25th May | 2019 | Saturday | 3:32:18 AM

आफ्नै जागरण अभियान

  POSTED ON : बैशाख २६, २०७६ (९:३७ AM)

आफ्नै जागरण अभियान

मुख्य विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नाम छ– ‘हिमाल, पहाड, तराई–मधेस : नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ । नेपाली कांग्रेस आन्तरिक कलहमा रुमलिँदै आएको छ । कांग्रेसमा कलह नयाँ घटना होइन तर पछिल्लो कालखण्डमा झन् सघन हुँदै गएको छ । नेताहरू अनेकतिर फर्केका छन् । कतिपय अवस्थामा कुनै खास विषयमा पार्टीको आधिकारिक धारणा के हो भन्नेमै अलमल भएको देखिन्छ । आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको टिप्पणी कांग्रेसकै नेताहरूले गर्ने गरेका छन् । विपक्षी दलका रूपमा भूमिका बलियो बनाउन नसकेको भन्ने टिप्पणी पनि हुँदै आएको छ । 

करिब पाँच महिनाअघि सम्पन्न महासिमिति बैठकका निर्णय–सुझाबका विषयमै पार्टीमा फरक–फरक बुझाइ बनेको छ । फलस्वरूप विधान नै विवादमा परेको छ । केन्द्रीय समिति बैठकको निर्णयमा कतिपय नेताहरूले फरक मत लेखेका छन् । नेताहरूले अब हुने महाधिवेशनलाई ध्यानमा राखेर आआफ्नै ढंगले दौडाहा र कार्यकर्ता भेट गर्न थालेका छन् । शीर्ष नेताहरूबीच संवाद कमजोर बन्दै गएको छ । जनताको विश्वास गुमेको छ । अर्को निर्वाचनसम्ममा अझ कमजोर हुने अनुमान गर्नेहरू पनि कम छैनन् । समग्रमा कांग्रेस आन्तरिक रूपमा एउटा विषम परिस्थितिमा छ । यस्तै अवस्थामा कांग्रेस जागरण अभियानमा जुटेको छ । 

तीन चरणमा आगामी पुस दोस्रो सातासम्म चल्ने अभियानमा कांग्रेस दुई मुख्य उद्देश्य देखिन्छन् । कांग्रेसकै नीति, कार्यक्रम र भावी दिशालगायत जानकारी गराउँदै आमनागरिकसँग संवाद गर्नु र सरकारका नकारात्मक गतिविधि बारे जानकारी गराउनु । आन्तरिक कलह बिर्सेर नेताहरू कार्यकर्ता, शुभेच्छुक र आमनागरिकमा एक स्वरमा प्रस्तुत हुनसके र आफ्नो सन्देश प्रष्ट प्रवाह गर्न सके भने अभियान लाभदायक हुनेछ । यसो भयो भने कांग्रेसले सरकारको भन्दा आफ्नो कुरा बढी प्रवाह गर्न सक्नेछ । पार्टीमा हुने आन्तरिक प्रतिस्पर्धाबारे जानकारी नहुने दुनियाँमा कोही छैन । कलह र प्रतिस्पर्धा फरक कुरा हो । पार्टी नीतिमा साझा धारणाले एकताको सन्देश प्रवाह हुनेछ । 

इतिहासको गौरव बयानले मात्रै कांग्रेसले आफ्नो साख फिर्ता गराउन सक्नेछैन । अभियानमा सरकारको आलोचनामात्रै पनि पर्याप्त मुद्दा हुनेछैन । आमनागरिकलाई आकर्षण गर्ने भावी नीति र कार्यक्रमले हो । अभियानको सफलता यसमै भर पर्नेछ । कांग्रेस जागै छ र मुलुकको नेतृत्वका लागि सक्षम छ भन्ने सन्देश पु¥याउन सकेमात्रै अभियान लाभदायक हुनेछ । प्रचारअनुसार आफ्नै लागि कांग्रेसले गरेको यो अभियान बृहत् कार्यक्रम हो । आफ्ना लागि आफैँले सिर्जना गरेको अपूर्व अवसर हो । यसले नेताहरूलाई सोझै आमनागरिकमा पु¥याउनेछ । नेताहरूले यसको संस्थागत उपयोग गर्न सके भने अविश्वास चिर्न केही हदसम्म सहयोगी हुन सक्नेछ ।

आन्तरिक कलहको कुण्ठा, घोचपेच र छरपष्ट अभिव्यक्तिले पार्टीलाई हानी पु¥याउनेछ । सिद्धान्त, नीति तथा कार्यक्रम र तथ्यपरक विषयवस्तुमात्रै कांग्रेसले आफूलाई जनतामाझ पुनस्र्थापित गर्न सक्नेछ । अभियानको सार्थकता पनि यसमै भर पर्नेछ । 


Views: 145

सम्बन्धित सामग्री:

समृद्धिमा बाधक

: जेठ ६, २०७६ (६:३४ AM)