19th October | 2019 | Saturday | 8:32:02 AM

राखेपमा सिलवालका हाँक

  POSTED ON : असार २५, २०७६ (११:४३ AM)

राखेपमा सिलवालका हाँक

नेपाली खेलकुदको कार्यकारी अधिकार भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १८औं सदस्यसचिव नियुक्त रमेश सिलवालले ‘हनिमुन पिरियड’ मै नतिजा आउनेगरी काम देखाउने प्रतिबद्धता जनाएका छन् । वर्षात् र बिदाको समय छाड्ने हो भने सय दिन अर्थात उनले भनेको ‘हनिमुन पिरियड’ भित्र नेपालले जिम्मा पाएको १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्नु उनको मुख्य जिम्मेवारी हुनेछ । 

दुई तिहाइको सरकारका कार्यकारी प्रमुखसँग निकट सम्बन्ध रहेका सिलवाललाई आउने मंसिर १५ देखि २७ सम्म काठमाडौं र पोखरामा आयोजना हुने भनिएको साग सम्पन्न गर्न चर्को मिहिनेन पर्नेछ । हालको जस्तो कछुवाको नभई खरायोको गतिमा काम गर्नुपर्ने छ । तीनपटक सागको मिति सरिसकेको छ । फेरि सरे नेपालको क्षमतामा प्रश्न उठ्ने खतरा छ । राष्ट्रिय गौरवको रूपमा रहेको साग आयोजनामा अब कुनै पनि बहानाबाजी गर्ने छुट छैन । यो हाँकबारे सिलवाल भारी परिचत छन् भन्ने मान्नै पर्छ ।

सागको मूल आयोजक समिति बने पनि पूर्वाधार र प्रशासनिक तयारीको धेरै काम बाँकी छ । सबैभन्दा पहिले छलफलमा रहेको कार्यविधि टुङ्ग्याउनु आवश्यक छ । बजेटको अनुमान गरिएको छ तर विनियोजन भएको छैन । विभिन्न समिति तथा उपसमितिहरू बनाएर काम थाल्ने बेला भइसकेको छ । सार्वजनिक खरिद प्रक्रिया लम्बेतान छ । 

मूल आयोजना स्थलको दशरथ रंगशाला प्याराफिट तयार भइसकेको छैन । पोखराको रंगशाला, सात दोबाटोको पौडी पोखरी, च्यासलको मैदानका कामको गति नबढाउने हो भने मंसिरमा साग हुनेमा शंका बढ्दै जानेछ । सिलवालले साग निर्धारित मितिमै सफलतापूर्वक सम्पन्न गराउन सके भने त्यसको डेढ वर्षपछि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद आयोजनामा उनलाई कुनै सकस पर्ने छैन ।

सिलवालको खेल पृष्ठभूमि क्रिकेटसँग जोडिएको छ । उनी नेपाल क्रिकेट संघ (क्यान) मा उपाध्यक्ष थिए । केशवकुमार विष्टको पालामा गठित क्यान तदर्थ समितिमा संयोजक समेत थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले क्यानलाई निलम्बन गर्दा सरकारले गठन गरेको यसै तदर्थ समितिलाई ‘सरकारी हस्तक्षेप’ भन्दै मुख्य कारण देखाएको थियो । 

अब सिलवाल आफैँ अभिभावकको भूमिकामा आएका छन् । उनलाई आफ्नो पालामा क्यानको निलम्बन फुकुवा गराएर जस लिने मौका पनि छ । उनले जतिसक्दो चाँडो आइसिसी र सम्बन्धित निकायहरूसँग छलफल गरेर नेपाली क्रिकेटलाई निकास दिनु आवश्यक छ । गत वर्ष धनगढी प्रिमियर लिगमा उनको स्वामित्वमा रहेको टोली काठमाडौं गोल्डेन्सले आफ्ना विदेशी खेलाडीलाई अफिसियलले कारबाही गरेकोमा प्रतियोगिता बहिष्कार गरेको थियो । सिलवाल स्वयम् जोडिएको बहिस्कारको निर्णय अपरिपक्व भनेर आलोचना भएको थियो । 

यसपटक सिलवाल एउटा टोलीको मात्रै नभएर सिङ्गो खेलक्षेत्रको स्वामित्वमा पुगेका छन् । उनले परिपक्व र दीर्घकालीन प्रभावको निर्णय गर्दै नेपाली खेलकुदको विकासमा जोड दिन सकून् । हार्दिक शुभकामना । 

 


Views: 143

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)