6th December | 2019 | Friday | 6:02:48 AM

सहकारी र सहकारिता

  POSTED ON : श्रावण २२, २०७६ (१०:३७ AM)

सहकारी र सहकारिता

बचत तथा ऋण सहकारी संस्थाहरूले कर्जामा लिने गरेको ब्याजका विषयमा लामो समयदेखि गुनासो हुँदै आएको छ । यस्ता सहकारी संस्थाहरू राष्ट्र बैंकको नियमनबाहिर छन्, सहकारी विभागले हेर्छ । बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको बचतमा र उनीहरूले लिने कर्जामा ब्याज नियमन गर्ने कानुनी व्यवस्था छ । हालै सहकारी ऐनअनुसार गठित समितिको सिफारिसमा सरकारले बचत र कर्जामा सहकारी संस्थाले दिने–लिने ब्याजदरको सीमा तोकिदिएको छ । नयाँ व्यवस्थाअनुसार बचत र कर्जाको ब्याज अन्तर ६ प्रतिशतभन्दा बढी हुन पाउँदैन । बचतमा बढीमा १० प्रतिशत र कर्जामा बढीमा १६ प्रतिशत व्याज निर्धारण गरिएको छ । धेरैजसो बचत तथा ऋण सहकारी संस्थाहरूले बचतका रूपमा निक्षेप आकर्षित गर्न बढी ब्याज कबोल गर्ने र बढी ब्याजमा कर्जा दिने गरेका छन् । बचतमा ६ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याज दिने र कर्जामा २४ प्रतिशत र अझ बढी पनि लिने गरेका छन् । सहकारिताको भावना विपरीत सञ्चालकका नाममा सीमित व्यक्तिहरूको हालीमुहाली चल्ने गरेको छ । 

सामूहिक भावना, सामूहिक हित र सामूहिक निर्णय सहकारिताको मूल मर्म हो । नाफा कमाउने उद्देश्य त हुने नै भयो तर त्यो नाफा पनि सदस्यहरूको सामूहिक हितमा प्रयोग भएको हुनुपर्छ । कतिपय बचत तथा ऋण सहकारी संस्थाहरू बैंक सरह चलेका छन् तर बैंकिङ नियमनबाट बाहिर छन् । त्यसैले त सहकारीका नाममा धेरै बचतकर्ताहरू ठगिएका पनि छन् । कुनै सदस्य आफ्नै सहकारी संस्थाबाट अन्यायमा परेको वा ठगिएको महसुस गर्छ भने त्यो सहकारिता होइन । सहकारीको बचत प्रयोग गरेर सीमित सञ्चालकहरू मोटाएको र बचतकर्ताले थोरै ब्याजबाहेक केही पनि नपाएका धेरै दृष्टान्तहरू छन् । बचत नै गुमाउने पीडतहरू पनि छन् । 

सहकारिता आर्थिक विकासको एक खम्बा हो । धेरै सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको हितमा उदाहरणीय काम गरेका छन् । धेरै कृषि सहकारीहरूले उत्कृष्ट काम गरेका छन् । बचत तथा ऋण सहकारीहरूले विपन्न व्यक्तिहरूलाई थोरै थोरै बचत गराएर, सहुलियत ब्याजमा कर्जा दिएर आर्थिक उन्नतिमा मद्दत गरेका छन् । देशको अर्थतन्त्रमा योगदान गरेका छन् । यति हुँदा हुँदै पनि कतिपय ठाउँमा सहकारीलाई सीमित व्यक्तिले कमाई खाने भाँडो बनाएका छन् । सोझासिधा सदस्यहरू ठगिएका छन् । यस्तो अवस्थामा सुधार ल्याउन ऐन, नियमअनुसार प्रभावकारी नियमन आवश्यक छ । 

नेपालको सहकारी क्षेत्र सानो छैन । देशभर करिब ३५ हजार सहकारी संस्था छन् । यीमध्ये करिब १४ हजार बचत तथा ऋण सहकारी छन् जसले करिब सवा २ खर्ब रुपैँया बचत गरेका छन् र करिब २ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो चानचुने कुरा होइन । सहकारिताको लाभ सबै सदस्यमा बराबरी पु¥याउन र साँच्चैको सहकारी बनाउन विद्यमान विकृति र विसंगति नियन्त्रण गर्न उत्तिकै आवश्यक छ । सहकारिता भएमात्रै सहकारी हुन्छ । 



Views: 126

सम्बन्धित सामग्री:

भान्साकोठामा विद्युत खपत

: मंसिर १९, २०७६ (१०:१५ AM)