19th October | 2019 | Saturday | 7:25:25 AM

मुठभेड : पल्किँदो काल

  POSTED ON : असार २६, २०७६ (९:३१ AM)

मुठभेड : पल्किँदो काल

यही असार ५ गते सर्लाहीमा कुमार पौडेल नामका एक व्यक्ति प्रहरीको गोलीले मारिए । उनी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला नेता थिए । सरकारले उक्त पार्टीको गतिविधिमा रोक लगाएको छ । कुमार अचानक मारिए । प्रहरीले मुठभेडमा मारिएको भन्यो । प्रहरीकै विवरणअनुसार सरकारले मुठभेडमै मारिएको जिकिर ग¥यो । गृहमन्त्रीले संसद्मा सोही जानकारी गराए । कुमार मारिएको करिब तीन सातापछि त्यही घटनालाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । विपक्षी नेपाली कांग्रेस र राजपा नेपालको माग छ, उक्त घटनामा संसदीय छानबिन टोली गठन होस् । 

मुठभेड सरकारका लागि राम्रो बहना भएको छ । जब प्रहरीलाई कुनै व्यक्ति आप्mनो नियन्त्रणभन्दा बाहिर पुग्न लागेको वा त्यस्तो कुनै व्यक्ति जो मारिँदा धेरैजना खुसी हुन्छन् भन्ने प्रहरीले ठान्छ त्यतिबेला ‘इन्काउन्टर’ अर्थात् ‘मुठभेड’ हुन्छ । एक–दुई व्यक्ति मारिएका ‘मुठभेड’ का घटना यस्तै देखिएका छन् । डन भनेर चर्चित कुनै व्यक्ति होस् वा अपरहणकारी भनिएको व्यक्ति । प्रहरीले ‘मुठभेड’ मा मारिदिन्छ । निहत्था व्यक्ति पनि प्रहरीसँग ‘मुठभेड’ मा मारिएको छ । प्रहरीले समातेर लगेको व्यक्ति पनि ‘मुठभेड’ मै मारिएको छ । 

यस्ता घटना प्रायः बनावटी नै हुने गरेका छन्, अर्थात् बनावटी मुठभेड । कहिलेकाहीँ कस्तो घटना आइपर्छ भने अभियुक्तप्रति जनमानस अत्यन्तै आक्रोशित हुन्छ । यस्तो अवस्थामा प्रहरीले ‘मुठभेड’ गरिदिनु सजिलो ठान्छ र फत्ते गरिदिन्छ । ‘मुठभेड’ को रिपोर्ट प्रहरीले नै बनाउँछ र गृह मन्त्रीलाई उपलब्ध गराउँछ । सोहीअनुसार गृह मन्त्रीले संसद्मा जिकिर गर्छन्, मुठभेड भयो । सर्लाहीमा कुमार पौडेल मारिएको घटनामा त गृह मन्त्रीले ‘लोकतन्त्रको रक्षा र शान्ति सुरक्षा कायम गर्नकै लागि’ प्रहरीले मुठभेड गरेको जिकिर गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग भन्छ, अभियोगको प्रमाण जुटाउन नसक्ने भएपछि बनावटी मुठभेड हुन थालेको छ र यो निकै चिन्ताजनक अवस्था हो । नेपालको संविधानले मृत्युदण्ड बर्जित गरेको छ । मृत्युदण्ड दिनेगरी कानुन बनाउन पाइँदैन । प्रहरीले आवश्यक ठानेका बेला ‘मुठभेड’ गर्न पाइने र सरकारले धाप दिने भएपछि संविधानको उल्लंघन पनि भएन र प्रमाण पनि पु¥याइरहन परेन । यसै कारणले होला, हाम्रो प्रहरी ‘मुठभेड’ तिर उत्साहित भएको छ । ‘मुठभेड’ का जस्ता घटना प्रकाशमा आएका छन् तिनले म¥यो भन्नेभन्दा पनि काल पल्क्यो कि भन्ने चिन्ता बढाएको छ ।

साँच्चै पछिल्ला केही ‘मुठभेड’ का घटनाको वास्तविकता थाहा हुनैपर्ने भएको छ । कतिपय अवस्थामा प्रहरीमाथि आक्रमणका घटना भएका छन् । दोहोरो भिडन्तका घटना भएका छन् । भिडन्त भए प्रमाणहरूले पुष्टि गर्छन् । यसका लागि स्वतन्त्र छानबिन आवश्यक पर्छ । कुमार पौडेल खतरनाक अभियुक्त थिए होला तर उनी मुठभेडमै मारिएको भन्ने दाबीमा भने शंका छ । यसैगरी, मुठभेड हुने हो भने राज्यबाटै अराजकता हुनेछ । त्यतिबेला कहाँ प्रश्न उठाउने ? त्यसैले सरकार पनि प्रस्ट हुन आवश्यक छ, बाक्लै हुन थालेको ‘मुठभेठ’ साँच्चै मुठभेड नै हो ?


Views: 170

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)