22nd October | 2019 | Tuesday | 12:23:22 AM

गर्मी : विश्वव्यापी मुद्दा

  POSTED ON : असार २, २०७६ (१०:१९ AM)

गर्मी : विश्वव्यापी मुद्दा

जेठको अन्तिम सातादेखि गर्मी निकै बढेको छ । तराईका अधिकांश जिल्लामा उखरमाउलो गर्मीले जनजीवन प्रभावित भएको छ । भैरहवा, नेपालगञ्ज, दीपायल लगायतका ठाउँहरूमा अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस नाघेको छ । अन्य धेरै ठाउँमा ४० डिग्री सेल्सियसको हाराहारीमा अधिकतम तापक्रम छ । दिउँसोको आमजनजीवन सुस्त भएको छ । शहर–बजारमा चहलपहल घटेको छ । कतिपय ठाउँमा विद्यालयहरू केही दिनका लागि बन्द गरिएका छन् । 

गर्मीको मौसममा सामान्यतया जनजीवनमा यस्तै प्रभाव पर्छ । गर्मी भने बढ्दो क्रममा छ । मुख्य प्रश्न गर्मी किन बढ्दै गएको छ र यस्तै अवस्था रहे अर्को दुई–तीन दशकमा कस्तो होला भन्ने हो । वायुमण्डलमा हरितगृह प्रभाव बढ्दो क्रममा छ । कार्बन डाइअक्साइडको उत्सर्जन बढ्दो क्रममा छ । क्लोरोफ्लोरो कार्बनको प्रयोग बढ्दो क्रममा छ । यी दुईलगायत वायुमण्डलमा हरितगृह प्रभाव बढाउने ग्यासको मात्रा बढ्दै गएको छ । यसकै परिणाम हो हरितगृह प्रभाव वृद्धि, गर्मी वृद्धि ।

हरितगृह ग्यास उत्सर्जन र प्रयोगमा नेपालको भूमिका नगन्य छ । नेपाल असिमितरूपमा कार्बन डाइअक्साइड उत्सर्जन गर्ने मुलुक होइन तर त्यसको नकारात्मक प्रभावबाट भने सबैसरह प्रभावित छ । क्रमशः बढ्दो गर्मीको एउटा मुख्य कारण बढ्दो हरितगृह प्रभाव हो । संसारभरि नै अभूतपूर्वरूपमा गर्मीको प्रभाव बढेको छ । गत वर्ष जापानमा सबैभन्दा बढी गर्मी रेकर्ड भयो । गर्मीले वर्षेनी मानिसहरूको ज्यान लिने गरेको छ । 

गर्मीको यो क्रम रोकिने वा घट्दै जाने कुनै संकेत छैन । विश्वव्यापी तापमान बढ्दो क्रममा छ । औद्योगिक क्रान्तिको समयको तुलनामा विश्वव्यापी तापमान साढे एक डिग्री सेल्सियसबाट बढ्न नदिने औद्योगिक मुलुकहरूको प्रतिबद्धता भए पनि कार्बन उत्सर्जनको मात्रा घट्न सकेको छैन । वैज्ञानिकहरूले सय वर्षभित्रै विश्वव्यापी तापमान औद्योगिक क्रान्तियता तीन डिग्री सेल्सियसले वृद्धि हुने चेतावनी दिएका छन् । धेरै प्राणी र वनस्पतिका प्रजातिहरू मासिने छन् । साँच्चै यो बढ्दो तापमान नियन्त्रण हुन नसके मानव अस्तित्व नै संकटमा पर्ने छ । 

गर्मीबाट बच्न शीतलबाहेक अर्को उपाय छैन । कृत्रिम शितलताका लागि पर्याप्तमात्रामा ऊर्जा आवश्यक पर्छ । मागअनुसार विद्युत आपूर्ति नहुने हाम्रो देशमा वातानुकूलन कठिन छ । हामीले गर्मीबाट बच्न सकिने उपायबारे जनचेतना अभिवृद्धिमा ध्यान दिनुपर्छ । परम्परागत ज्ञान–सिप छ तर बद्लिँदो जीवनशैली र व्यस्ततासँगै गर्मीको प्रभाव बढ्दो छ । गर्मीसँगै सरुवा रोगको प्रकोप पनि बढ्छ । यी सबैमा ध्यान दिनु आवश्यक छ । 

हाम्रो जस्तो मुलुकले अब विश्वमञ्चमा वातावरण संरक्षणको विषयलाई प्रभावकारीरूपमा उठाउँदै औद्योगिक मुलुकहरूको ध्यानाकर्षण गराउनमा ध्यान दिनुपर्छ । नेपाल सरकारले ‘सगरमाथा संवाद’ गर्ने भनेको छ । गर्मी अब मौसमी र स्थानीयमात्रै होइन, विश्वव्यापी मुद्दा भएको छ । यसलाई यही रूपमा अघि बढाउनुपर्छ । विश्वव्यापी तापमान नियन्त्रण गर्न भएका सहमतिहरू कार्यान्वयनमा ध्यानाकर्षण गराउनुपर्छ । यसो नभए गर्मी बढ्दै जानेछ र जीवको अस्तित्व नै संकटमा पर्नेछ ।

Views: 121

सम्बन्धित सामग्री:

राजनीतिमुक्त प्रहरी संगठन

: कार्तिक ४, २०७६ (११:१९ AM)

स्थानीय तहमा पारिश्रमिक

: कार्तिक ३, २०७६ (३:५८ PM)

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)