20th July | 2019 | Saturday | 9:00:54 AM

विषादीमा बल्ड्याङ

  POSTED ON : असार २३, २०७६ (५:२६ AM)

विषादीमा बल्ड्याङ

सरकारले भारतबाट आउने तरकारी तथा फलफूलमा भन्सार नाकामै विषादी परीक्षण गर्न थालेपछि खैलाबैला मच्चियो । धेरै दिन रोकिएर कुहिन थालेपछि आयातकर्ताहरू रिसाए । यता आपूर्ति घट्यो । उता भारतले विषादी परीक्षण नगर्न दवाव दियो जबकि नेपालबाट निर्यात हुनेमा क्वारेन्टाइन तथा विषादी परीक्षण नगरी भारतले प्रवेश दिँदैन । अन्ततः नेपाल सरकार निर्णयबाट पछि हट्यो, परीक्षण बन्द भयो । विषादी परीक्षण नभई पूर्ववतरूपमा भारतीय तरकारी र फलफूल नेपाल आउने भयो । सरकार आफ्नो निर्णयमा महिना दिन पनि अडिन सकेन र चौतर्फी आलोचनामा परेको छ । 

विषादी परीक्षण राम्रो निर्णय र सुरुवात थियो, स्वागत भएको थियो । सुरु भइसकेको कामलाई सरकारले किन निरन्तरता दिन सकेन ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै संसदीय दलमा स्पष्टीकण दिए– पर्याप्त तयारी विना, अलिक हतारोमा परीक्षण सुरु भएकोले रोकिएको हो, कसैको दवावले होइन, सबै तयारी भएपछि फेरि सुरु हुन्छ । तालुकवाला कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले संसदमा स्पष्टीकरण दिए– पर्याप्त पूर्वाधार नभएकाले विषादी परीक्षणलाई निरन्तरता दिन सकिएन, सबै पूर्वाधार तयार गरेपछि फेरि सुरु हुनेछ, यसका लागि कम्तीमा चार अर्ब रुपैयाँ र एक वर्ष समय लाग्छ । इत्यादि । 

अब प्रश्न उठ्छ– के सरकारलााई आफ्ना निकायहरूको क्षमताबारे जानकारी थिएन ? पर्याप्त तयारी बिनै किन सुरु गरेको थियो ? आवश्यक पूर्वाधार विकास नगरी, पर्याप्त तयारी नगरी काम सुरु गर्दा आफ्नै लागि प्रत्युत्पादक हुनसक्छ, निर्णय फिर्ता लिनुपर्ने हुनसक्छ भन्ने अनुमान सरोकारवाला मन्त्रालयहरू र सिंगो सरकारले किन गर्न नसकेका ? एउटा विधेयकका सन्दर्भमा प्रधानमन्त्री ओलीले भनेका थिए– जननिर्वाचित सरकारले हचुवाका भरमा कुनै पनि काम गर्दैन, सोची विचारी गर्छ । भारतीय तरकारी र फलफूलमा विषादी परीक्षणसम्बन्धी सरकारको कामलाई के भन्ने ? परीक्षण सुरु गर्ने निर्णय सोची विचारी भएको थियो ? 

विषादी परीक्षण र गुण नियन्त्रणमा नेपालको क्षमता कमजोेर छ । जनशक्ति र उपकरणको अभाव छ । आफ्नै निर्णयमा फसेपछि सरकारले यो कमजोरी स्वीकार गरेको छ । परीक्षणको व्यवस्था हुँदै नभएको होइन तर सबै भन्सार नाकामा छैन, भएकोमा पनि पर्याप्त सुविधा छैन । प्रयोग हुने सबै विषादी पत्ता लगाउने उपकरण छैन । प्रधानमन्त्रीले तयारी पूरा भएपछि फेरि परीक्षण सुरु हुन्छ भनेका छन् । भारतको दवावले रोकिएको होइन भने मन्त्री खनालले भनेअनुसार एक वर्षमा फेरि सुरु गर्ने शंकाको सुविधा छ यद्यपि सरकार चुकिसकेको छ, बल्ड्डाङ खाएको छ । अपेक्षा गरौँ, फेरि यस्तो कच्चापन दोहोरिने छैन । 

र, सरकारले विषादी परीक्षण र गुणनियन्त्रणमा क्षमता बढाउनु पर्छ । आधुनिक प्रविधि र उपकरण भिœयाउनुपर्छ, आवश्यकताअनुसार जनशक्ति विकास गर्नुपर्छ । यसका लागि जति खर्च किन नलागोस् । सरकारले अनुत्पादक क्षेत्रको खर्च यता सदुपयोग गरोस् । जनस्वास्थ्य संरक्षणका केही अर्ब रुपैयाँको खर्च ठूलो कुरा होइन । विषादीको बढ्दो प्रयोग रोक्न नसके जनस्वास्थ्यमा पर्न थालेको गम्भीर असर बढ्दै जानेछ । 


Views: 118

सम्बन्धित सामग्री:

औपचारिकतामा सीमित निरीक्षण

: श्रावण ३, २०७६ (५:४२ AM)

वैदेशिक रोजगारी : जोखिमको भारी

: श्रावण २, २०७६ (५:४७ AM)

संसदबाट भाग्दै सरकार !

: श्रावण १, २०७६ (६:०३ AM)