6th December | 2019 | Friday | 7:06:10 AM

विपक्षको कच्चा कदम

  POSTED ON : श्रावण २१, २०७६ (१०:३५ AM)

विपक्षको कच्चा कदम

करिब एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा ‘संसद्लाई प्रभावकारी बनाउन अध्ययन तथा सुझाव संसदीय विशेष समिति’ गठन गर्ने सहमतिमा चालु भएको छ । विपक्षी दलहरु नेपाली कांग्रेस र राजपा नेपालले एकै स्वरले प्रतिनिधिसभा बैठकमा अवरोध सिर्जना गरेका थिए । सभामुख कृष्णबहादुर महराले छल्न मिल्नेसम्म छलेका हुन् । सांसद्हरु उद्धारमा जानुपर्छ भनेर एक साताभन्दा बढी बैठक स्थगित गरिदिए तर निकास भएन । सर्लाहीमा प्रहरीको गोलीले दुई जना मारिएका दुई वटा घटनामा संसदीय छानविन समिति गठन हुनुपर्ने माग कांग्रेस र राजपाको थियो । 

विपक्षीको मागबमोजिम संसदीय छानविन समिति गठन गर्न सत्तापक्ष तयार भएन । संसदीय छानविन हुनुपर्छ भनिएका दुवै घटना गम्भीर प्रकृतिका हुन् । कुमार पौडेल नामका व्यक्ति जो मारिए त्यसमा मुठभेठ भएको भन्ने कुरामा गम्भीर शंका उत्पन्न भएको छ । अर्को एउटा विरोध प्रदर्शनमा सरोजनारायण यादव मारिएको घटनामा पनि प्रहरीले ज्यानै जाने गरी गोली चलाउनु परेको हो कि होइन भन्ने प्रश्न उठेको छ । यी दुवै घटनामा स्वतन्त्र छानविन आवश्यक छैन भन्ने सरकारको जिकिर नै सही हो भन्ने होइन । तर, संसदीय छानविन नै चाहिने हो कि होइन भन्ने प्रश्नमा विपक्ष नै गम्भीर हुन आवश्यक छ । 

विपक्षले जति चर्कोरूपमा मुद्दा उठाएर संसद् बैठक यतीका दिन अवरोध गरेको थियो, सोमबारको निकास त्यो स्तरको होइन । दुवै पक्षले टालटुल गरेर बैठक चलाएका छन् । संसद् बैठक नै अवरोध गरेर सरकारलाई गलाउने विपक्षी नीतिको धरातल निकै बलियो हुनुपर्छ । संसद्मा वक्तव्यद्वारा विरोध जनाउने मुद्दा कुन हो, छफलबाट निकास खोज्नुपर्ने मुद्दा कुन हो र बैठक अवरुद्ध गरेर माग पूरा गर्न सरकारलाई झुकाउनै पर्ने मुद्दा कुन हो भन्ने कुरामा विपक्ष प्रष्ट हुनु पर्छ, उसको धरातल बलियो हुनुपर्छ । करिब महिना दिनयताको संसद् अवरोधमा विपक्ष उदाङ्गो भएको छ । 

सत्ता पक्ष र विपक्ष संसद्को अवरोध अन्त्य गर्न सहमत हुनु सकारात्मक छ । लामो समय बैठक अवरुद्ध हुनु उचित थिएन । त्यस अर्थमा सहमति सकारात्मक छ । विपक्षले मुद्दाहरु उठाएर बैठक अवरुद्ध गर्दा त्यसले सरकारलाई बाध्य पार्न सक्नुपर्छ । त्यसैले लगातार बैठक अवरुद्ध गर्नेजस्तो गम्भीर निर्णय लिनुअघि गम्भीरतापूर्व विचार विमर्श गरेको हुनुपर्छ । यसपटक विपक्ष चुकेको छ । यस्तो कदमले विपक्षलाई कमजोर बनाउँछ । निकासमा गठन भएको ‘अध्ययन तथा सुझाव संसदीय विशेष समिति’ ले आगामी दिनमा संसद्को गरिमा बढाउन र नागरिकको सरोकार सहज ढंगले सम्बोधन गर्न मार्ग तय गर्न सकोस् ।  


Views: 145

सम्बन्धित सामग्री:

भान्साकोठामा विद्युत खपत

: मंसिर १९, २०७६ (१०:१५ AM)