10th December | 2019 | Tuesday | 10:43:22 AM

बेहोसीले नियति

  POSTED ON : श्रावण १६, २०७६ (९:४० AM)

बेहोसीले नियति

यस वर्षको वर्षात्मा प्रदेश २ सबैभन्दा बढी प्रभावित भयो । आठ वटै जिल्लामा क्षति भयो । मानवीय क्षति भयो । भौतिक संरचना र कृषिमा ठूलो क्षति पुग्यो । कतिपय ठाउँमा खेत बाढीले ल्याएको बालुवाले पुरियो । यसपटकको वर्षा सकिएको छैन । मनसुन मध्यतिर छ । यसै वर्षात्मा फेरि पनि बाढी आउन, डुबान हुन र क्षति हुन सक्छ । 

तराई क्षेत्रको समस्या बाढी हो कि डुबान ? विज्ञहरू भन्छन्– बाढी त हुँदै हो तर अहिलेको ठूलो समस्या डुबान हो । डुबान हुनुमा बाढी नै मुख्य कारण हुन्छ । भारतले नेपालसँगको सीमा नजिक ठाउँ ठाउँमा बनाएका बाँध र सडक जस्ता ठूला संरचनाहरूका कारणले हाम्रो तराई धेरै ठाउँ डुबानमा पर्छ भन्छन् जानकारहरू । हामी आफूले आवश्यक ठाउँमा बाँध बनाउन, भएका बाँधहरू मर्मत सम्भार गर्न सकेका छैनौँ । 

तराईमा हाम्रा नदीहरू सानै बाढी पनि थेग्न नसक्ने भएका छन् । सबैभन्दा ठूलो सप्तकोशीको बराज क्षेत्रमा पाँच दशक अघिको तुलनामा नदीले पानी थेग्ने क्षमता आधाभन्दा बढीले घटेको छ । तराईका अधिकांश नदी÷खोलाहरूको अवस्था यस्तै छ । यस्तो किन छ भने मेचीदेखि महाकालीसम्म फैलिएको चुरे पहाडको दोहन सीमाबाहिर छ । चुरे विनाशको गति तीव्र छ । 

तराईमा बाढीको एउटा मुख्य कारण हो चुरे विनाश । यसले तराईका नदी÷खोलाहरूको गहिराइ घटाउँदै लगेको छ, अर्थात पुर्दै लगेको छ । परिणामस्वरूप नदी÷खोलाको पानी थेग्ने क्षमता तीव्र गतिमा ह्रास भएको छ । यसो भएपछि नदी नाघेर पानी बाहिर जान्छ र बाढी आउँछ । दूरगामी प्रभाव विचारै नगरी फैलिएका भौतिक संरचनाहरू डुबनाको अर्को मुख्य कारण हो । तराईका अधिकांश शहरहरू यस्तै अदूरदर्शी विकासको शिकार हुन थालेका छन् । शहरी क्षेत्रमा खोलाहरू अतिक्रमणले अदृश्य हुनेगरी साँघुरिएका छन् । र, प्रत्येक वर्ष डुबान हाम्रो बेहोसीको नियति भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यस साता संघीय राजधानी काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री र सरोकारवाला मन्त्रीहरूलाई भेटेर आफ्नो प्रदेशमा बाढी, डुबान र क्षतिको जानकारी गराए । राहत र पुनस्र्थापनामा सघाउन संघीय सरकारलाई आग्रह गरे । अनि, एउटा सार्वजनिक कार्यक्रममा चुरे विनाशको प्रभाव सुनाए । चुरे पहाडको विनाश रोकिएन, चुरे संरक्षण गर्न सकिएन भने मुख्यमन्त्री राउतले भनेझैँ साँच्चै हाम्रो तराई क्रमशः मरुभूमीकरण हुँदै जानेछ । 

चुरे संरक्षण नभए तराईमा वर्षेनी क्षति बढ्दै जानेछ । बजेटको ठूलो हिस्सा उद्धार, राहत र पुनस्र्थानामा खर्च हुनेछ र भइरहनेछ । देशको ठूलो जनसंख्या संकटमा पर्दै जानेछ । खाद्यान्न संकट बढ्दै जानेछ । पानीको स्रोत घट्दै जानेछ । चुरे संरक्षणका प्रयास अपेक्षितरूपमा सफल हुन सकेको छैन । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अलपत्र छ । 

चुरे पहाडको संरक्षण चुनौतीपूर्ण छ । यसका लागि संघीय र प्रदेश सरकारहरूको दृढता र समन्वय आवश्यक छ । यसमा संघीय सरकारको भूमिका र पहल महŒवपूर्ण हुनेछ । राजनीतिक दाउपेच र कमाउ स्वार्थबाट अलिकति माथि उठेर अनि अलिकति दूरदर्शी भएर काम गर्ने बेला आएको छ । प्रकृतिको प्रवाहसँग जोरी खोज्नु मानिसको हितमा हुँदैन । 

 




Views: 137

सम्बन्धित सामग्री:

कुरा अन्तर्घातका

: मंसिर २३, २०७६ (४:५६ PM)

भान्साकोठामा विद्युत खपत

: मंसिर १९, २०७६ (१०:१५ AM)