19th September | 2019 | Thursday | 9:27:13 PM

संकटमा मानव

  POSTED ON : जेठ २२, २०७६ (११:१९ AM)

संकटमा मानव

विश्वको प्राकृतिक वातावरण खस्कँदो स्थितिमा छ । बढ्दो कार्बन उत्सर्जन र कृत्रिम क्लोरोफ्लोरो कार्बनको बढ्दो प्रयोगले विश्वतापमान (ग्लोबल वार्मिङ) बढ्दो क्रममा छ । प्रकृतिका हजारौँ प्राणी र वनस्पति संकटापन्न अवस्थामा छन् । कति लोप हुने क्रममा छन् । बहुउपयोगी कीरा मौरी मासिने क्रममा छ । बाघ र सिंहजस्ता ठूला मांसाहारी र हात्ती, गैँडाजस्ता ठूला शाकाहारी जनावर लोपोन्मुख छन् । उत्पादकत्व बढाउन रासायनिक मल र कीटनाशक तथा झारनाशक विषादीको बढ्दो प्रयोगले कृषिभूमिको गुणस्तर नष्ट गर्दै लगेको छ । अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिवस्ता घटनाहरू बढेका छन् । जमिनमुनि पानीको सतह घट्दो क्रममा छ । कतिपय ठाउँमा कहिल्यै नभएको गर्मी हुन थालेको छ । 

विश्वको प्राकृतिक वातावरण विनाशको असर हाम्रो देश नेपालमा पनि परेको छ । हामीले पनि वातावरण विनाशमा नगन्य नै भए पनि मद्दत गरेका छौँ । दुई ठूला औद्योगिक मुलुकले उत्पादन गरेको प्रदूषणको र ग्लोबल वार्मिङको प्रभाव बीचमा रहेको नेपालमा नपर्ने कुरै भएन । परिणामस्वरूप हाम्रो हिमरेखा क्रमशः माथि सर्दैछ । हिमालमा हिउँ पातलो हुँदैछ । क्रमशः हिमालहरू काला चट्टानमा परिणत हुने क्रममा छन् । हिमनदीहरू छहरा र हिमतालमा परिणत हुन थालेका छन् । हिमतालहरूको आयतन बढ्दो क्रममा छ । यसको अर्थ हो, हिमालको हिउँ तीव्र गतिमा पग्लिँदो छ । हो अवस्था नेपालका लागिमात्रै हो नेपालबाट बगेर गएको पानीमा भर परेको ठूलो जनसंख्याका लागि खतराको घण्टी हो ।  

बढ्दो जनसंख्याको आवश्यकता पूरा गर्न प्राकृतिक स्रोतको अधिक दोहन र बढ्दो औद्योगिकीकरणले भएको कार्बन डाइअक्साइड तथा अन्य हानिकारक ग्यास उत्सर्जनले ग्लोबल वार्मिङमात्रै बढाएको छैन, ओजन तहको विनाश बढेको छ । कतिपय ठाउँमा ओजन तह हानिकारक विकिरण रोक्न नसक्ने गरी पातलिएको भन्ने रिपोर्ट छ । वनजंगलको विनाश बढ्दो छ । पानीको स्रोत घट्दो छ । जमिनमा मरुभूमीकरण बढ्दो छ । एक दशकअघि भ्यागुत्ता पाइने ठाउँमा अहिले छैन, उन्यु पाइने ठाउँमा उन्यु छैन । खाद्य वनस्पति र उपयोगी घरपालुवा जनावरका रैथाने जात तीव्र गतिमा मासिँदै छन् । अन्ततः यसको परिणाम हो– मानव अस्तित्वमा संकट । यो संकटको चेतावनी वैज्ञानिकहरूले दिइसकेका छन् । 

प्राकृतिक वातावरणमा यो निकै ठूलो खतराको अवस्था हो । प्राकृतिक वातावरण विनाशको अन्तिम परिणाम हो– मानव जातिको विनाश । बढ्दो ग्लोबल वार्मिङ र प्राणी तथा वनस्पतिका प्रजातिको तीव्र विनाश त्यही परिणामको पूर्वसंकेत हो । यो भावि संकटका प्रति विश्व समुदाय बेखर छैन, वैज्ञानिकहरूले भारी चेतावनी दिएका छन् तर निर्णायक राजनीतिक पक्ष गम्भीर छँदै छैन । शक्तिको र भौतिक सुविधाको होडबाजीले प्राकृतिक वातावरणको यो विनाश र मानव अस्तित्वमाथिको संकट ओझेलमा परेको छ । संरक्षणका लागि विश्व समुदायको संयुक्त प्रयास आवश्यक छ । हालका प्रयासहरू पर्याप्त छैनन् । अन्तर्राष्ट्रिय प्रोटोकलहरू पालनामा गम्भीरता छैन । आफ्नै प्रजातिको अस्तित्व संकटमा राखेर शक्तिको होड आत्मघाती छ । 

भनिन्छ– अन्तिम रूख र अन्तिम खोलो सुकेपछि हाम्रो पैसाले केही पनि खरिद गर्दैन । आज विश्व वातावरण दिवसका दिन विश्व समुदायले यति सम्झिन सके हुन्थ्यो ।  



Views: 100

सम्बन्धित सामग्री:

अक्षमतातिर संक्रमणकालीन न्याय

: आश्विन २, २०७६ (१०:०० AM)

सभामुखको मन्त्र

हिमालय टाइम्स : आश्विन १, २०७६ (९:४५ AM)

शहरकेन्द्रित सहुलियत

: भदौ ३१, २०७६ (१०:०५ AM)