27th June | 2019 | Thursday | 5:11:00 PM

कांग्रेसको उल्टो जागरण

  POSTED ON : जेठ २८, २०७६ (६:५२ AM)

कांग्रेसको उल्टो जागरण

विपक्षी दल नेपाली कांग्रेको पहिलो चरणको एक महिने ‘राष्ट्रिय जागरण अभियान’ सकिएको छ । केन्द्रीय नेताहरूले पार्टीको सिद्धान्त, विधान, कार्यक्रम लगायतका कुरा कार्यकर्ताको तहसम्म पु¥याएर जागरण ल्याउने अभियानको मोटामोटी उद्देश्य बताइएको थियो । वर्तमान सरकारका ‘गलत क्रियाकलाप’ बारे जनतालाई जानकारी गराउने पनि बताइएको थियो । खासगरी तीन तहको निर्वाचनमा हारबाट खुम्चिएपछि कांग्रेसको संस्थापन पक्षले अभियानलाई जनतासम्म पुग्ने उपायका रूपमा बुझेको थियो । सबै केन्द्रीय नेताहरूले एकै स्वर गर्न सकेका भए अभियान फलदायी पनि हुन सक्थ्यो । नेताहरूले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम लगायतमा एकताको सन्देश दिन सक्थे । स्वस्थ प्रतिस्पर्धाको सन्देश दिन सक्थे ।  

राजधानी काठमाडौंमा राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहमै सभापति शेरबहादुर देउवाले ‘कोइरालाको विरोध गर्न किन नहुने’ भन्दै तिक्तता प्रकट गरे । उनको अभिव्यक्तिले एकताको होइन विग्रहको सन्देश दियो । अभियानका सबैजसो नेताहरू सहभागी भए पनि उनीहरूले पार्टीको भन्दा बढी आफ्नो सन्देश सुनाए । संस्थापन र विपक्ष दुवैले एक–अर्काको विरोध गर्ने अवसरका रूपमा अभियानको मञ्च उपयोग गरे । संस्थापनका विपक्षी नेताहरूले चौधौँ महाधिवेशन पर सार्ने प्रपञ्चका रूपमा जागरण अभियान आएको आरोप लगाए । अभियानको कार्यक्रममा जम्मा भएका धेरैजसो कार्यकर्ताहरूले ‘नेताहरू आफैँमा जागरण ल्याउन र एकताको सन्देश लिएर आउन’ सुझाव दिए । 

कतिपय कांग्रेस नेताहरूको टिप्पणी छ– जागरण अभियानका लागि समय र सन्दर्भ ठिक भएन । केन्द्रीय नेताहरूमा चरम विग्रह देखिएका बेला आयोजित अभियानले पार्टीको सन्देश एकताबद्ध रूपमा पु¥याउन सकेन । सुल्झिन नसकेका कतिपय विषयमा नेताहरूसँग ठोस सन्देश र जवाफ थिएन । महासमिति बैठकका सुझाव र परिमार्जित विधानबारे समान धारणा थिएन । कार्यकर्ता र सर्वसाधारण नागरिकका लागि के के सन्देश लिएर जाने भन्नेमा पनि अभियान प्रष्ट थिएन । लामो समयदेखि राजधानीमा खुम्चिएको कांग्रेस कार्यकर्ता र जनताको आधारभूत तहसम्म जाने अवसर थियो जागरण अभियान तर अवसरको सदुपयोग हुन नसकेको टिप्पणी कांग्रेसभित्रै भइरहेको छ । नेताहरू आआफ्नै कुरा लिएर गए । 

जागरण अभियानका दुई चरण बाँकी छन् । पहिलो चरणको संस्थागत समीक्षा गरेर कमीकमजोरी सच्याउँदै फर्किने अवसर छ । जागरण अभियानको मञ्च पक्ष–विपक्षको समर्थन र विरोधका लागि प्रयोग हुँदा अभियानको परिणाम प्रत्युत्पादक हुन्छ भन्ने कुरा नेताहरूले बुझेको हुनुपर्छ । पार्टीभित्रको स्वस्थ प्रतिस्पर्धा र एक–अर्कालाई निस्तेज गर्ने चालबाजी फरक कुरा हुन् । नेताहरूले एकै स्वरमा पार्टीको सन्देश पु¥याउन नसके परिणाम प्रत्युत्पादक हुन्छ । पहिलो चरणको अभियानले उद्देश्यअनुरूप जागरण ल्याउन नसकेको कतिपय नेताहरूको टिप्पणी छ । साँच्चै कार्यकर्ताहरूको सुझाब झैँ पहिलो जागरण नेताहरूमै देखिन आवश्यक छ । पहिलो चरणको परिणाम सुल्टो देखिएन । 


Views: 124

सम्बन्धित सामग्री:

भ्रष्टाचार नगर्ने मन्त्र !

: असार १२, २०७६ (६:०८ AM)

विरोधप्रति असहिष्णुता

: असार ११, २०७६ (७:०० AM)

मनसुनी विपद्

: असार १०, २०७६ (७:१६ AM)