25th August | 2019 | Sunday | 6:02:56 PM

पर्यटनमन्त्री घोट्ने कसी

  POSTED ON : श्रावण २३, २०७६ (८:१८ AM)

पर्यटनमन्त्री घोट्ने कसी

करिब दुई दशकयता पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सबैभन्दा ठूलो चुनौती के हो भन्ने प्रश्नमा साझा जवाफ हुने गरेको छ– नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको यति दुरवस्था होला भन्ने शायद कुनै पनि नेपाली नागरिकले सोचेको थिएन । बहुदलीय व्यवस्था पुनस्र्थानापछिको कुनै सरकारले पनि वायुसेवा निगमलाई देशको गौरवका रूपमा स्थापित गर्न सकेन । वायु सेवा निगम दिन प्रतिदिन धराशयी बन्दै गयो र यो क्रम टुटेको छैन । 

निर्वाचनपछि एकल बहुमतको सरकारमा निकै आशा गरिएका तथा जोश, उत्साह र महŒवाकाङ्क्षा भएका रविन्द्र अधिकारी पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीमा थिए । हेलिकोप्टर दुर्घटनामा उनको दुःखद निधन भयो । घटनाको पाँच महिनापछि मन्त्रालयले त्यस्तै आशा गरिएका अर्का मन्त्री पाएको छ– योगेश भट्टराई । उनी पहिलोटक मन्त्री बनेका हुन् । मात्रात्मकरूपमा घटी बढी भन्न सकिएला, सबै मन्त्री आआफ्नो मन्त्रालयमा चुनौतीका चाङले घेरिएका छन्, मन्त्री भट्टराईको भारी भने निकै गह्रौँ देखिन्छ । र, उनी आफ्नो भारकाबारे जानकार पनि भएकै हुनुपर्छ । साता दिनमा उनीभित्रको गम्भीरता प्रकट भएको छ ।   

निर्माणाधीन आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, भ्रमण वर्ष २०२० इत्यादिका सामुन्ने सबैभन्दा ठूलो चुनौती हो नेपाल वायुसेवा निगमको सुधार र पुनर्ताजगी । निगम भौतिक उपस्थितिबाहेक करिब निर्जीवनको अवस्थामा छ । त्यसैले पुनर्जीवन नै चाहिएको छ पहिले । जापानी शहरमा पुनर्उडान, चिनियाँ शहरहरूमा उडानको अनुमति, युरोपेली आकाश खुला वा नयाँ गन्तव्य खोजी इत्यादि त्यति बेलामात्रै खुसीको खबर हुन्छ जब राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगम गौरवका साथ उडान गर्न सक्षम हुन्छ । वायु सेवा निगम सरकार नियन्त्रित व्यापारिक संस्था हो । निगमको दुरवस्थामा सरकार पानीमाथि ओभानो हुन सक्दैन । 

नेपाल वायुसेवा निगमको दुर्दशा जगजाहेर छ । आन्तरिक उडानमा सबै निजी कम्पनीभन्दा कमजोर निगम नै छ । आन्तरिक उडानमै पनि जहाजहरू ग्राउन्डेड छन्, समयमा मर्मत नभएर वा उडान जनशक्ति अभाव इत्यादिले । वाहृय उडानका लागि ल्याइएका ठूला जहाज महिनौँदेखि साइत पर्खेर बसेका छन् । निगम अर्बौं रुपैयाँको घाटामा छ । कार्यकारी अध्यक्ष मदन खरेलले निगम बचाउन २० अर्ब रुपैयाँ सरकारसँग मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा सरकारले दिन सक्दैन भनेका छन् । पर्यटनमन्त्री भट्टराईले २० अर्बले निगम कसरी उकासिन्छ भन्ने कार्यक्रम मागेका छन् । 

दुर्दशाको जरो पत्ता लगाएर दृढताका साथ लाग्ने हो भने कायापटल हुँदोरहेछ भन्ने दृष्टान्त नेपाल विद्युत प्राधिकरण छँदैछ । कुलमान घिसिङ आएपछि धमाधम बिजुली उत्पादन बढेर लोडसेडिङ सकिएको होइन, ऊर्जा मन्त्रालय र घिसिङको दृढता तथा दक्ष व्यवस्थापनले भएको हो । तालुकवाला मन्त्री र सम्बद्ध कार्यालय व्यवस्थापकको भूमिकाको महŒव कति हुन्छ भन्ने दृष्टान्त पनि हो प्राधिकरण । वायुसेवा निगम पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईको दक्षता घोट्ने सबैभन्दा कडा कसी हुनेछ । 





Views: 122

सम्बन्धित सामग्री:

उपभोक्ता हित संरक्षण

: भदौ ८, २०७६ (४:१४ PM)

प्रहार कताबाट ?

: भदौ ६, २०७६ (८:४४ AM)

जयशंकरको नेपालयात्रा

: भदौ ५, २०७६ (९:४९ AM)