23rd August | 2019 | Friday | 11:47:34 PM

बजेटका प्राथमिकता

  POSTED ON : बैशाख ३०, २०७६ (४:४२ PM)

बजेटका प्राथमिकता

संघीय संसदमा बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थात प्रिबजेट छलफल चल्दैछ । यसपालि सरकारले नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल चलायो । नीति तथा कार्यक्रम बजेटको आधार मानिन्छ । यसकारण प्रिबजेट फलफल नीति तथा कार्यक्रमभन्दा पहिले नै हुनु सान्दर्भिक मानिएको हो । नीति तथा कार्यक्रमले बजेटको दिशा निर्देश गरेपछि प्रिबजेट छलफलको सीमा स्वतः निर्धारण हुने भयो । सम्भवतः सरकार यसपालि प्रिबजेट छलफललाई यही सीमाभित्र राख्न नीति तथा कार्यक्रम पारित गराएर प्रिबजेटतिर प्रवेश गरेको हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ सम्बन्धमा जवाफ दिने क्रममा ‘नमिलेको कुरा मिलाएको’ भनेका थिए । प्रिबजेट छलफल पनि यसकै अर्को कडी हुनसक्छ । 

हाम्रो अर्थतन्त्रका मुख्य दुई ठूला समस्या छन्– बेरोजगारी र झण्डै वार्षिक बजेट बराबरको व्यापारघाटा । उत्पादनका क्षेत्रहरूको विविधीकरण नभई रोजगारी बढ्दैन । उत्पादन वृद्धि नभई व्यापारघाटा कम हुँदैन । युवा जनशक्तिको ठूलो अंश रोजगारीका लागि विदेशमा छ । उपयुक्त रोजगारी र श्रमको उचित मूल्य नपाएका कारणले अदक्ष र अर्धदक्ष जनशक्ति विदेशिने गरेको छ । ती युवाहरूले पठाएको रकमले परिवारको क्रय क्षमता बढाउँदा उपभोग बढेको छ । यसले आयात बढाउँदा व्यापारघाटा बढाउन मद्दत गरेको छ । उत्पादन बढाउन उत्पादनका क्षेत्रहरू विस्तार हुनुप¥यो, प्रतिस्पर्धी उत्पादन हुनुप¥यो । यसो भएपछि आयात घट्छ, निर्यात बढ्छ । व्यापारघाटा कम हुँदै जान्छ । 

हाम्रो बजेटको मुख्य प्राथमिकता उत्पादन वृद्धि नै हुनुपर्छ । हाम्रो उत्पादनको एउटा मुख्य क्षेत्र कृषि हो तर कृषिमा आकर्षण छैन । कृषि व्यावसायिक पेशा बन्न सकेको छैन । कृषिको ठूलो हिस्सा परम्परागत र निर्वाहमुखी छ । लगानी उठ्ने र मुनाफासमेत हुनेगरी उत्पादन हुन्छ भन्ने विश्वास कृषकलाई छैन । कृषिका केही क्षेत्रहरू व्यावसायिक बन्दैछन् तर जोखिम व्यहोर्न उपयुक्त बिमाको व्यवस्था सबै क्षेत्रमा विस्तार हुन सकेको छैन । मल, बिउ, प्रविधि, ऋण लगायतमा आमकृषकको पहुँच न्युन छ । सिँचाइ सुविधाको अभाव छ । धान, गहुँ, मकैजस्ता हाम्रा आधारभूत उत्पादनमै आयात बढ्दै गएको छ । कृषिमा उत्पादन वृद्धि हाम्रो प्रमुख प्राथमिकता हुनुपर्छ । 

औद्योगिकीकरण फटाफट एक–दुई वर्षमा हुने होइन । औद्योगिक वातावरणले लगानी आकर्षण गर्छ । लगानीकर्ताले लगानी सुरक्षा र मुनाफामा विश्वासको वातावरण खोजेको हुन्छ । पूर्वाधार विकास उत्तिकै महŒवपूर्ण हुन्छ । हाम्रो बजेटले प्रतिस्पर्धी औद्योगिक उत्पादन वृद्धिमा जोड दिएको हुनुपर्छ । यसो भयो भने रोजगारी बढ्छ । पर्यटन अर्को मुख्य क्षेत्र हो । स्वरोजगारीका मुख्य क्षेत्र हुन् कृषि र पर्यटन । विकास–निर्माण नियमित काम छँदैछ । शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत क्षेत्र पनि बजेटको प्राथमिकतामा परेको हुनुपर्छ । बढ्दो साधारण खर्चले पुँजीगत खर्चको परिमाण घटाउँदै लगेको छ । यो अर्को ठूलो समस्या हो । फजुल खर्च नियन्त्रण अनिवार्य छ । हाम्रो बजेट वितरणमुखी हुँदै गएको छ । वितरण बढाउन उत्पादन बढ्नुपर्छ । 


Views: 195

सम्बन्धित सामग्री:

प्रहार कताबाट ?

: भदौ ६, २०७६ (८:४४ AM)

जयशंकरको नेपालयात्रा

: भदौ ५, २०७६ (९:४९ AM)

कुबेलाको बाजा

: भदौ ४, २०७६ (९:१० AM)