24th July | 2019 | Wednesday | 8:58:49 AM

मन्त्रीको मुख

  POSTED ON : असार १, २०७६ (१२:०७ PM)

मन्त्रीको मुख


सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘गुठी समान्तवादको प्रतीक भएकाले सरकारले विधेयक ल्याएको र सामन्तवाद अन्त्य गर्न चाहेको’ जानकारी गराए । गत साताको बिहीबारे पत्रकार सम्मेलनमा उनले सोधेका छन्– सामन्तवाद अन्त्य गर्ने कि नगर्ने ? 

मन्त्रीको भनाइ र प्रश्न गम्भीर छ । उनी सामन्तवादको समूल नष्ट गर्ने सिद्धान्तको सरकारको मन्त्री हुन् । यता सिंहदरवारमा मन्त्रीले गुठी सामन्तवादको प्रतिक हो भनेर चर्को बोलिरहँदा चितवनमा उनको पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल विधेयक ल्याउँदा गृहकार्य पुगेन भन्दै थिए । उनले प्रधानमन्त्री स्वदेश फर्केपछि गुठी विधेयकबारे निर्णय लिने आश्वासन पनि दिए । गुठी विधेयकमा मात्रै होइन, मिडिया काउन्सिल लगायत अन्य विधेयकमा पनि गृहकार्य कम भएको उनले बताए । 

गुठी धेरै पुरानो परम्परा हो । यसमा धार्मिक–सांस्कृतिक परम्परा, चाडपर्व, मठमन्दिर, सेवामूलक संस्थाहरू जोडिएका छन् । प्रचलित गुठीहरूमा कुनै समस्या छैन, कुनै विकृति छैन, सब ठिकठाक छ र कुनै सुधार आवश्यक छैन, कानुनमा परिमार्जन आवश्यक छैन भन्ने होइन । गुठी विधेयकमा सरकारको नियत खराबै खराब छ भन्ने पनि होइन । यति हुँदा हुँदै पनि गुठी विधेयकको विरोध सडकमा पोखिएको छ र चर्किंदै गएको छ । चौतर्फी विरोध भएको छ ।  

विरोध सुन्नु र उचित सम्बोधन गर्नु सरकारको काम हो । कम्तीमा संयम त अपनाउनै पर्छ । तित्राको मुखै बैरी भन्ने नेपाली आहान मन्त्री बाँस्कोटालाई थाहा नहुने कुरै भएन । प्रष्टै छ अध्यक्ष दाहालले परिस्थितिको गम्भीरता अनुमान गरेरै गृहकार्य नपुगेको भनेका हुन्, विदेशमा रहेका प्रधानमन्त्री फर्केपछि गुठी विधेयकबारे निर्णय गर्ने भनेका हुन् । उनले विरोधको आगोमा पानी छम्किने प्रयास गरेका हुन् । यस विपरीत सरकारका प्रवक्ता आगोमा घिउ थप्ने गरी प्रस्तुत भएका छन् । 

प्रवक्ता मन्त्रीले चर्को स्वरमा भन्ने गरेका छन्– उचित सुझाव भए सरकारले विचार गर्छ । उचित र अनुचित छुट्याउने मानक के हो भन्ने प्रश्नको जवाफ कसले दिने ? एउटा पक्षलाई उचित लागेको कुरा अर्कोलाई पूरै अनुचित लाग्न सक्छ । सरकारले उचित ठानेरै विधेयक ल्याउँछ, कुनै निर्णय गर्छ भन्ने मान्नुपर्छ । त्यसको चर्को विरोध भयो भने कुन चाहिँ उचित मान्ने भनेर निर्णय गर्न कुनै प्रक्रिया अपनाउनै पर्छ । आफ्नो उचित कुरा बुझाउने जिम्मेवारी सरकारकै हो । किनभने, चित्त नबुझे जनताले त विरोध र विद्रोह गर्छ । 

परिस्थितिको गम्भीरता बुझेर संयमताका साथ बोल्दा सरकारलाई हानी गर्दैन । मन्त्रीको चर्को स्वर सरकारको निर्णय कार्यान्वयन र कानुन निर्माणमा  तित्राको मुखजस्तो नहोस् ।   

  


Views: 125

सम्बन्धित सामग्री:

‘अभागी’ भ्रष्टाचारी !

: श्रावण ७, २०७६ (६:१० AM)

सुधार्नै पर्ने खर्च प्रवृत्ति

: श्रावण ६, २०७६ (६:५४ AM)

काम खोज्दै अफ्रिकी मुलुकसम्म

: श्रावण ५, २०७६ (१२:५४ PM)