राजाको प्रयास असफल भएको थियो । जनताको जित भएको थियो । वैशाख ११ गते राजाको प्रत्यक्ष र निरंकुश शासन विरुद्ध लोकतन्त्रको जित भएको दिन हो । जनताको शक्तिले निरंकुशता पराजित गरेको ऐतिहासिक दिन हो । 

आजको दिन एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गराएर विद्रोही माओवादीलाई औपचारिक रूपमा शान्ति प्रक्रियामा ल्याएको दिन पनि हो । शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा माओवादी पनि सामेल थियो । जनआन्दोलनको सफलतापछि बृहत् शान्ति सम्झौता भयो जसले माओवादीलाई पुनस्र्थापित प्रतिनिधिसभामा सामेल गरायो । यसरी अघि बढेको आन्दोलनको शक्तिले मुलुकमा २४० वर्षदेखिको राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना ग¥यो । निर्वाचित जनप्रतिनिधिको संविधानसभाले जनताको संविधान बनायो । एउटा संविधानसभा असफल भए पनि त्यसले संविधान निर्माणको जग तयार ग¥यो, राजनीतिक दलहरूलाई अनुभव दियो । दलहरू राजनीतिक विचलनको गम्भीर अवस्था सहृमालेर अर्को संविधानसभाको निर्वाचन गराई संविधान बनाउन सफल भए । 

यो सफलताको जग २०६२÷६३ को शान्तिपूर्ण संयुक्त जनआन्दोलन र वैशाख ११ गतेको जित नै हो । त्यसैले वैशाख ११ लोकतन्त्रप्राप्तिको दिन हो, जनताको जित भएको दिन हो । निरंकुशता पराजित भएको दिन हो । 

वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको उत्सवका रूपमा मान्न थालिएको थियो । राजाले घोषणा गरेको दिनका रूपमा यस दिनको महŒवको अवमूल्य पनि त्यतिबेलै सुरु भएको हो । राजाले घोषणा गरेर लोकतन्त्र दिएका थिएनन् । उनी त जनताको शक्तिका सामु पराजित भएका थिए । उनको निरंकुशता पराजित भएको थियो । त्यसैले सच्चा लोकतन्त्रको दिन थियो । गणतन्त्रको जग पनि यही दिनले हालेको हो । यो दिन नेपाली जनताले राणा शासनका विरुद्धदेखि गरेका ठूला राजनीतिक आन्दोलनमध्येको एक हो । राजाको निरंकुशता अन्त्य र दशक लामो सशस्त्र द्वन्द्व अन्त्य दुवै दृष्टिले आजको दिन एउटा ऐतिहासिक दिन हो । 

राजनीतिले जनताको त्यो अजेय शक्तिको सम्मान र जनआन्दोलन सफलताको स्मरण गरेको हुनुपर्छ । यसो भएमात्र आजको संविधानको मर्म बुझेको ठहर्ने छ । शान्ति प्रक्रियाको बाँकी अंश टुंग्याउँदै र आजका असन्तुष्ट पक्षहरूलाई पनि समेट्दै अघि बढ्न सकेमात्र संविधानका अक्षर र भावना दुवैको कदर हुनेछ । साँच्चै समृद्धिको मार्ग तय हुनेछ ।


Views: 124

सम्बन्धित सामग्री:

समृद्धिमा बाधक

: जेठ ६, २०७६ (६:३४ AM)

नेकपाको एक वर्ष

: जेठ ३, २०७६ (६:४७ AM)

सरोकारवालाको उपेक्षा

: जेठ १, २०७६ (६:५१ AM)