25th August | 2019 | Sunday | 5:16:47 PM

बन्द गर ध्वंस

  POSTED ON : श्रावण १९, २०७६ (३:५८ PM)

बन्द गर ध्वंस

सरकारले ‘गतिविधिमा रोक’ लगाएको विप्लव नेतृत्वको नेकपाले ध्वंसात्मक गतिविधि बढाउँदै लगेको छ । कतै आगजनी, कतै विस्फोट गराउँदैछ । बन्दका नाममा सार्वजनिक सवारी साधनमा तोडफोड आजगनी, ठाउँ ठाउँमा विस्फोटक धराप, स्थानीय तहका कार्यालयहरूमा आजगनी र विस्फोट बढाउँदै लगेको छ । पछिल्लो समय सबैभन्दा बढी क्षति सेलफोन सेवा प्रदायक निजी कम्पनी एनसेलका रिपिटर टावरहरूमा पु¥याएको छ । गत बुधबार एकै रात झण्डै ३० वटा टावरमा आगजनी र विस्फोट गराएको छ । नेपाल टेलिकमको पनि एउटा टावरमा क्षति पु¥याएको छ । 


एनसेल विदेशी लगानीसमेत रहेको ठूलो कम्पनी हो । लाभकर लगायतका केही विषयमा एनसेल विवादमा परेको छ । विवाद सुल्झाउने, कर असुल्ने प्रयास भइरहेको छ, मुद्दा अदालतमा पुगेको छ । जतिसुकै विवाद भए पनि त्यसको समाधानको वैधानिक कानुनी प्रक्रिया हुन्छ । राज्यको प्रशासनिक कमजोरी लगायतका कारणहरू पनि हुन सक्छन् । समाधानको प्रक्रिया अनपेक्षितरूपमा लम्बिन पनि सक्ला । ढिलो चाँडो दोषीहरूले सजाय पाऊलान् । यस विपरीत विप्लवका कार्यकर्ताहरूले आगजनी, विस्फोट र तोडफोड गर्दै आएका छन् । समाधानको बाटो यो होइन ।


हिंसात्मक गतिविधिबाट देशले एक दशक ठूलो क्षति व्यहोर्नु प¥यो । ठूलो परिमाणमा जनधनको क्षति भयो । निकै ठूलो राजनीतिक सुझबुझ र प्रयासले देश शान्ति प्रक्रियामा प्रवेश गरेर निकास पाएको हो । धेरै राजनीतिक मुद्दाहरू समाधान भएका हुन् । नागरिकहरूले शान्तिको सास फेर्न पाएका हुन् । देश अब विकासको बाटोमा अघि बढ्छ भन्ने विश्वास बलियो हुँदै जाँदा बिस्तारै ध्वंसात्मक गतिविधि बढ्न थालेको छ, उही दशक लामो हिंसात्मक माओवादी आन्दोलन झैँ । 


सरकारले विप्लवको नेकपाको गतिविधिमा रोक लगाएको छ, अर्थात प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध समाधानको बाटो होइन, सरकारले वार्ताको प्रयास भइरहेको पनि बताउँदै आएको छ । साँच्चै विप्लवको राजनीतिक ‘लडाइँ’ हो भने पनि राज्यसँग हो । कुनै औद्योगिक, व्यापारिक वा सेवा प्रतिष्ठानसँग अवश्य होइन । राज्यलाई दबाब दिन शान्तिपूर्ण प्रक्रिया अपनाउनु पर्छ । देशका व्यावसायिक प्रतिष्ठानहरू आक्रमणको तारो हुनु हुँदैन । विप्लवको नेकपाले एनसेल र नेपाल टेलिकमका रिपिटर टावर हुन् वा यस्तै अन्य, कतै पनि क्षति पु¥याउन सर्वाथा अनुचित छ । यसो गर्नु ध्वंस हो, ध्वंसको भत्र्सना हुनुपर्छ । 


विप्लवले ध्वंसात्मक गतिविधि बन्द गर्नुपर्छ । सरकारले वार्ताको वातावरण बनाउनुपर्छ । विप्लव वार्ताका लागि तयार हुनुपर्छ । सरकारले रोक लगाएको भन्ने तर रोकिनुको सट्टा बढ्दै जाने र समाधान ननिस्कने, यस्तो अवस्था सरकारको पनि असफलता हो । शान्तिपूर्ण माध्यमबाट समाधान खोज्नु पर्छ । जनताको नाममा कुनै पनि प्रकारको ध्वंस, हिंसा, जबर्जस्ती आदि मान्य हुन सक्दैन । 



 






 


Views: 123

सम्बन्धित सामग्री:

उपभोक्ता हित संरक्षण

: भदौ ८, २०७६ (४:१४ PM)

प्रहार कताबाट ?

: भदौ ६, २०७६ (८:४४ AM)

जयशंकरको नेपालयात्रा

: भदौ ५, २०७६ (९:४९ AM)