24th August | 2019 | Saturday | 12:36:48 AM

बाल विवाहविरुद्ध पुर्चौडी

  POSTED ON : बैशाख ३१, २०७६ (१२:२९ PM)

बाल विवाहविरुद्ध पुर्चौडी

बाल विवाह कानूनले बन्देज गरेको छ, दण्डनीय छ । बिहेका लागि महिला र पुरुष दुवै कम्तीमा २० वर्ष उमेर पूरा भएको हुनुपर्ने कानुनी प्रावधान छ । वर्षौंअघि बन्देज लागेको भए पनि बाल विवाह अन्त्य भएको छैन । दुर्गम क्षेत्रहरू तथा पिछडिएका समुदायमा बाल विवाह हुने गरेको छ । बाल विवाह अन्त्यका लागि किशोरी विद्यार्थीहरूका समूह, आमा समूह तथा विभिन्न गैरसरकारी संस्थाहरूले काम गर्दै आएका छन् । यसमा थपिएका छन् स्थानीय तह । सुदूर पश्चिम बैतडीको पुर्चौडी नगरपालिकाले बाल विवाह विरुद्ध अनुकरणीय अभियान थालेको छ । 

नगरपालिकाले सबै वडामा ‘किशोरी वृत्त’ नाम राखेर किशोरीहरूको समूह बनाएको छ । नगरपालिकाले वडामा २० वर्ष उमेर पूरा नभएका छोरी भएका घरमा एउटा हरियो झण्डा राखेको छ । झण्डामा लेखिएको छ– बाल विवाह गर्नु अपराध हो, बिहेबारी २० वर्ष पारि, पढाइ कार्य निरन्तर जारी । यो हरियो झण्डाले यो घरकी छोरीको बिहे गर्ने उमेर भएको छैन भन्ने संकेत गर्छ र त्यसमा लेखिएको सन्देशले २० वर्ष पूरा नभई बिहे गर्नु र गराउनु हुँदैन भन्ने सम्झाइराख्छ । किशोरी वृत्तका सदस्यहरूले बिहे गर्ने उमेर नपुगेका छोरी भएका घरमा गएर अभिभावकलाई बाल विवाहबाट हुने हानीका बारे सम्झाउँछन् । 

कानूनले बाल विवाह बन्देज गरेर दण्डनीय बनाएको भए पनि अपेक्षाअनुसार कम हुन सकेको छैन । छोरीको बिहे छिटै गरिदिनुपर्छ भन्ने परम्परागत धारणा, छोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको कमी, कानूनी व्यवस्थाबारेको अज्ञानता लगायतका कारणले बाल विवाह हुने गरेको छ । महिलाको आत्मनिर्भरताका लागि बाल विवाह बाधक छ । कम उमेरमा सुत्केरी हुँदा आमा र शिशुको स्वास्थ्यमा समस्या हुने गरेको छ । यसले मातृ मृत्यु तथा शिशु मृत्यदर बढाउन मद्दत गरेको छ । र, सबैभन्दा धेरै महिलामाथि विभेद सिर्जना गर्न सहायक भएको छ । बाल विवाह अन्त्य आवश्यक छ । 

पुर्चौडी नगरपालिकाको अभियान सराहनीय र अनुकरणीय छ । अन्य स्थानीय तहहरूले पनि बाल विवाह न्युनीकरणका लागि काम थालेका छन् । प्रदेश २ ले ‘बेटी बचाउ, बेटी पढाऊ’ अभियान नै सुरु गरेको छ । यस्ता अभियानहरू प्रभावकारी हुन परिवारसम्मै सन्देश पुग्नु आवश्यक हुन्छ । पुर्चौडी नगरपालिका हरियो झण्डा लिएर घरपरिवारमै पुगेको छ । वडाका किशोरीहरूलाई नै परिचालन गरेको छ । यो अभियान जनचेतना अभिवृद्धिका लागि बढी प्रभावकारी हुन सक्नेछ । बाल विवाहका अनेक कारणहरू पहिल्याउन सकिन्छ तर मुख्य कारण जनचेतनाको अभाव नै हो । जनचेतना अभिवृद्धि नै बाल विवाह अन्त्यको मुख्य उपाय हो । 

पुर्चौडीको अभियान अन्य स्थानीय तहहरूले पनि अनुकरण गर्नुपर्छ । टोल टोलमा विस्तार हुनुपर्छ । चेतना अभिवृद्धि अभिभावक र बालबालिका दुवैमा उत्तिकै आवश्यक छ । किशोर किशोरीहरूले २० उमेर नपुगी किन बिहे गर्नु हुँदैन भन्ने कुरा जुन गतिमा थाहा पाउँछन् उही गतिमा बाल विवाह न्युनीकरणमा मद्दत पुग्नेछ र अन्त्य हुन सक्नेछ । पुर्चौडी अनुकरणीय छ । 


 

 


Views: 177

सम्बन्धित सामग्री:

प्रहार कताबाट ?

: भदौ ६, २०७६ (८:४४ AM)

जयशंकरको नेपालयात्रा

: भदौ ५, २०७६ (९:४९ AM)

कुबेलाको बाजा

: भदौ ४, २०७६ (९:१० AM)