19th October | 2019 | Saturday | 8:05:52 AM

सरकार गल्ती गर्दैन

  POSTED ON : असार ९, २०७६ (१०:१७ AM)

सरकार गल्ती गर्दैन

सत्तारुढ नेकपाको एकीकरण प्रक्रिया पूरा भएको छैन । नेताहरूको कार्य विभाजन भएको छैन । केन्द्रीय समिति र स्थायी समिति निष्क्रिय झैँ छन् । पोलिटब्युरो बन्न सकेको छैन । यी सबैको काम नौ सदस्यीय सचिवालयले गर्दै आएको छ । सचिवालय पनि दुई अध्यक्षमा केन्द्रित छ । शक्ति केन्द्रीकरण गरेर बसेका दुई अध्यक्ष पनि एक अर्कामा दवाव बढाएर आफू बलियो हुने दाउपेचमा देखिन्छन् । परिणामस्वरूप एक वर्ष पूरा भइसक्दा र महाधिवेशनको चर्चा हुन थाल्दा पनि एकीकरण पूरा भएको छैन । राजनीतिक प्रतिवेदन गुपचुप छ । 

नेता–कार्यकर्ताहरूको गुनासो चुलिन थालेको छ । पार्टी र सरकारबीच भेद देखिन छाडेको छ, पार्टीको सरकार कि सरकारको पार्टी ¤ पार्टीभित्र कुनै पनि विषयमा छलफल हुन नपाएको, नेता–कार्यकर्ताहरूले सरकार र पार्टीका विषयमा आफ्ना कुरा राख्न नपाएको भनेर गुनासो गर्न थालेका छन् । सरकारले संसदमा पेश गरेका विधेयकहरूमा नेकपाकै नेताहरू असन्तुष्ट देखिन्छन् । सरकारले विधेयकहरूका विषयमा सरोकारवालाहरूसँग छलफल गरेन भनेर आलोचना भइरहेका बेला सत्तारुढ नेताहरू आफूहरूलाई नै थाहा हुन छाडेको बताउन थालेका छन् । संसदमा दुई तिहाई बहुमत छ, पार्टी र सरकारमा सन्तुलनको प्रणाली छैन, सरकार बेलगाम भएको छ । 

सरकारका कामकारबाही प्रभावकारी बनाउन पनि नेकपाको एकीरण पूरा हुन र नेताहरूको जिम्मेवारी चाँडो बाँडफाँड हुन आवश्यक भएको छ । सरकारले आफ्नो सफलताको जति नै जिकिर गरे पनि नेकपाकै नेता र सांसदहरूको निकै ठूलो हिस्सा असन्तुष्ट देखिन्छ । पार्टीमा कुनै पनि विषयमा छलफल हुन पाएन, कुरा राख्ने ठाउँ भएन भन्ने गुनासो मुख्य रहेको छ । हुन पनि पार्टीका निर्णायक निकायहरू शीर्षको सानो घेरामा सीमित भएपछि त्यसबाहिरको ठूलो हिस्सा असन्तुष्ट हुने नै भयो । सचिवालय नामको त्यो साँघुरो शीर्ष घेराभित्रै पनि असन्तुष्टिको चाङ छ । 

पार्टीका सबै निकायमा एकीरकण पूरा भएर ती निकाय जति सक्रिय हुन्छन्, सरकार पनि त्यति नै प्रभावकारी हुन्छ । अहिले प्रधानमन्त्री र मन्त्रीहरूमा दुई तिहाइ बहुमत भएको जननिर्वाचित सरकारले कुनै पनि गल्ती गर्दैन भन्ने अनौठो मान्यता विकास हुँदै गएको देखिएको छ । यति प्रचण्ड बहुमत नै सरकारले कुनै गल्ती गर्दैन भन्ने प्रमाणका रूपमा पेश हुन थालेको छ । प्रधानमन्त्री र मन्त्रीहरूका अभिव्यक्तिमा यस्तै मान्यता प्रकट हुने गरेको छ । सरकारप्रति नेकपाभित्रै असन्तुष्टि देखिनुको एउटा कारण यो पनि हो । र, समस्या पनि यही हो । एकीकरणको शीघ्र समापन नै समाधान हो । 





Views: 133

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)