27th June | 2019 | Thursday | 4:59:07 PM

समृद्धिमा बाधक

  POSTED ON : जेठ ६, २०७६ (६:३४ AM)

समृद्धिमा बाधक

यति बेला देशको कुल व्यापारघाटा १० खर्ब १० अर्ब ३३ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको ८ महिनामा जम्मा ६१ अर्ब रुपैयाँको निर्यात भएको छ । आयात र निर्यातको अवस्था कस्तो छ भने हामीले विदेशबाट सय रुपैयाँ कारोबारमा ९४ रुपैयाँको सामान विदेशबाट किन्दा जम्मा ६ रुपैयाँको बेच्ने गरेका छौँ । हामीले बेच्ने सामान बढेको छैन । कुनै कुनैमा बढेको भए पनि त्यो नगन्य छ । विदेशबाट किन्ने क्रम भने बढेको बढ्यै छ । त्यसैले वर्षेनी हाम्रो व्यापारघाटा बढ्दो छ । मुलुकको आयको ठूलो हिस्सा विदेश गइरहेको छ । शोधनान्तर घाटा बढेको बढ्यै छ ।  

जबसम्म व्यापारघाटा कम हुँदै सन्तुलनको अवस्था आउँदैन तबसम्म मुलुकमा साँचो अर्थमा समृद्धि सम्भव छैन । नेपालले निर्यात नै गरिहाल्न नसके पनि आयात घटाउन सक्ने क्षेत्रहरू धेरै छन् । नेपालले खाद्यान्नमा चामल मात्रै वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढीको आयात गर्ने गरेको छ । चामलमा नेपाल आत्मनिर्भर बन्न नसक्ने होइन । नेपालले करिब चार दशकअघिसम्म धान–चामल निर्यात नै गरेको हो । तरकारी, फलफूल लगायतका अन्य कृषि उत्पादन पनि ठूलो परिमाणमा आयात हुने गरेको छ । कृषि वस्तुको उत्पादन बढाएर आयात घटाउन सम्भव छ । कृषि उत्पादन बढाउन धेरै ठूलो लगानीभन्दा सरकारबाट सहजीकरण र प्रोत्साहन आवश्यक छ । 

आधुनिक प्राविधिक वस्तुको प्रयोग हृवात्तै बढेको छ । आम्दानीको निकै ठूलो हिस्सा उपभोगमा खर्च हुन थालेको छ । उपभोक्ताहरूको क्रयशक्ति बढ्दै गएको छ । यसले आयात प्रोत्साहित गरेको छ । आधुनिक, प्राविधिक र विलासिताका वस्तुका लागि हामी पूर्णरूपमा आयातमा भर परेका छौँ । हामीले गर्नसक्ने कृषि उत्पादनमै आत्मनिर्भर हुन नसकेको अवस्थामा प्रतिस्पर्धी औद्योगिक वस्तु उत्पादन र निर्यात निकै टाढाको कुरा हो । उत्पादन र उपभोगको प्रवृत्ति हेर्दा समग्रमा आयात घट्ने अवस्था देखिँदैन । हाम्रा लागि व्यापार सन्तुलन निकै टाढाको कुरा हो । दीर्घकालीन कार्ययोजनाका साथ उत्पादन वृद्धि गर्दै क्रमशः व्यापारघाटा न्युनीकरण आजको मुख्य आवश्यकता हो । 

सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा छ । सरकार वैदेशिक लगानी बढाउन क्रियाशील छ तर यसमा उत्साहको अवस्था देखापरेको छैन । स्वदेशी लगानीकर्ताहरूमै पनि उति उत्साह देखिँदैन । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन नसकेको देखिन्छ । बजेटका लागि निजी क्षेत्रले सरकारलाई दिएका सुझाबले पनि यस्तो संकेत गरेको छ । स्वदेशी लगानीकर्ता नै विश्वस्त हुन नसके वैदेशिक लगानी सहज हुँदैन । आगामी बजेटले उत्पादन वृद्धि र आयात न्युनीकरणका लागि लिने नीतिले भविष्यको संकेत गर्नेछ । हाम्रो अर्थ व्यवस्थाको एउटा ठूलो समस्या ठूलो परिमाणको व्यापारघाटा नै हो ।


Views: 136

सम्बन्धित सामग्री:

भ्रष्टाचार नगर्ने मन्त्र !

: असार १२, २०७६ (६:०८ AM)

विरोधप्रति असहिष्णुता

: असार ११, २०७६ (७:०० AM)

मनसुनी विपद्

: असार १०, २०७६ (७:१६ AM)