25th May | 2019 | Saturday | 2:47:04 AM

फोरम–नयाँ शक्ति एकताको सन्देश

  POSTED ON : बैशाख २५, २०७६ (११:४२ AM)

फोरम–नयाँ शक्ति एकताको सन्देश

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई समाजवादी पार्टी नेपाल गठन भएको छ । गत संसदीय निर्वाचनदेखि नै गठबन्धन र एकीकरणको प्रयास भएको हो तर सफल हुन सकेन । मधेसको क्षेत्रीय नारा र राजनीतिबाट उदाएको मधेसी जनअधिकार फोरम संघीय समाजवादी फोरम हुँदै राजनीतिको दायरा बढाउँदै आएको पार्टी हो । उपेन्द्र यादव मधेसकै नाराले राष्ट्रिय राजनीतिमा आएका हुन् । दश वर्षे सशस्त्र युद्धबाट आएका कम्युनिष्ट नेता डा. बाबुराम भट्टराईले युद्ध लडेको दल छाडेर वैकल्पिक भन्दै नयाँ शक्ति पार्टी बनाएका थिए । निकै लामो प्रयासमा फरक पृष्ठभूमिका यी दुई पार्टी एकीकृत भए । 

गत स्थानीय र संसदीय निर्वाचनमा डा. भट्टराईको नयाँ शक्ति राष्ट्रिय पार्टी बन्न सकेन । भट्टराई एक्ला सांसद भए । उनको राजनीतिक शक्ति खुम्चियो । उनी आफ्नो राजनीतिक दायरा फराकिलो पार्न चाहन्थे । क्षेत्रीयताबाट उठ्दै गरेका यादव राजनीतिक शक्ति बढाउँदै आफ्नो दायरा अझ फराकिलो बनाउन चाहन्थे । राजनीतिक रूपमा दुवैको स्वार्थले एकीकरणमा प्रेरित गरेको हो । डा. भट्टराई संघीय संसदमा तेस्रो ठूलो दलका नेता भएका छन् । दुवै नेताले राजनीतिक सौदावजीको शक्ति बढाएका छन् । डा. भट्टराईले पुराना पार्टीले परिवर्तन संस्थागत गर्न नसक्ने ठहर गर्दै वैकल्पिक शक्तिका रूपमा नयाँ शक्ति पार्टी बनाएको भने पनि ‘शक्ति’ बन्न सकेको थिएन । 

यो एकीकरणले राष्ट्रिय राजनीतिमा पनि अर्थ राख्नेछ । संघीय संरचना र संविधान संशोधन लगायतका विषयमा नयाँ दलले लिने नीतिले अर्को बहसको थालनी गर्न सक्नेछ । एघार प्रदेशको कुराले तत्कालका लागि टुंगो लागेको ठानिएको प्रदेशको मुद्दा बल्झिन सक्नेछ । एकीकरण घोषणामा सार्वजनिक भएका धारणाले यसतर्फ संकेत गरेको छ । एकीकरणको सकारात्मक पक्ष के छ भने सत्ता वा विपक्ष जता रहे पनि साना दलहरूको एकीकरणले सो पक्षलाई सुदृढ गर्न मद्दत पु¥याउँछ । संवैधानिक दायराबाट सकारात्मक परिवर्तनका लागि सक्रिय भए एकीकृत दल वैकल्पिक शक्ति बन्न सक्छ । ससाना छरपष्ट दलहरूलाई एकीकृत शक्तिका लागि एकता गर्न प्रेरित पनि गर्छ । 

हाम्रा राजनीतिक दलहरू स्वार्थी टुटफुट र जुटका पारखी छन् । संघीय समाजवादी फोरम टुटफुटको हण्डर खाँदै आजको अवस्थामा आइपुगेको हो । मधेसको राजनीतिबाट उदाएका दलहरूले टुटफुट बढी नै भोगेका छन् । सिद्धान्तका आधारमा नभई सत्ताभोग र अनेक व्यक्तिगत स्वार्थले प्रेरित भएर फुटेका छन् । फरक पृष्ठभूमिबाट एकीकृत संघीय समाजवादी पार्टीले लिने राजनीतिक सिद्धान्त र उसको भावी गन्तव्यले मात्रै भविष्य निर्धारण गर्नेछ । साँच्चै अग्रगामी सोच र दृढ संकल्पका साथ एकीकृत भएका हुन् भने मात्रै स्थायित्व प्राप्त गर्नेछ । वैकल्पिक शक्ति बन्ने आकांक्षाका साथ राष्ट्रिय राजनीतिमा शक्ति बढाउनु सकारात्मक छ । लहडले मात्रै कुनै नेताले विकल्प दिन सक्दैन भन्ने सन्देश पनि यो एकीकरणले दिएको छ । 



Views: 124

सम्बन्धित सामग्री:

समृद्धिमा बाधक

: जेठ ६, २०७६ (६:३४ AM)