20th July | 2019 | Saturday | 9:08:46 AM

नौगडाको घटनाबाट चेतौँ

हिमालय टाइम्स   POSTED ON : जेठ ३१, २०७६ (६:३४ AM)

नौगडाको घटनाबाट चेतौँ

सुदूर पश्चिम दार्चुलाको दुर्गम गाउँको एउटा विद्यालयमा शौचालयको सेप्टिक ट्याङ्कीको ढकन खस्ता चार विद्यार्थी बालबालिकाको ज्यान गयो । नौगडा गाउँपालिकाको गणेश विनायक माध्यमिक विद्यालयमा भएको यो घटनामा ज्यान गुमाउनेहरू १० वर्षमुनिका छन् । यी अबोध बालबालिका विद्यालय छुट्टी भएपछि चौरमा खेल्ने क्रममा सेप्टिक ट्याङ्कीमा खसेका हुन् । करिब पाँच मिटर गहिरो ट्याङ्कीमा ढलान ढकन थियो तर त्यसमाथि माटो थुपारिएको थियो । सम्भवतः माटोको भारले थिचिएको ढकन कमजोर भइसकेको थियो, खस्न तयार थियो र खेल्दै पुगेका बालबालिका ढकनसँगै करिब भरिएको सेप्टिक ट्याङ्कीमा खस्न पुगे । यो अत्यन्त दुःखद घटना हो । 

धेरैजसो सामुदायिक विद्यालयका भौतिक संरचनाहरू कमजोर छन् । दुर्गम ग्रामीण क्षेत्रमा अपवाद बाहेक सार्वजनिक विद्यालयको अवस्था दयनीय छ । विद्यालय भवनहरू पर्याप्त सुरक्षित छैनन् । साँघुरा छन् । सरसफाइ राम्रो छैन । खानेपानीको उचित प्रबन्ध छैन । कतिपय विद्यालयमा शौचालय नै छैन । भएकोमा पनि पर्याप्त पानी छैन, सुरक्षित र सफा छैनन् । शौचालयमा छात्राले बढी समस्या भोग्नु परेको छ । विद्यार्थी बस्ने फर्निचर गतिला छैनन् । कतिपय विद्यालयमा बालबालिकाहरू घरैबाट बस्ने चकटी लिएर जानुपर्छ । शिक्षण सिकाइका सामग्रीको अभाव त छँदैछ । यस्तो असहज अवस्थामा विद्यार्थीहरूले दैनिक छ घण्टा विद्यालयमा बिताउँछन् । 

नौगडाको गणेश विनायक विद्यालयमा सेप्टिक ट्याङ्कीसहितको शौचालय हुनु पनि एउटा उपलव्धि थियो तर त्यही उपलव्धि अबोध बालबालिकाका लागि काल भइदियो । ढक्कन राखिएपछि विद्यालयले त्यसलाई सुरक्षित ठानेको थियो होला । विद्यालय प्रशासनले त्यसको अवस्था कस्तो छ भनेर निरीक्षण गरेन । यसै पनि दुर्गम ग्रामीण क्षेत्रमा शौचालय प्राथमिकतामा पर्दैन । सार्वजनिक स्थानकै शौचालय खराब अवस्थामा हुन्छन् । यस्तै उदासिनताको शिकार भए विद्यार्थी बालबालिका । यसमा कहिल्यै कुनै पनि प्रकारले क्षतिपूर्ति हुन सक्दैन । उक्त घटनाबाट शिक्षा लिएर विद्यालयका सबै भौतिक संरचनाहरू पर्याप्त सुरक्षित बनाउनु र सबै दृष्टिले बालबालिकालाई सुरक्षित राख्नु नै दिवंगत आत्माको सम्मान हुनेछ । 

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मेवारीमा छ । विद्यालय शिक्षामा राज्यको ठूलो स्रोत शिक्षकको तलबभत्तामा खर्च गर्छ । भौतिक संरचना प्राथमिकतामा छैन । धेरै ठाउँमा निर्माण कार्य गुणस्तरहीन छ । यस्तो अवस्थामा सुधार गर्न स्थानीय तहहरू जागरुक हुनुपर्छ । उनीहरूले शिक्षालाई प्राथमिकतामा राखेर भौतिक र शैक्षिक गुणस्तर सुधारमा पर्याप्त ध्यान दिनुपर्छ । विद्यालयमा बालबालिकाहरूलाई त्यहाँका कमजोर भौतिक संरचनाको शिकार हुनबाट जोगाउन ध्यान दिनुपर्छ । अधारभूत सुविधा पनि नभएको भौतिक संरचनामा शिक्षण सिकाइ पनि राम्रो हुँदैन । नौगडाको घटना अन्यत्र कतै दोहोरिन नदिन पर्याप्त ध्यान पु¥याउनु जरुरी छ । चेतौँ ।  



Views: 112

सम्बन्धित सामग्री:

औपचारिकतामा सीमित निरीक्षण

: श्रावण ३, २०७६ (५:४२ AM)

वैदेशिक रोजगारी : जोखिमको भारी

: श्रावण २, २०७६ (५:४७ AM)

संसदबाट भाग्दै सरकार !

: श्रावण १, २०७६ (६:०३ AM)