25th May | 2019 | Saturday | 2:36:58 AM

सभामुखको भूमिका

  POSTED ON : बैशाख २७, २०७६ (११:२१ AM)

सभामुखको भूमिका

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूका प्रश्नको जवाफ दिन उभिएका प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी सांसदहरूबीच चर्को सवाल–जवाफ भयो । प्रधानमन्त्रीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्ति वास्ता नगरेर प्रश्नको जवाफ दिन्छु’ भनेपछि विपक्षी कांग्रेसका सांसदले नियमापत्ति गरे । बैठकमा नारावाजी भयो । कांग्रेस सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरीत भएको आरोप लगाउँदै रेकर्ड मेटाउन माग गरे । प्रधानमन्त्रीकै बोली संसदको रेकर्डबाट मेटाउन माग हुनु अप्रिय अवस्था हो । सभामुखले न रेकर्ड मेटाउन निर्देशन दिए न विपक्षी सांसदको चित्त बुझाउन सके । 

विपक्षीको नाराबाजीमै सभामुखले प्रधानमन्त्रीलाई बोल्न अनुमति दिए । प्रश्नको जवाफ दिन उभिएका प्रधानमन्त्री ओलीले नारावाजी गरिरहेका सांसदहरूलाई भने–माननीयहरूलाई प्रश्नको जवाफ चाहिएको छ कि छैन, म जान्न चाहन्छु । उनले ‘मर्यादित ढंगको व्यवहार गर्न सिक्नुस्’ भन्ने निर्देशन पनि दिए । 

संसद बैठकको नियम र प्रचलन के हो भने बोल्न उभिएको व्यक्तिले आफ्नो भनाइ जारी राख्छ वा अवरोध भए सभामुखको आदेश पर्खिन्छ । अन्यथा सवाल–जवाफ हुँदैन । सांसदहरूले जवाफ पाउनकै लागि प्रश्न सोधेका हुन्छन् । त्यसको जवाफ दिनु प्रधानमन्त्री र मन्त्रीको कर्तव्य हो, अनिवार्य जिम्मेवारी हो । जवाफ दिने अधिकारीले जवाफ चाहिएको हो कि होइन भनेर सोध्नु आवश्यक होइन । सोध्नै परे बैठकको अध्यक्षता गर्ने सभामुखले सोध्ने हो । मर्यादित व्यवहार भएको छ कि छैन भनेर थाहा पाउने र निर्देशन दिने पनि सभामुखले नै हो । मर्यादा नाघ्नेलाई दण्ड गर्ने पनि सभामुखले नै हो । 

प्रधानमन्त्री ओलीले विपक्षी सांसदहरूले अमर्यादित शब्द बोलेका छन् भन्ने प्रमाणित गर्न संसदका रेकर्डहरू सुन्न चेतावनी पनि दिए । ‘प्रश्नको जवाफ चाहिएको हो कि होइन, मर्यादित व्यवहार गर्न सिक्नुस्, रेकर्ड सुनौँ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले प्रकारान्तरले सभामुख कृष्णबहादुर महराको भूमिकामाथि प्रश्न उठाएको छ । र, सभामुखले मर्यादित ढंगले बैठक सञ्चालन गर्न नसकेको भन्ने सन्देश दिएको छ । यसो होइन भने प्रधानमन्त्री आफैँ प्रश्न, निर्देशन र चेतावनीतिर लाग्ने थिएनन् । सभामुखको आदेश पर्खिने थिए । विपक्षी सांसहरूले पनि सभामुखको भूमिकामै प्रश्न उठाएका हुन् । यस अर्थमा प्रधानमन्त्री ओली र विपक्षी सांसदहरूको एकमत भएको छ ।

विपक्षी राजपा नेपालका सांसदहरूले सभामुखको भूमिकामा प्रश्न उठाउँदै नीति तथा कार्यक्रममाथि संशोधनको आफ्नो प्रस्ताव फिर्ता लिने वा नलिने निर्णय गर्न नसक्ने जानकारी गराए ।  

बैठकमा सभामुख महराले विपक्षी सांसदहरूले उठाएका प्रश्न र उनीहरूका आग्रहमा ध्यान दिन आवश्यक ठानेन् । उनले अवरोधकै बीच सरकारको नीति तथा कार्यक्रम पारित गराए । नियमअनुसार बैठक सञ्चालन गर्ने र मर्यादा कायम गर्ने जिम्मेवारी सभामुखको हो । सभामुखलाई संविधान र संसद नियमावलीले अधिकारसम्पन्न बनाएको छ । सन्तुलित र प्रभावकारी व्यवहारले मात्रै सभामुखलाई साझा र सम्मानित बनाउँछ । सभामुख महराले आफ्नो कर्तव्य, जिम्मेवारी, अधिकार र आफूले निर्वाह गर्दै आएको भूमिकाको सम्यक समीक्षा गरेर सुधार गर्न सकेनन् भने प्रतिनिधिसभा अव्यवस्थित बन्नेछ । यसो भयो भने हाम्रो पद्धतिमाथि नै गम्भीर क्षति पुग्नेछ ।   


Views: 172

सम्बन्धित सामग्री:

समृद्धिमा बाधक

: जेठ ६, २०७६ (६:३४ AM)