19th October | 2019 | Saturday | 7:35:48 AM

मनसुनी विपद्

  POSTED ON : असार १०, २०७६ (११:०१ AM)

मनसुनी विपद्

मनसुनी वर्षा सुरु भएको छ । वर्षासँगै विपद्को समाचार आउन थालेको छ । मनसुनको मुख्य विपद् बाढी–पहिरो, डुबान र त्यसले पु¥याउने क्षति हो । तराई क्षेत्र बाढी, डुबान र पहाडी क्षेत्र पहिरोको विपद्मा पर्ने गरेको छ । वर्षेनी कयौँको ज्यान जान्छ । सयौँ–हजारौँ परिवार अस्थायी वा स्थायीरूपमा विस्थापित हुन्छन् । मनसुनको विपद् बढ्दो क्रममा छ । तराई क्षेत्रमा अव्यवस्थित शहरीकरण र पर्याप्त अध्ययनविना बनाइएका सडकका कारणले परम्परागत निकास अवरुद्ध हुन थालेको छ । खोलाहरू मिचेर साँघुरा बनाइएका छन् जसले भारी वर्षाको निकास थेग्न सक्दैनन् । 

पहाडी क्षेत्रमा सडकको जालो बनाउने मोह जागेको छ । घरघरमा सडक पु¥याउने होडमा पहाडका भित्ताहरू आफूखुशी खोतलिएका छन् । जमिनको स्थिति, पानीको निकास इत्यादि आधारभूत कुरामा ध्यान नदिई आफूखुशी खनिएका सडकले पहाडी गाउँमा विपद्को घण्टी बजाउन थालेका छन् । यसरी खनिएका कच्ची सडकहरूबाट बग्न थालेको पानीको भेल सोझै घर र खेतबारीमा पस्न थालेको छ । परिणामस्वरूपमा विपद्का घटना पनि बढ्न थालेका छन् । तराई क्षेत्रका शहरहरू डुबान क्षेत्रमा परिणत हुने गरेका छन् । साँघुरा खोला, पानीको प्राकृतिक वहावको विनाश, अव्यवस्थित ढल निकास मुख्य समस्या बनेका छन् । 

विपद् पूरै टार्न नसकिए पनि योजनाबद्ध निर्माणकार्यले न्यूनीकरण गर्न सकिन्छ । पानीको निकासका प्राकृतिक मार्गहरू नबिथोलियून भन्ने कुरामा ध्यान दिन आवश्यक छ । यसो भयो भने डुबानको समस्या न्युनीकरण हुनेछ । ग्रामीण क्षेत्रमा हुने निर्माणकार्यहरूले यसतर्फ ध्यान नदिँदा समस्या बढ्दो क्रममा छ । विपद्का घटनाका जति वृद्धि हुन्छ, व्यवस्थापन त्यति नै कठिन हुँदै जान्छ । जोखिमयुक्त ठाउँहरूको पहिचान गरेर विपद् व्यवस्थापनको तयारी अवस्थामा रहनु त्यतिकै जरुरी छ । उद्धार, राहत र पुनस्र्थापनाका लागि योजनाबद्ध काम हुन आवश्यक पर्छ । उद्धार कार्यमा हाम्रा सुरक्षा निकायहरूले प्रशंसनीय काम गर्दै आएका छन् । 

विपद्का घटनाहरू न्यूनीकरणका लागि स्थानीय तहहरूले ध्यान दिन आवश्यक छ । स्थानीय तहहरू विकासको होडमा छन् । विकास भनेको सडक हो भन्ने एउटा धारणा रहिआएको छ । हुन पनि यातायात विकासको न्युनतम पूर्वाधार हो । ध्यान दिनुपर्ने पनि सडक–बाटो निर्माणमै हो, सडक–बाटो नै विपद्को माध्यम नबनोस् । सम्भाव्य विपद्को ख्याल राखेर पर्याप्त अध्ययनका साथ योजनाबद्धरूमा निर्माण कार्य गर्नुपर्छ । नेपालजस्तो भौगोलिक अवस्थिति भएको देशमा बाढी, पहिरो र डुबानजस्ता समस्या भइरहन्छन् । तराईमा अव्यवस्थित शहरीकरण, सडक, बाँघ आदि डुबानका कारक बन्न थालेका छन् । 

विकास निर्माणको मापदण्ड र त्यसको कडाइका साथ पालना आवश्यक पर्छ । आफ्नै हेलचेक्र्याइँ र अल्पदृष्टिले आफैँलाई विपद्मा नपारोस् र विकास दिगो बन्न सकोस् भन्ने नै अहिलेको ध्येय हुनु आवश्यक भएको छ । प्रदेश सरकार र स्थानीय तहले ध्यान दिऊन् । 


Views: 148

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)